मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विद्येयक हिजोदेखी दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । मंगलबार शिक्षामन्त्री गिरिराजमणी पोखरेलले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विधेयक सर्वसम्पतिले स्वीकृत भएको छ । विद्येयक सम्बन्धीत समितिहरुमा छलफल भएर पास भएपछि अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको काम छिटै नै अगाडी बढ्ने  संकेत देखिएको छ । नेपालमा सरकारी र नीजिक्षेत्रबाट सञ्चालित विश्वविद्यालय छन् । त्यसमध्ये त्रिभुवन विश्वविद्यालयको अवस्था दैनिक खस्किदै गएको छ । भएको विश्वविद्यालयको अवस्था सुधार गर्न तर्फ नलागेर नयाँ विश्वविद्यालय किन आवश्यक भयो ? यिनै बिषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुर्वाधार तयारी विकास समितिका अध्यक्ष डा.राजेन्द्रध्वज जोशीसँग चक्रपथ डटकमले गरेको कुराकानी :

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आवश्यकता महशुस कसरी भयो ?  

मैले बुझे अनुसार मदन भण्डारी विश्वविद्यालय बनाउने योजना १४/१५ बर्षदेखिको हो । २०१५ सालदेखि विश्व स्तरिय विश्वविद्यालय बनाऔं भनेर मैले काम शुरु गरेको थिए, त्यो पनि सरकारकै काम हो । नेपाल राष्ट्रिय इन्जिनियरिङ् प्रतिष्ठान बनाउने भनेर काम शुरु गरियो, बिभिन्न कारणले त्यो काम शुरु हुन सकेन । त्यहाँकाम नभएपछि त्यो पहल कदमी र मदनभण्डारी विश्वविद्यालयको पहल कदमीलाई एकै ठाउमा ल्याएर लैजाऔं भन्ने निर्णय भएर मदन भण्डारी विश्वविद्यालय विकास समित गठन भएको हो । त्यसमा मदन भण्डारी प्रतिष्ठानले गदै आएको काम त पहिल्लै देखीको हो तर विकास समितिले बसेर गरेको कामचाहि ३ महिना भयो । हामीलाई तीन महिनामा भाग्यले साथ दियो र छिटो छिटो काम भएको छ । यसको  फाईदा के छ, भने हामीले जिरोबाट शुरु गर्न परेन । मदनभण्डारी प्रतिष्ठान शुरु गर्नेकाम पहिलादेखि नै भइरहेको थियो । मैलेपनि १५ सालदेखि नै काम शुरु गरिसकेको थिए, जग्गापनि पहिचान गरिसकेको, जग्गा प्राप्ती पनि पहिल्यै शुरुभएको, मास्टर प्लान पनि पहिल्लै भइसकेको थियो । त्यो सबै काम पहिला नै भएकोले मदन भण्डारी विश्वविद्यालयमा ल्याउदा कामगर्न सहज भएको हो । सबै काम पहिल्यै भइसकेको थियो नाम मात्रै अहिले जोडिएको हो । 

उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय पनि छ । त्यहाँको शिक्षाको गुणस्तरियतामा प्रश्न उठ्ने गरेको छ । विद्यार्थीहरु उच्चशिक्षा हाशिल गरेपनि समाजमा प्रतिस्पर्धी र स्वरोजगार बन्न सकिरहेका छैनन्, शिक्षामा सुधार भइरहेको छैन भन्ने आरोप त्रिविमा छ । त्यसलाई सुधार्नुको साटो अर्को विश्वविद्यालय किन चाहियो ?

