काठमाडौं, २० मंसिर– आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले नेपाल सरकारका सचिव र सहसचिवहरुको दायाँबायाँ नगरे भ्रष्टाचार रोकिने बताएका छन् । 

उनले अनलाइन खवरसँगको अन्तवार्तामा सचिव र सहसचिवहरुले पैसाका लागि दायाँबार्या गर्दा भ्रष्टाचार भएको बताएका हुन् । साथै उनले भ्रष्टाचारको छानवीन पनि सचिव, सहसचिव र मन्त्रीहरुबाट गर्नुपर्ने बताएका छन् । 

‘पहिलो कुरा त मन्त्रीहरु । दोस्रो चाहिँ हाम्रा उच्च प्रशासक नै हुन् । लोभलालच गरेर हुन्न अब । आफन्त भनेर पनि हुन्न । तपाईले कहिल्यै सुन्नुभएको छ, सचिव र सहसचिवले तलब बृद्धि गर भनेको ? अवश्य सुन्नुहुन्न’ उनले अन्तवार्तामा भनेका छन्,‘सचिवका घरमा जाँदा मलमलका सोफा हेर्नुस, घरको सजावट र खर्च हेर्नुुुस् । अनि तलब हेर्नुस् । सचिव, सहसचिवले तलब खाने भनेको पनि ४० र ४५ हजार त हो । अर्को एउटा कुरा, उसले गाडी चढ्न पाएको छ ।’

आफूहरुले तलब बढाउन माग गरेमा जनतालाई देखाउने तर  सचिवहरु एउटै विदेश भ्रमणबाट लाखौं कमाउने स्थिति रहेको उनले बताए ।  ‘एउटा सचिव महिनामा एकचोटि विदेश गएकै हुन्छ । सचिव विदेश गएपछि दूतावासमा मान्छे खोज्छ । सचिव गइसकेपछि दूतावासका मान्छेले पनि एकछाक खुवाउँछन्’ ढकाल भन्छन्,‘सचिवलाई राज्यले दिएको दैनिक भत्ता डलर र युरोमा जोगिन्छ । एकपटक जाँदा कम्तिमा चार र पाँच दिनको कार्यक्रममा एक हजार डलरभन्दा बढी जोगिने कुरा त छँदैछ ।’

त्यतिमात्र होइन, विभिन्न समिति उपसमिति र सञ्चालक समितिहरुमा सचिवहरु नै रहने र त्यहाँबाट पनि उनीहरुले आर्थिक लाभ प्राप्त गर्ने बताए । ‘उहाँहरुकै भूमिका छ । कोही अध्यक्ष छन्, कोही संयोजक छन् ।  कोही सदस्य छन् । हरेक दिन ५ हजार भत्तावापतको रकम खल्तीमा हालेपछि उनीहरुलाई तलबको मतलब हुँदैन’ उनले भनेका छन्,‘अरु नीतिगत कुरामा  लामो हातको त कुरै नगरौं । यसमा रोकावट गर्ने हो भने सुधार धेरै हुन्छ । अस्ति भर्खर मैले सुनेँ मुख्यसचिवले भत्तावापत साउन महिनादेखि बुझेको फिर्ता गर्नुभयो । त्यो राम्रो हो । एउटा सचिवालये दायाँ बायाँ नगर्ने हो भने भ्रष्टाचार हुँदैन । यो कुरा म तथ्यसहित भन्न सक्छु ।’