सरकारले बुधवार सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । बिदा कटौतीसँगै स्थानीय तहमा कर्मचारी खटाउने निर्णय पनि गर्यो । बुधवारको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रभावित भएको र कार्यदिवस बढाउनु पर्ने भन्दै बिदा घटायो । त्यसमा सबैलाई हुने बिदा १२ दिन कटौती गरिएको छ भने १० दिन भने आंशिक बिदा कटौती गरिएको छ । अव बर्षमा ८९ दिनमात्र बिदा हुनेछ । 

सार्वजनिक बिदा धेरै भएको भन्दै व्यापक जनगुनासो आएपछि सरकारले यो निर्णय लिएको हो । फेरी आर्थिक बिकास र समृद्धिको लक्ष्य प्राप्त गर्न काम बढाउनुपर्ने अवस्था छ । त्यसका लागि बिदा कटौती गरिनु सकारात्मक निर्णय हो । 

त्यसैगरि सरकारले बुधबार नै संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवस मनाउने निर्णय पनि गर्यो । राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनले गर्दा सबैले स्वीकार्ने राष्ट्रिय दिवस घोषणा हुन सकेको थिएन । तर अव जनताको चाहना बमोजिमको संविधानसभाले सविधान बनाएको दिनलाई ‘नेशनल डे’ का रुपमा हामीले बर्षेनी मनाउन पाउनेछौं ।

फागुन ३ मा प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले ‘खुशी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नका लागि केही निर्देशन दिनुभएको छ र केही ‘एक्सन’ लिनुभएको छ । छिट्टै संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा बिस्तारमा ती आउने नै छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई निमिट्यान्न पार्ने घोषणा गर्दै त्यसप्रति ‘जिरो टोलरेन्स’ को नीति घोषणा गर्नुभएको छ । उहाँले मन्त्री तथा सचिवहरुमाथि समेत अनुगमन हुने भन्दै त्यसमा नलाग्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले निर्देशनमात्र दिनुभएको छैन, उहाँ ‘एक्सन’ मा नै उत्रुनभएको छ । प्रधानमन्त्रीले गृह र अर्थ मन्त्रालय अन्तगर्त केही बिभागलाई आफ्नो मातहत ल्याउनुभयो । जुन बिभाग प्रधानमन्त्री कार्यालय अन्तगर्त ल्याइएका छन्, तीनले विगतमा देशका पक्षमा कार्यसंपादन गर्न सकेका थिएनन् । बिकास र समृद्धिका लागि सरकार प्रमुखका हैसियतमा उहाँको भूमिका प्रमुख हुन्छ । फेरी अहिले प्रधानमन्त्रीका रुपमा भनौं वा नेताका रुपमा आम जनताको विश्वास ओलीमाथि छ । 

प्रधानमन्त्रीले बारम्बार भन्नुभएको छ– अव काम नगर्ने सुविधा सरकारलाई छैन । जनमतमात्र होइन, एजेण्डाका दृष्टिकोणबाट पनि अहिलेसम्मका शक्तिशाली प्रधानमन्त्री ओलीलाई वास्तवमै बिकास र समृद्धिबाहेकको अर्को बिकल्प छैन । पहिलोपटक  प्रधानमन्त्री हुँदा उहाँले लिएका नीति, अडान र कार्यक्रमले नागरिकमा अतिरिक्त आंकाक्षा जगाएको छ । त्यसमा लागि प्रधानमन्त्रीले जसरी कार्यारम्भ आरम्भ गर्नुभएको छ, त्यसले सबैको प्रशंसा पाएको छ । मन्त्रीहरुको छनौटदेखि आफ्नो सचिवालयलाई मितब्ययी बनाउनेसम्मका कामहरु सकारात्मक सार्वजनिक टिप्पणीका बिषय बनेका छन् ।

भूराजनीतिक चुनौतीलाई उहाँले अनुकूलतामा रुपान्तरण गर्नुभएको छ । भारतसँग विगतको असमझदारी अन्त्य भएको छ भने चीनसँग भएका निर्णय र समझदारी कार्यान्वयनका क्रममा छन् । राजदुतहरुलाई बोलाएको दिएको ‘ब्रिफिङ’ र ईयूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रतिवेदनप्रतिको उहाँका अभिव्यक्तिले नागरिकलाई उत्साहित बनाएको छ ।

प्रधानमन्त्री ओलीका निर्देशन पालना भए नभएको अनुगमन गर्दै तीनलाई अघि बढाउन आवश्यक छ । त्यसोभएमा निर्देशनसँगै काम पनि प्रभावकारी रुपमा भएको आभास नागरिकलाई हुनेछ ।