यो जायज प्रश्न हो, यस्तो प्रश्न सोधिनुपर्छ । सोधिनु किन पर्छ भने मानिसहरुलाई बुझाउन जरुरी छ । मैले शिक्षा क्षेत्रमा ४० बर्ष भइसक्यो काम गरेको उच्च शिक्षाको मैले किताबहरु लेखेको छु । त्यसबेला विश्वविद्यालय शुरुगर्दा उच्चशिक्षा कस्तो हुनुपर्दछ भन्ने कुरा नसोचिकन शुरु गर्यांै । अहिले त ज्ञान कमाइसक्यौ, धेरै बर्ष बाँचिसक्यौं । शिक्षालाई सधै विकाससँग जोड्नु पर्दछ, आर्थिक, सामाजिक, विकाससँग सम्बन्धित गर्नुपर्छ । त्यसरी सम्बन्धित गरिएन भने कुनै पनि शिक्षा प्रभावकारी हुदैन । अहिलेको जमानामा समृद्ध नेपाल, सुखी नेपाली हुन पर्याे भन्छौ । सुखी भनेको न्याय र समृद्धी भनेको पैसाको कुरा आयो यदि हामीले धनसम्पति पैसा जर्गेना गर्नुछ भने पहिलो काम वस्तु यस्तो उत्पादन गर्न पर्याे जुन बस्तु बजारमा बिकोस् । बस्तु उत्पादन गरेर बजारमा बिकेन भने त हामी धनी हुने हैन हामी झन् गरिब हुन्छौ र आफनो लगानीपनि डुव्यो । हामीले बनाएको बस्तु विक्नको लागि कि सस्तो हुन पर्यो कि राम्रो क्वालिटिको हुनुपर्याे कि अरुले उत्पादन गर्न नसकेको नबिनतम हुनुपर्यो । त्यो देख्नासाथ किन्ने खालको हुन पर्याे । अब नेपालको अहिलेको अवस्था कस्तो छ भने हामी त्यो खालको सामान उत्पादन विरलै गर्दछौ । जसले गर्दा व्यापार घाटा छ । हामीमा के छ भने बेच्न केही सक्दैनौ किन्छौ मात्रै हामी मलेसिया सिंगापुर कहाँ कहाँ पैसा पठाएर त्यसबाट सामान किन्छौ । हाम्रा मजदुरले बिदेशमा गएर कमाएको ज्याला पाएर हामी धनी हुन्छौ । ज्याला पाएर त विश्वमा कोही धनी भएको छैन ? धनी हुनको लागि त उत्पादन गर्नुपर्छ । नाफा सहित बेचे पो धनी हुने हो । हाम्रोमा त्यस खालको उत्पादन नभएर हामी गरिब भएको हो । 

अब धान खेतीमा उत्पादन हुन्छ । नेपालमा तीन चार टन हेक्टरमा हुन्छ । चाईनामा १२, १३ टन पर हेक्टर हुन्छ । नेपालमा खेती गरेर कमाइ हुदैन भन्दै खेतबारी बाँजै राख्ने चलन बढिरहेको छ । पहाडमा त्यतिकै छ, तराइमा त्यस्तै छ । त्यसले गर्दा हाम्रो अहिलेको प्रविधिको स्तर निम्न छ । निम्न प्रविधिको स्तर र निम्न जनशक्तिको स्तरमा राम्रो उत्पादन पनि हुन सक्दैन क्वालिटिको पनि बन्न सक्दैन, हामी सामान बेच्न नसक्ने अवस्थामा छौ । हामीलाई प्रविधिमा उकास्ने विश्वविद्यालय चाहियो । त्यो विश्वविद्यालयले देशको समस्या समाधान गर्ने खालको हुन पर्याे । हाम्रो विश्वविद्यालय कस्तो भयो भने किताबमा भएको चिज पढाउने मात्रै बिश्वविद्यालय भयो । साँच्चै नै देशलाई के चाहीएको छ ? त्यो नहेर्ने बिश्वविद्यालय भयो । त्यो सम्बन्धन नभएकोको हुनाले त मानिसले यो विश्वविद्यालय किन चाहियो भनेर प्रश्न गर्न थाले नी ? 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय एउटै कारणले रहन्छ । यो विश्वविद्यालय देश विकास गर्ने लक्ष्य लिएको छ । देश विकास गर्न नपरे यो विश्वविद्यालय चाहिदैन भन्छु म । देश विकास गर्नलाई हामीले अर्थतन्त्र विकास गर्न सम्भाव्य क्षेत्रको पहिचान गर्याै । हामीले सिभिल इन्जिनियरहरु निकाल्ने पढाउन खोज्ने हैन । हामीले देशलाई कस्तो किसिमको सम्भाब्य आर्थिक विकासका क्षेत्र छन् त्यसलाइ पहिचान गरौं । पहिचान गरिसकेपछि त्यस्तो क्षेत्रहरुको साँच्चै विकासका लागि प्रविधिहरु चाहियो । त्यसपछि रिसर्चगर्ने सेन्टरहरु बनाऊ । उदाहरणका लागि पर्यटनको क्षेत्रमा विकास गर्न त्यसैको क्षेत्रमा रिसर्च गर्ने चाहियो । युनिर्भसिटिले त्यसमा प्रत्यक्ष सरोकार राख्छ । यहाँ पढिसकेको विद्यार्थीले अब म के गर्ने ? भन्ने कुरा आउदैन । अहिले के छ, पढाइसकियो, अब के गर्ने ? टोफेल, आइएलटीएस दिएर अमेरिका, अष्टेलिया या अर्को देशजानुपर्ने मुख ताक्नुपर्ने बाध्यता छ अब त्यो पर्दैन । 

