काठमाडौँ, ६ जेठ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार  शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएका हो ।

नेपाल टेलिकमले यो योजना अघि बढाएको हो । मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो। यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ।
नेपाल टेलिकमले पूर्वमा पाचँथरको चिवाभञ्ज्याङदेखि मध्यमा गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको टेलिकमले जानकारी दिएको छ।
अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि  टेलिकमले जानकारी दिएको छ।