पोखरा, २७ भदौ - स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिको घरघरमा पुगेर गरिने सो कार्यक्रमको शुभारम्भ जनस्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले स्थानीय बडाचौरका १०२ वर्षका मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गर्नुभएको हो । 

विभिन्न स्वास्थ्य विज्ञको १२ वटा समूह बनाएर पाँच दिनसम्म गाउँपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिने गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले जानकारी दिनुभयो । 

स्वास्थ्य स्याहार कार्यक्रमका लागि गाउँपालिकाभित्रका सातवटा स्वास्थ्य केन्द्रबाट २३ स्वास्थ्यकर्मी, ३६ महिला स्वास्थ्य स्वयंसेवी, २९ जना प्रतिनिधि र पाँचजना विषयगत कार्यालयका गरेर ९३ जना जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो । 

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई÷दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने र अस्पताल जान नसकेकालाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना ज्येष्ठ नागरिक छन् ।

रासस