यो कलेजमा पढन आउने विद्यार्थीलाई हामी पहिलो बर्षमा नै के भन्छौ भने, तिमी देशको समस्या हेरेर आऊ, दुईमहिना हामी देश भ्रमणमा पठाउँछौ । उनीहरुले त्यो भ्रमणमा गएर कहाँ कहाँ के– के समस्या छ । उद्योग धन्दामा के छ ? आर्थिक क्षेत्रमा के छ ? पर्यटनमा के छ ? अनि विद्यार्थीले त्यो देखिसकेपछि, यसो गर्न पाए हुने थियो भनेर दुइचार पैसापनि आम्दानी हुने र उ आत्मनिर्भर पनि बन्दै जाने खालको शिक्षाको विकास गर्न खोजिरहेका छौ । हामीले तपाईहरुलाई यस्तो कोर्ष दिन्छौ की २८ वटा कोर्ष पुराभएपछि व्याचलर हुन्छ भन्दैनौ । सबैलाइ एउटै शिक्षा पढाएर के काम ? मानिसलाइ चाहिने, देशलाइ चाहिने  पढाउन पर्याे नी ? यस्तो खालको कोर्ष पढाउन पर्याे जसले गर्दा उसले उद्योग, धन्दा देशलाइ के चाहिन्छ त्योपनि बुझयो । अनि चारबर्ष त्यसरी पढिसकेपछि त्यो विद्यार्थी एउटा विचार बोकेर निस्किएको हुन्छ । उस्ले केही गर्न सक्ने हुन्छ, त्यस्तो मान्छे उत्पादन गर्न खोजिएको हो । 

तपाईहरुले आधुनिक ढंगले शिक्षाको विकास गर्ने भन्नुभएको छ । यो सोंच त त्रिभुवन विश्वविद्यालयमा पनि प्रयोग गर्न सक्नुहुन्थ्यो नी, विकल्प नै किन खोजियो ?

मैले पुरानो संरचना परिर्वतन हुनुपर्दछ भनेर २० औ बर्षदेखि भनिरहेको छु । मैले भनेर हुदैन । यो त पुरानो संरचना हो । यो ठिक छैन भनेर हामी गाली गछौ, तर यो ठिक छ र त चलिरहेको छ नी । तर ठिक कस्लाई छ भन्दा हामी जस्तो शिक्षकलाई  छ तर देशलाइ ठिक छैन । 

टियुले किन गरेन भनेर म गाली गर्दिन तर, त्यस्ले देशलाई पुगेको छैन । मत के भन्छ्ु भने हरेक बन्ने विश्वविद्यालय पुरानो ढर्रामा गएर त काम नै छैन । सबभन्दा ठुलो समस्या भनेको त्रिविबाट सम्बन्धन दिने जस्तो काम नलाग्ने चिजअरु केही छैन । अहिले कस्तो विद्यार्थीको आवश्यकता छ भने अरुले नजानेको जान्ने विद्यार्थी हामीलाई चाहिएको छ । सबैले जानेको भयो भने त तपाईलेहरुले भन्दा राम्रो दिनै सक्नुहुन्न । अनि सम्बन्धन दिएपछि ५० वटा क्याम्पसमा एउटै टेक्सबुक पढाउने एउटै किताब पढेपछि त सबै शिक्षकले पठाउनुपर्ने एउटै किताब हुन्छ अनि किताब पुरानो हुन्छ, त्यसमा नयाँ कुरा हुन्छ ? अनि पुरानो कुरा पढाएर बसेर केही उन्नती हुन्छ ? नयाँ कुरा जानेर बसेको शिक्षकले त्यो पठाउन पाउदैन किन पाउदैन भन्दा अर्कोेै कलेजको किताबमा त्यो लेखेको छैन ? अनि बच्चाहरुलाई मिसले यो पढाएको छैन यो हुदैन भन्ने जस्तै हो । 

