पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको दुईदिने नेपाल भ्रमणमा चासोको प्रमुख विषय हाल रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रक्रियालाई अघि बढाउने रह्यो । दक्षिण एसियाली उपमहाद्वीपका आठ राष्ट्र संलग्न यो संगठनको भविष्य उज्ज्वल छ भन्ने जतिसुकै सकारात्मक कुरा गरिए पनि यथार्थ चाहिँ के हो भने भारत र पाकिस्तानको तनावपूर्ण सम्बन्धको असर सार्कमा सधैं देखिने गरेको छ । बरु सार्क भन्दा कान्छा क्षेत्रीय संगठन हरुले प्रगति गरे, सार्क क्षेत्र अहिले पनि संसारका सबैभन्दा कम ‘इण्टिग्रेटेड’ मध्येको एक हो । 

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई विशेषगरी भारतमा र नेपालमा नै कतिपयले अनावश्यक रुपमा चीनसँग जोडेर संदेह बढाउने काम गरे । यस्तो प्रयास निन्दनीय र असंवेदनशील छ । नेपाल–चीन सम्बन्ध वा नेपाल–भारत सम्बन्ध फरक विषय हुन् ।  यी दुईलाई जोड्नु जति गलत छ, त्यतिकै गलत छ नेपालको पाकिस्तान वा अन्य देशसँगको सम्बन्धलाई दुई ठूला छिमेकीसँग जोड्नु । दुई ठूला छिमेकी देशसँग मित्रवत र असल सम्बन्ध राख्नु भनेको अन्य मित्रसँग असल व्यवहार नगर्नु भन्ने हुँदैन । नेपाल सबैसँग शान्ति र मैत्री  चाहन्छ ।  नेपाल एक सार्बभौम देश हो । आफूसँग असल सम्बन्ध राख्ने चाहना गर्ने देशलाई असल मित्रका रुपमा जवाफ दिनु नेपालको दायित्व  हो । यसबाट कुनै सरकार बिमुख हुन सक्दैन । 

पाकिस्तानी प्रधानमन्त्रीले उनको देश सार्कको १९ औं सम्मेलन गर्न तयार रहेको र नेपालले वर्तमान अध्यक्षका रुपमा यसका लागि पहल गेरिदेओस् भन्ने चाहना राख्नु स्वाभाविक हो  । नेपालले पहल गर्न पनि सक्छ । मूल विषय भारत–पाकिस्तान द्विपक्षीय सम्बन्ध नै हो जसमा सुधार नभई सार्कले गति लिन सक्दैन । बिगत अढाई वर्षमा सार्कको शिखर सम्मेलन हुन नसक्नुको प्रमुख कारण यहि हो । पाकिस्तानले सम्मेलन आयोजना गर्न चाहेको हो । तर त्यसको ठीक अघि भारतको उरीस्थित सैन्य बेसक्याम्पमा आतंकवादी आक्रमण भयो जसको दोष भारतले पाकिस्तानबाट गतिविधि गर्ने समूहमाथि  लगायो । यहि कारण देखाउंदै भारतले पाकिस्तानमा क्रिकेट नखेल्नेदेखि सार्क सम्मेलनमा भाग नलिने सम्मका घोषणा गर्यो । भारतको अप्रत्यक्ष दवाबपछि बंगालदेश, अफगानिस्तान र भुटान पनि इस्लामाबाद सम्मेलनको बिपक्षमा उभिए । 

सार्कको अध्यक्ष राष्ट्र नेपालसँग पाकिस्तानी प्रधानमन्त्रीले उक्त क्षेत्रीय संगठनलाई सक्रिय बनाउन पहल लिन गरेको अनुरोधलाई एक मौका दिनुपर्छ । क्षेत्रीय संगठनको विकास हुँदा त्यसले सदस्य राष्ट्र कसरी लाभान्वित हुन सक्छन भन्ने उदाहरण युरोपेली युनियन, दक्षिण पूर्वी एसियाली देशको संगठन–आसियान लगायतले पुष्टि गरेका छन् । विश्वब्यापीकरणले सानो  बनाउँदै लागेको दुनियाँमा क्षेत्रीय सहयोगको अवधारणा दुरुह विषय होइन ।  सार्क राष्ट्रहरु अन्य क्षेत्रीय संगठनको सदस्य बन्न सक्छन् । ती संगठन सार्कको विकल्प वा प्रतिस्पर्धी हुन सक्छन् भन्ने होइन । 

अहिले पनि नेपाल लगायत बंगालदेश, भुटान र श्रीलंका बिमस्टेक सदस्य छन् । भारत, भुटान, नेपाल र बंगालदेश मिलाएर बीबीआइएन उपक्षेत्रीय मञ्च बनेको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मा सामेल राष्ट्रको छुट्टै संगठन बनाउने प्रयास चलिरहेको छ, जसमा भोलि नेपाल, बंगालदेश, पाकिस्तान लगायत राष्ट्र सामेल हुन सक्छन् । देशको आर्थिक विकासमा सहायता पुग्ने सबै मञ्चमा नेपाल जाने हिम्मत राख्नुपर्छ ।  ‘सबका साथ, सवका विकास’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा नै हो । 

सार्कलाई पुनर्जीवन दिन अध्यक्षका रुपमा नेपालले पहल गरोस् भन्ने चाहना  कतैबाट ब्यक्त हुन्छ भने त्यसलाई असल भावनाका साथ ग्रहण गर्नुपर्छ ।  नेपालको कुटनीतिक क्षमता बढाउने अवसर सार्कको पुनर्जीवनले ल्याउन सक्छ ।