कुनै खास द्विपक्षीय एजेन्डा नभए पनि प्रधानमन्त्री बन्नासाथ भारत भ्रमणमा निस्किहाल्ने र आफ्नो सरकारको बैधता भारतबाट पुष्टि गर्ने घातक तथा अनुत्पादक प्रचलन स्थापित गरी प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदै हुनुहुन्छ ।  देउवाको पाँचदिने भात भ्रमणको मूल कार्यक्रम दिल्लीमा दुई दिनमै सकिएको थियो । भारतीय समकक्षी नरेन्द्र मोदीसँगका दुई पटकका एकल भेट र सामुहिक भेट तथा समझदारी र संयुक्त वक्तब्यपछि देउवाको भ्रमणको औपचारिक पाटो दाुई दिनमै सकिएको थियो ।  देउवाले भारतसँग नेपालको उपयुक्त सम्बन्ध परिकल्पना गर्नुहोला वा नेपालप्रतिको भारतीय हेपाहा नीति परिवर्तन होला भन्ने अपेक्षा जनस्तरमा भएको थिएन र देउवाले त्यसो गर्नु भएन पनि । बरु देउवाको भ्रमणले देशलाई ठोस उपलब्धि भन्दा पनि बढी कहाँ के बिगार्ने हो भन्ने आम चिन्ता थियो । आम चिन्तालाई नै पुष्टि गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस–माओवादी सत्ता गठबन्धन भारतीय अनुचित उद्धेश्य पूरा गर्ने बनाइएको हो र नेपालको संविधान विरुद्ध भारतले चलाएको अभियानलाई समर्थन गर्न नेपालमा सञ्चालित सत्ता गठबन्धन सक्रिय छ भन्ने पुष्टि गरेर उहाँ आज फर्कंदै हुनुहुन्छ । 

भारतले नेपालको संविधान जारी गर्नबाट रोक्न दिएको धम्की जायज थियो, नेपालको संविधानसभाले सार्वभौम अधिकार प्रयोग गरी संविधान जारी गर्नु गल्ती थियो, संविधान विरुद्ध भारतले नाकाबन्दी गर्नु जायज थियो, भारतीय नाकाबन्दीलाई झुकाएर नेपालले आफ्नो वैकल्पिक पारवहन सुविधा उपयोग गर्नु गल्ती थियो र भारतको उद्धेश्य अनुरुप गठित सत्ता गठबन्धनले जसरी पनि उसको स्वार्थ अनुकुल संविधान संशोधन गर्नै पक्ष भन्ने मान्यता स्थापित गर्दै देउवा भारतबाट फर्कन लाग्नु भएको छ । देउवाले भारत भ्रमणबाट स्थापित गर्नु भएका उल्लेखित मान्यता सार्वभौम नेपाल र नेपालीका लागि लज्जाको विषय हो ।

यसअघि भारतमैत्री देउवा–दाहाल सत्ता गठबन्धनको पहिलो सरकारले झैं देउवाले देश विरुद्ध स्थापित गरेका मान्यताले सिंगो देशमा नकारात्मक प्रतिक्रिया उत्पन्न भएको छ । भलै सामाजिक राजनीतिक मुद्दामा विवेकमा आधारित दृष्टिकोण बनाउने नागरिक चेतना यहाँ विकास भएको छैन र दलीय आवद्धताका आधारमा कुनै पनि विषयमाथि दृष्टिकोण बनाउने तथा आलोचना प्रतिरक्षा गर्ने प्रचलन यहाँ छ । तर, यति चाहिँ भएको छ कि देउवाले भारत भ्रमणका क्रममा भारतीय शासकसामु नेपालको संसदले गरेको निर्णयमाथि क्षमायाचना गर्दै संविधान संशोधन गरीछाड्ने भन्दै गरेको बाचाको वचाउ गर्ने कांग्रेस–माओवादी गठबन्धनका अनुयायीहरुलाई विवेकी भन्न सक्ने जमात यहाँ छैन । 

देउवाको भारत भ्रमणले नेपालको भावी राजनीतिक परिदृश्यमा अर्काे स्पष्ट यो संकेत गरेको छ कि आगामी संघीय र प्रादेशिक सभाको निर्वाचनमा भारत देउवा, दाहाल र राजपा लगायतको मोर्चा बनाएर आफैं चुनावमा भिड्न आउँदैछ । दुईतिहाई पुर्याएर छिटै संविधान संशोधन गर्ने मोदीसामु देउवाको बाचा र एमाले नसिध्याउञ्जेलसम्म कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहालले यता दिएको अभिब्यक्तिले नेपालमा हुने आगामी निर्वाचनको प्रतिस्पर्धा नेपालको स्वाधीनता र भारतीय स्वार्थबीच हुने पक्का भएको छ । देउवा दाहाल र भारतीय स्वार्थमा चल्ने अन्य केही समुह आगामी निर्वाचनमा एउटै समुहमा खडा हुनेछन् र त्यसको राजनीतिक संरक्षण भारत र प्रशासनिक संरक्षण देउवा–दाहाल सरकारले गर्नेछ । त्यसको उद्धेश्य नेपालले स्वाधीन राष्ट्रको कोटीमा संविधान जारी गर्नु गल्ती थियो भनेर भारतले भनेअनुसार सच्याउनु हुनेछ भने भारतले नाकाबन्दी लगाउनु सही थियो भन्ने मान्यतालाई पुष्टि गर्नु हुनेछ । 

देउवाको भारत भ्रमणले अर्काे घातक संकेत गरेको छ जसले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर प्रश्न उठाउनेछ । संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको ‘सुरक्षा स्वार्थ एकअर्कामा जोडिएको र आपसमा निर्भर रहेको’ भन्दै दुई देशका रक्षा र सुरक्षा अंगहरूबीच निकट सहकार्य हुनुपर्ने बहुअर्थी अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री देउवा मोदीको अभिब्यक्तिप्रति मौन रहनुभयो । देउवाको मौनताले पालले छिमेकी मुलुकबीचको विवादमा तटस्थ रहने नेपालको परराष्ट्र नीति डगमगाएको पुष्टि हुन्छ । भारत नेपाली सेना, प्रहरीलगायत सुरक्षा निकायहरूसँग विशेष घनिष्ठता दर्साउन चाहन्छ, ताकि तेस्रो मुलुकसँगको सैन्य होडबाजीमा नेपाललाई आफ्ना पक्षमा देखाउन सकियोस् । यस किसिमको सामरिक खिचातानीबाट देशलाई टाढै राख्नुपर्ने ठाउँमा भारतको पक्षमा उभिने गल्ती देउवाले मौन रुपमा गर्नुभयो । यसको गम्भीर नकारात्मक र दीर्घकालीन परिणाम नेपालले भोग्नु पर्ने हुन्छ । यस विषयमा आजै देउवा फर्केपछि उनको गतिविधि, अभिब्यक्ति र मौनतामाथि संसदमा प्रश्न उठाइनु आवश्यक देखिन्छ ।