नयाँ शिराबाट यो विश्वविद्यालय शुरु गर्न लागेका छौ । कुनैपनि विश्वविद्यालयको यसरी छलफल गरेर शुरुभएको छैन । नयाँ सोंचबाट नेपालको निमार्ण गर्ने उदेश्यले यो विश्वविद्यालय बनाउन खोजिएको हो । यसको शासकीय संरचना सम्पुर्णतया अरुभन्दा धेरै फरक छ । अर्को बिकल्प किन चाहियो ? किन चाहियो भन्दा हाम्रो समस्या समाधान गर्न । टियूमा के गरेर समस्या भयो भने पहिलो कुरा जवाफदेहीताको कुरा आउछ । शासकीय संरचना भनेको कुनैपनि संस्था को जिम्मेवार व्यक्ति को हो त्यसमा प्रश्न आउछ । कुनैपनि संस्था बिग्रिएपछि उस्ले सबैभन्दा ठुलो हाकिमलाई सोध्नुपर्छ । अनि त्रिविको कुलपति को ? प्रधानमन्त्री, अनि केही समस्या भयो भने कस्लाई सोध्ने प्रधानमन्त्रीलाई ? होइन ? त्रिविमा समस्या आउँदा अब प्रधानमन्त्रीलाई सोध्न जानु पर्दछ । अब प्रधानमन्त्रीलाई सोध्न, भेट्न सजिलो पनि छैन । भनेको समितिको अध्यक्ष देशकै कार्यकारी भएपछि युनिर्भसिटी चल्छ ? चल्दैन । देशको कार्यकारीले युनिर्भसिटी चलाएर त बस्न सक्दैन नी । 

देशको कार्यकारीले त मन्त्रिमण्डल चलाउने हो । २० जना छ कि २५ जना छन् मन्त्रीहरुलाई  खबरदार गरेर राम्रोसँग देश चलाउने हो प्रधानमन्त्रीले । त्यसपछि आफनो पार्टी राम्रोसँग चलाउने हो । प्रधानमन्त्रीले टियु चलाउन त भ्याउदै भ्याउदैन नी ? दोष चाँही बोक्ने अनी उहाँको नाउँमा अरुले काम गरिदिने ? त्यस कारण विश्वविद्यालय चलाउने कुरामा प्रधानमन्त्रीले काम गर्न सक्दैनन् । त्यसपछि शिक्षामन्त्रीलाई पनि कसरी जिम्मा लगाउने ? उहाँले पनि भ्याउदै भ्याउनु हुन्न  । उहाँको नाममा अरुले काम गर्ने ? त्यस कारण शिक्षामन्त्रीलाई पनि शिक्षाको जिम्मा कसरी दिने ? बर्षको दुईचोटी मिटिङ्ग बस्नलाई प्रधानमन्त्री शिक्षामन्त्रीको समय मिलाउन गाह्रो हुन्छ । जिम्मा लिइसकेपछि हेर्नुपर्छ । मैले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको जिम्मा लिइसकेपछि यहाँ कुनै चिजमा समस्या भयो भने मैले जिम्मा लिनुपर्छ र सपार्नपनि सक्नुपर्छ । 

