काठमाडौँ, २३  मङ्सिर - १३ औ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिनमा उपत्यकाको यातायातमा जोर प्रणाली लागू गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल समापनको दिन मङ्सिर २४ गते मंगलबार जोर नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन हुने जनाएको छ ।    
    
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले समापनका दिनमा सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरेको छ ।

सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालबाहक सवारीसाधन रिंगरोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।    
    
महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ । खेल हेर्न आउने सर्वसाधारणको पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।