गत मङ्सिर १० गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणको राष्ट्रिय निर्वाचन सम्पन्न भयो । देशभर ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको उक्त निर्वाचनमा खसेको मतको आन्तरिक आंकलनबाट एमाले–माओबादी नेतृत्वको वाम–प्रगतिशील गठबन्धन उत्साहित देखिन्छ । गठबन्धनमा सामेल दुवै दलका नेताहरुले पहिलो चरणमा दुई तिहाईको दावी गरेका छन् । नेताहरुको मुखबाट फुस्किहाल्यो भने अतिरन्जना भनिने ‘समस्या’ले मात्र ‘क्लिन स्विप’ गरेको दावी उनीहरुले गर्न सकेका छैनन् । 

स्थानीय निर्वाचन र २०७० सालको आम निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई अधार बनाउँदा वाम–प्रगतिशील गठबन्धनको दावी सत्यताको नजिक छ । तर जनमत स्थिर हुँदैन । त्यसैले हरेक चुनाबमा फेरिन सक्ने मतदाताको मनोविज्ञानको भरोसामा कांग्रेस नेतृत्वको गठबन्धन छ । कांग्रेसका लागि समस्या के हो भने यसबीच वाम मतदाताले पनि कांग्रेसलाई भोट नै दिनुपर्ने त्यस्तो कुनै गतिलो काम कांग्रेस सरकार र प्रधानमन्त्री शेरबहादुर देउबाले गरेका छैनन् । त्यसै हुनाले कांग्रेस आफ्ना काम देखाएर भोट माग्नुको साटो ‘कम्युनिस्ट शाशन’को भय फैलाएर मत माग्नुपर्ने हालतमा छ । 
प्रतिस्पर्धी वाम गठबन्धनको पारस्परिक मिलाप नै वाम कार्यकर्तामा आशाको संचार गर्न सफल छ । कहिल्यै नमिल्ने वाम–प्रगतिशीलहरु यसपल्ट मिले । त्यसैले यसपाला उनीहरुले मौका पाउनुपर्छ भन्ने परम्परागत वाम मतदाताको मनोविज्ञान देखिएको छ । गठबन्धनको मत निखार्ने सबैभन्दा ठूलो अस्त्र यही बनेको छ । 

एकताको उत्साहले पहिलो चरणका ३७ मध्ये २८ निश्चित, बाँकी ४ मा निकट प्रतिस्पर्धा सहित अगाडि र बाँकी ५ मा अनुमान गर्न नसकिने विश्लेषण एमाले र माओबादीको छ । कांग्रेसले पनि बहुमतको दावी गर्न छोडेको छैन । तर वामदलको दावीलाई भर्खरै भएको स्थानीय निर्वाचनको आँकडाले साथ दिएको छ ।   
दुवै गठबन्धन जीतको दावी गर्नुपर्ने बाध्यतामा पनि छन् । नेपाली मतदाताको मनोविज्ञान भोट खेर फाल्न नहुने धारणाबाट पनि प्रभावित हुनाले दुवै पक्ष आफ्नो जीत अवस्यंभावी भएको स्थापित गर्ने प्रयासमा छन् । वाम गठबन्धन बनेपछि राप्रपालाई भए पनि साथ लिनैपर्ने वाध्यतामा कांग्रेस त्यसै कारण धकेलिएको हो । यो रणनीतिमा  वाम नेतृत्वले कांग्रेसलाई पुरै रक्षात्मक बनाएको छ ।

अहिलको कांग्रेस राष्ट्रिय राजनीतिको एजेन्डा सेट गर्ने दम राख्दैन । वाम गठबन्धनका मुद्दामा कांग्रेसले टिप्पणी गरेको वा तार्किक प्रतिवाद गरेको छैन । त्यसको विपरित वाम गठबन्धन भने विकास, समृद्धि र स्थिरताका लागि मत मागिरहेको छ । उसको एजेन्डा वाम मिलापले विश्वसनीय बनाएको छ । एक्ला एक्लै चुनाब लडेर स्थायित्वको दावी गर्दा अपत्यारिलो हुन जान्थ्यो ।

यहींनेर चाहिँ वाम गठबन्धन अति आत्मविश्वासको खतरामा पर्न सक्छ । हिजो शुक्रबार मात्रै दुई ठूला राष्ट्रिय दैनिकहरु अन्नपूर्णपोस्ट र कान्तिपुरले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा ‘प्रोजेक्सन’ गरे, त्यो पनि आफ्नो प्रथम पृष्ठको मुख्य खबर र ओलीकै अन्तर्वार्ताबाट । माओबादी अध्यक्ष प्रचण्डले केपी ओली र आपूु कार्यकारी रहने भनी केहि दिनअघि नै यसको थप पुस्टि गरिदिएका हुन् । शान्तिपूर्ण राजनीतिमा आएर तीन वटा चुनाब लडिसकेको माओबादी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा लोकतान्त्रिक परिवर्तनको बाटोमा हिंडेकाले उनको नेतृत्व एमालेभित्र विवादको बिषय हुने सम्भावना छैन । ओली र प्रचण्डको सहकार्यले एकातिर वाम गठबन्धनमा थप उत्साह दिएको छ । तर अर्कोतिर दुवै दलको कार्यकर्ता पंक्ति र स्थानीय नेतृत्व अति आत्मविश्वासको ‘ट्रयाप’मा पर्ने सम्भावना पनि बढाएको छ । 

चुनाब हुन बाँकी अबका ५ दिन यही अति आत्मविश्वासबाट वाम कार्यकर्ता जोगिनु पर्छ । आँकडा र मैदानमा बलियो नै देखिए पनि ‘चुनाब हो, जे पनि हुन सक्छ’ भन्ने भावनाका साथ मैदानमा अन्तिम घडीसम्म खट्न सके वाम बहुमत वा उस्तै परे दुई तिहाई बहुमतसम्म पुग्न एमाले–माओबादीलाई अवसर छ । नेपाली राजनीतिमा यस्तो अवसर १५ सालमा केवल बीपी कोइरालाले पाएका थिए । यो अवसर नेपाललाई स्थिरता र समृद्धितर्फ लैजाने सुरुवाती बिन्दु हुन सक्छ । 

पहिलो चरणको निर्वाचनमा वाम दलको एउटा समस्या समानुपातिक मतको व्यवस्थापनमा देखियो । कम शिक्षित मतदाताले दुवै दल मिलेकाले दुवैको चिन्हमा भोट हालेको हुन सक्ने कतिपय स्थानमा देखिएको छ । यस्तो मत थोरै होला तर दलकै तर्फबाट मतदाता शिक्षामा जोड दिनुपर्ने पाठ हो यो । बाँकी ५ दिनमा एमाले, माओबादी र जनमोर्चाका कार्यकर्ताले खेल्ने सचेत भूमिकाले मत बदर हुनबाट जोगाउने मात्र होइन, गठबन्धनको पक्षमा आम सहमति निर्माण गर्न समेत सघाउने छ ।