त्रिविमा बसेर मैले गएर शिक्षामन्त्रीलाई तपाईले बिगार्नुभयो बनाउनुस् भन्न त मिलेन नि ? त्यो गर्न सक्ने कामपनि हैन । त्यो पुरानो संरचनाले काम गर्दैन । त्यही भएर गर्न नसक्ने कामको जिम्मा लिनु हुदैन भन्ने मेरो सिद्धान्त हो । त्यस कारण विश्वविद्यालयको कुलपति सहकुलपतिमा माथिका मानिसहरु बस्न जरुरी नै छैन । तपाई विदेशी विश्वविद्यालय हेर्नुस कुनैपनि विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हार्वड विश्वविद्यालयको कुलपति छैन त ?  उहाँलाई केही थाहा नेै हुदैन चलेकै छ । चाईनामा पनि छैन, जापानमा पनि छैन ति देशहरुमा युनिर्भसिटि राम्रैसँग चलिरहेको छ । कही नभएको संरचना हामीले किन बनायौ ? यो धमिलो जवाफदेहीताले त्रिविमा समस्या बढायो । त्रिविको भिसीले नियम पास गर्न सक्दैन, रेक्टर भर्ना गर्न सक्दैन, उसको कुरा कसैले सुन्दैन सवै पार्टीले चलाउने हो भने त्यस्तो ढंगले विश्वविद्यालय चल्दैन । धमिलो जवाफदेहीको संरचना ठुलो बिडम्बना हो । दोस्रो बिडम्वना भनेको त्रिविमा कक्षा लिएपनि पैसा पाउने नलिएपनि पैसा पाउने विद्यार्थी भएपनि हुने नभएपनि हुने  । पैसा किन पाउछ, भन्दा शिक्षक भएकै कारणले पाउछ । जुन दिनसम्म हामी कामको निम्ती हैन, मान्छेको निम्ती तलब दिन्छौ त्यो चल्दैन । सम्पूर्णं विश्वविद्यालय त्यसरी नै चलिरहेको छ केयू वाहेक है । तेस्रो भनेको कुनैपनि संस्था राम्रो चलाउन नियम ऐन बनाउने अधिकार हुनुपर्दछ । विश्वविद्यालय चलाउन धेरै किसिमका नियम कानुनहरु बनाउनु पर्दछ । त्यस्तो नियम त त्रिविमा सभाले बनाउछ । जुन दिन विश्वविद्यालयको  अध्यक्ष कसैले छानेर पठाइदिन्छ भने त विश्वविद्यालयको उत्तरदायित्व छैन त त्यो त गर्नेको उत्तदायित्व हुन्छ ।

भनेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा प्रधानमन्त्री, शिक्षामन्त्री कुलपति उपकुलपति रहदैनन् ? 

हाम्रोमा पुरानो ढर्राको व्यवस्था केही पनि हुँदैन । विश्विद्यालयको अध्यक्ष विश्वविद्यालय आर्फैले बनाउछ । अध्यक्ष भनेको कलेजकोे सिइओ हो । उसलाई प्रधानमन्त्री वा शिक्षामन्त्रीले सिफारिस गर्दैन । विश्वविद्यालयले आफनो संरक्षक समिति बनाउछ । त्यो संरक्षक समितिले उसलाई राख्ने हटाउने अधिकार राख्छ । अहिलेको त्रिविमा कुलपति प्रधानमन्त्रीले राम्रो काम गर्याे नराम्रो काम गर्यो भन्नलाई त उस्ले बर्षको १०÷१२ चोटी भेटेको हुनुपर्यो । के के काम भयो बुझेको हुन पर्यो । यो काम यसरी सुधारेर ल्याओ भन्नुपर्याे । लास्टमा सबैले हुदैन भनेपछि हटाउदा त अप्ठयारो पर्ने भयो नी त । यो प्रकृति ले नचल्ने भएकाले अहिलेको सिष्टमले हामीले गर्न खोजेको के हो भने सार्वजनिक विश्वविद्यालय सरकारप्रति उत्तरदायी हुनुपर्दछ । त्यसमा कुनै विवादै छैन किनभने यो नीजि होइन । एउटा संरक्षक समिति रहन्छ त्यो सरकार प्रति उत्तरदायी हुन्छ । संरक्षक समितिले ठिक गरेन भने संरक्षक समितिलाई सरकारले निर्देशन दिन्छ तर उस्को निर्देशन प्रेसिडेन्डकोमा पुग्दैन संरक्षक समिति बीचमा बस्दछ । संरक्षक समितिप्रति प्रेसिडेन्ड उत्तरदायी हुन्छ । उसले उत्तरदायी काम गरेन भने उ निकालिनसक्छ । विश्वविद्यालयले काम गरेन भने पहिलो प्रश्न पे्रसिडेन्टलाई संरक्षक समितिले प्रश्न गर्न सक्छ । उसलाई सबै अधिकार दिएको हुन्छ । समितिमा १२÷१५ जना हुन्छन् । भनेको समयमा मिटिङ्ग पनि बस्दछ । हेर्नपनि फुर्सद हुन्छ । त्यस कारण यो सम्पूर्णतया फरक शिरा र शासकीय संरचनाबाट बनेको छ । 

