काठमाडौँ, १२ चैत – कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रयत्नशील रहेको बताउनु भएको छ ।

मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवम् निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले बताए। उनले भने, “दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलियम पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ।”

नेपाल–भारत सीमाक्षेत्र रक्सौलबाट औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक काठमाडौं हिंडिसकेका र आजै आइपुग्ने जनाइएको छ।

उपत्यकामा दुई दर्जन मिनीट्रक तयारी अवस्थामा

काठमाडौँ उपत्यकामा अत्यावश्यक वस्तु पुर्‍याउन करीब दुई दर्जन मिनीट्रकको व्यवस्था गरिएको छ। काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात/सात मिनीट्रक तयारी अवस्थामा छन्। मन्त्री भट्टले ती मिनीट्रकको प्रयोग गरेर अभाव भएका ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्‍याइने बताउनु भयो ।

त्यसका लागि मन्त्रालयले कुनै शुल्क नलाग्ने फोन नम्बर ११३७ सञ्चालनमा ल्याएको छ। “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गरे तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ, हामी त्यसको तयारी गरिरहेका छौं”, उहाँले भन्नुभयो ।

जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पुर्‍याउने व्यवस्था गर्न भनिएको मन्त्री भट्टले बताउनुभयो।

“टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पुर्‍याउन पनि सहजीकरण गरिरहेका छौँ”, उनले भने, “त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्बाध सञ्चालन गर्न दिन विशेष पासको व्यवस्था गर्दैछौं।” सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उहाँको भनाइ छ।

सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न व्यापारिक प्रतिष्ठानहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो।

काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ।

विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार सचेत अवस्थामा रहेको भन्दै मन्त्री भट्टले ढुवानीका साधन नियमित सञ्चालन गर्न ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताए। ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएर छलफल गरी चालकलाई अप्ठ्यारो अवस्थामा काम गर्न प्रोत्साहित गर्न तथा विशेष भत्ताको व्यवस्था गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो।

भारतले मङ्गलबार रातिदेखि लागू हुने गरी २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको मन्त्री भट्टले बताए। “ग्यासको बुलेट भारतको मात्रै भएकाले चुनौती छ, नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ। हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौं”, उहाँले भन्नुभयो।

आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए। अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उहाँको भनाइ छ।

दैनिक ज्यालादारी मजदुरको हातमुख जोर्ने विषय कसरी समाधान गर्ने भन्नेतर्फ पनि सोचिरहेको उहाँले बताउनुभयो ।

रमेश लम्साल र अशोक घिमिरे/रासस