यो एउटामात्रै क्याम्पस हुन्छ । यसले सम्बन्धन दिदैन । यसले १० वटा आंगिक क्याम्पस भनेर पनि खोल्दैन । यसको मूख्य उदेश्य भनेको प्रोफेसरले सबैभन्दा जान्ने कुरा पढाउन पर्याे । रोवर्टले गर्न नसक्ने, आर्किटेक इन्जिनियरले गर्न नसक्ने काम मात्र गर्न पर्याे, सबै मानिसले रिसर्च गर्ने पर्याे । रिसर्च नगर्ने प्रोफेसर त्यहा कुनैपनि हुन भएन । सबै बिद्यार्थीले रिसर्च गर्र्नै प¥यो । तसर्थ रिसर्च बिना पढाउन हुदैन । 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मुख्य उदेश्य चाँही के हो, यो अरुभन्दा कुन कुन कुरामा फरक छ ? 

क्वालिटिभन्दा पनि देश विकास गर्नका लागि चाहिने सिप प्रविधि भएको विशेषज्ञ र विश्वविद्यालयको आवश्यकता पुरा गर्ने उदेश्य हो । हामीले यहाँ पर्यटन, आइटी सूचना प्रविधि, जलस्रोत र उर्जा , पहाडी विकास , समतल जग्गामा मात्रै हुन्छ भन्ने हैन । पहाडमा पनि विकास सम्भव छ भन्ने हो । अहिले आएर नयाँ प्रविधिको विकास गरेर समृद्ध बनाएर बस्न सक्छौ । कृषि, अर्गानिक खेती, प्लान्टस, नयाँ उत्पादन र देश बनाउने संबृद्धिको लक्ष्य पुरागर्न यो विश्विद्यालय खोलिएको हो ।

ज्ञान सिर्जना गर्नुपर्ने भएपछि राम्रो विश्वविद्यालय चल्न के चाहियो ? राम्रो विद्यार्थी आउनु पर्याे । राम्रो विद्यार्थी आउनलाई यो राम्रो भयो भने मात्रै राम्रो विद्यार्थी आउछन् । अर्को राम्रो शिक्षक आउनुपर्याे । राम्रो शिक्षक आउनुपर्ने भएपछि त नेपालमा यति शिक्षक छन् । नेपाली जे जानेको छ । नेपालीले नै पढाउछ भनेर हुन्छ ? हामीले के भन्न सक्छौ भने अमेरिकामा बनेको किन चाहियो ? चाइनामा बनेको किन चाहियो ? नेपालमा बनेको चिजले मात्रै नेपाल बनाउ भन्यो भने नेपाल बन्छ ? सवै बाहिरबाट आएको चिज हामीलाइ चाहिने । अनि बिदेशी प्राध्यापक ल्याउने भन्नासाथ यहा बिरोध आउछ । कहाँ बिदेशी ल्याउने ? कहाँ बिदेशीलाई जागिर दिने कुरा उठछ भन्छ कि भन्दैन ? भन्छ । अनि सबभन्दा नयाँ कुरा पनि पढाउनुपर्ने अनि सवभन्दा नयाँ कुरा नजान्नेले पढाएर हुन्छ ? हुदैन त्यस कारण एउटा यसको विशेषता भनेको बाहिरका विशेषज्ञ ल्याउन सक्छौ । प्राध्यापकहरु ल्याउन सक्छौ । पर्याे भने प्रेसिडेन्डपनि ल्याउला हामीले त्यस कारण बाहिरको मानिस जो पनि ल्याउन सक्छौ । बाहिरको मानिस ल्याउन साथ जासुस गर्ला भन्ने हाम्रो मनमा पर्ला । त्यो जासुस गर्ने भएभने नल्याउला । कामगर्नेलाई ल्याउला । चाइनाको नेताले सिंख्हवा युनिभर्सिटिमा बिदेशीलाई नेता बनाउन हुने , डिन बनाउन हुने सबै बनाउन हुने ठिक छ । चल्येकै छ । हामीलाइ के को डर । हेर्नुस् इन्डियाले गर्दैन । किनभने इन्डियाले चाइनासँग प्रतिस्पर्धागर्न सक्दैन चाइनामा पिआर भन्ने भइसक्यो अमेरिकामा जस्तै । तपाई गएर परमानेन्ट बस्न सक्नुहुन्छ । किनभने बुद्धि भएको मानिस त चाइनामा हुन्छ । त्यही भएर यसमा बिदेशीलाई पनि भर्ना गर्न पर्यो । बजेट चाहिन्छ । पैसा धेरै चाहिन्छ । 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नाम अलिक फरक जस्तो लाग्दैन ?

पुरै नयाँ शिराबाट पढाइ हुन्छ । समस्या किताबी ज्ञानमा हामी जादैनौ । व्यवहारिक ज्ञानमा हामी जान्छौ । विज्ञान र प्रविधिका माध्यमबाट पढाइ हुने भएकाले नाम पनि त्यसै अनुरुप राखिएको हो । 

क्लेजमा विद्यार्थीको भर्ना कसरी गर्ने साेंच बनाउनु भएको छ, कि जस्ले पनि पढन पाउने हो ?

जस्ले पनि पढन पाउने भन्ने कुरै हुदैन, त्यो त सेलेक्सन हुन्छ नी । मेरो हिसाबले १५/२० बर्षमा चार हजार विद्यार्थी पुग्छन् होला । शुरुमा हजार जनादेखि शुरु हुन्छ । हजार जनापनि एकै चोटी पुग्दैन । हजार जना पढाउनलाई १०० जना राम्रो शिक्षक मैले कहाबाट ल्याउने ? त्यो सम्भव नै छैन । मैले गर्न खोजेको संस्था शुरु गर्ने भएपछि त्यसै बस्न भएन काम त केही न केही शुरु गर्न पर्याे तसर्थ हामीले शुरुमा पिएचडीको कार्यक्रम छिटो शुरु गछौ । चारजना प्रोफेसर चारजना विद्यार्थी भएपछि पिएचडीको कक्षा शुरु गरेपनि भयो नी । अनि पिएचडीले रिसर्च गर्छ , हामीलाई चाहिने प्रविधि आउछ अनि देश विकास हुन थाल्छ । काम तुरुन्तै गर्ने पर्खिएर बस्ने होइन । शुरुमा पिएचडी त्यसपछि मास्टर्स त्यसपछि ब्याचलर गरे भइगयो नी । ब्याचलर्सबाट गर्याे भने १० बर्ष लाग्छ । पिएचडीबाट गर्याे भने छिटो हुन्छ । प्रविधि पनि निस्कन्छ । 

कहाँ बनाउदै हुनुहुन्छ यो विश्वविद्यालय ?

मकवानपुरको चित्लाङ्गमा ७ सय ४० रोपनी जग्गा छ । काठमाडौमा ७ सय रोपनी कहाँ पाउनु ? काठमाडौं बाहिर पनि धेरै ठाँउ घुमेपछि त्यहाँ बनाउने निर्णय भएको हो । शुरुमा विशिष्ट विशेषज्ञहरु मैले विदेशबाट ल्याउनुपर्छ । उनीहरुलाई मैले धनकुटामा लगेभने मान्छे सिती मिति गइदिदैन । नेपाली त जादैन अझ बिदेशी के जाला । मान्छे नै नजाने ठाउँमा राख्न पनि भएन । त्यस कारण काठमाडौबाट नजिक तर काठमाडौंभन्दा बाहिर जग्गा पाउने ठाउँ धेरै गाहो पनि हुन सक्छ । चित्लाङ्गको स्वच्छन्द भैरव मावी विद्यालयले एकसय ८० रोपनी जग्गा दिइसकेपछि अरु जग्गा बटुलेर ७ सय रोपनी जग्गा तयार भयो । त्यही ठाउँमा मदनभण्डारी विश्वविद्यालय लैजाने भन्ने भयो त्यो टुंगो लागिहाल्यो । 

यो मदन भण्डारी फाउन्डेसन कै पहल हो की, फाउन्डेशनको उपस्थिती किन खोजियो ?

पहल त मदन भण्डारी फाउन्डेसनको होइन भन्नै मिल्दैन । त्यो १५ बर्षदेखिको योजना हो । फाउन्डेशनको पनि हो । नेपाल राष्ट्रिय इन्जिनियरिङ्गको पनि हो । पहल सबैको हो । तर पहल कस्को भन्ने त्यति ठुलो कुरा भएन । अब जे भएपनि सार्वजनिक सरकारको चिज बन्न लागेको छ, सरकारबाट । यो फाउन्डेसन अन्र्तगत पटक्कै रहदैन । किनभने फाउन्डेसनले स्थापना गर्न लागेको हैन । म फाउनडेसन्को मान्छे हैन । अध्यक्ष त क्याबिनेटले बनायो । फाउन्डेसनको पहल भएको हो तर यो संस्था फाउन्डेसनको होइन । यो संस्था फाउन्डेसनको भयो भने यसलाई राजनीतिक रुपमा सबैले हेर्छन । यसलाई कसरी लडाउने भन्ने कोसिस हुनसक्दछ । त्यो लडाउने ठाउँमा म किन जाने ? यो लडाउने ठाउँ हैन । यो सबैको सम्पति हो । नेपालको सम्पति हो । जुनसुकै विचारधारा भएपनि उस्को सम्पति हो । मैले यो चलाउदा के ठानेको छु भने मैले कुनै पार्टीलाई भनेर लिने होइन । पार्टीको कुरा यो ठाउँमा हुनुहुदैन त्यसरी देश बन्दैन । यो ठाउँमा सबभन्दा जान्ने मान्छेलाई मैले राख्नुपर्दछ । त्यसरी राम्रो विचार आउछ काम बन्छ । फेरि यो सरकारको पैसाले मात्रै पनि यो विश्वविद्यालय बन्दैन् । हामीले शिक्षकलाई दिने पैसा त कमाएर उठाएर दिनुपर्छ । त्यही भएर यो नयाँ केही गरौं भन्ने उदेश्यले खोलिएको हो र नितान्त सरकारको सम्पती हो ।

कतिपयले यसलाई नेकपा निकट विश्वविद्यालय हो भन्ने पनि पाइयो नी ?

त्यसरी गरियो भने यो संस्था रहदैन । यसलाई राजनीतिभन्दा बाहिर राख्न सकियो भने संस्था टिक्छ नत्र किन बनाउनु पर्यो र ? टियु जस्तै हुन्छ नी । पार्टीको मान्छे राखिदिने । तीनवटा पार्टीलाई भाग लगाइदिने । रेक्टरको कुरा भिसिले नस्ुन्ने भिसिको कुरा कसैले नसुन्ने भयो भने कामै छैन । यसमा राजनीति जिरो हुनुपर्दछ । म त्यहि बिचारले आएको हो यहाँ । नत्र म यहाँ आउने थिएन । राजनीति हुने भयो भने मैले यसमा बस्नुको अर्थ हुदैन । 

मदन भण्डारी कै नाम जोडेर किन यो विश्वविद्यालयको नामांकरण गरियो ?

नाम त सरकारले राख्ने कुरा हो । सरकारले जे नाम पनि राख्न पाउछ । सरकारको आस्था भयो होला र त्यो नाम राखिदिनुभयो । नाम मात्र जुरेको हो नाम बाहेक अरु राजनीति यसमा छैन । अब बिपि कोइरालाको नाममा छ भनेर त्यहाँ म जागिर खान नजाने भन्ने त हुँदैन नी । त्यसलाई आस्थाको रुपमा मात्रै लिनुपर्दछ ।