नेकपामा विधि र पद्धतिको मात्र होइन, कमिटी पद्धतिको रामनामी राम्रोसँग ओढ्ने नेता हुनुहुन्छ (मा)ननीय (मा)धव कमरेड ! अर्थात् मामा कमरेड ! कमरेड मामाको विधि र पद्धतिको सपाट व्याख्या छ र त्यो सोझो बाटो बनाउँदै सरल रेखामा मात्र हिंड्छ भन्छन् कतिपय मान्छेहरू ! तर बिगत करिब चार दशकदेखि ‘झिजा बटुलेर बनाउने र भत्काउने’ केटाकेटीखेल खेलेझै  आधा दर्जन भन्दा पार्टी निर्माण गर्दै र भत्काउँने खे(झे)लको विधि र पद्धति सञ्चालन गर्ने र त्यसैलाई अग्रगामी छलाङ् भन्दै राष्ट्रलाई सयवर्ष पछाडि धकेल्ने र आफू र आफ्नो परिवार एवम् कोटेरीलाई हजार वर्ष अघि बढाउने महान् क्रान्तिकारी काका कमरेडको पनि विधि र पद्धतिको नितान्त मौलिक र परिवर्तनशील परिभाषा छ ! मामा कमरेडको विधि र पद्धतिको स्थिर र स्थापित परिभाषा र काका कमरेडको विधि र पद्धतिको मौसमी, छलाङ्युक्त परिभाषाका बिचको अहिलेको यो गजबको समीकरण को के कुरा गर्नु । धेरैले बा भनेर पुकारिएका र पार्टीको आधिकारिक र मुख्य अभिभावक बा भनेर चिनिनु हुने, कमरेड बासँग करार अवधि नपुग्दै अवैध रूपमा अंश माग्ने र नदिएमा बालाई नै घरबाट निकाल्छु भनेर गरिएको कुनि केका घाटीमा घन्टी बाँध्ने दुष्प्रयास बाहेक केही होइन भन्ने आवाज सर्वत्र गुञ्जित छ !

वास्तवमा अहिले मामाले काकासँग मिलेर बाका विरुद्ध चलाउनु भएको नशालु पाराको यो विधि र पद्धति मामा स्वयम्‌कै गलपासो हो भनेर मामालाई सपनामा भए नि कसैले दीच्छे दिए त हुने हो ! किनकि बालाई लखेटेपछि मामाको घाँटीमा सुर्किनी बाध्ने र सके बाको पौरखको अधिकांश भाग मिसिएको यो दुई तिहाईको भन्सार लुटपाट गर्ने, नसके पुनः नयाँ नयाँ गौर काण्ड तथा जातीय द्वन्द्व चर्काई पुनः नरसंहार गर्ने र आफ्नो अतृप्त क्षुधा शान्त पार्ने काकाको धुन्धुकारी योजना बाहेक केही होइन भन्ने थाहा नै नभएको प्राणी मामा हुनुहुन्छ भनेर त कसरी भन्नु !

मामाको विधि पद्धतिको भजन गाउन र त्यही तालमा नाच्न आइपुग्नु भएका काकाले आफ्नातिरका मान्छेतर्फ फर्केर ‘पख न पख’ भन्दै आँखा झिम्क्याएको बिचरा मामालाई के थाहा ! विधि र पद्धतिमा हिँड्ने र अर्काले असारमा रोपेको खेती खलिहानमै लुट्न पल्केकाहरूसँग कुममा कुम मिलाएर मामा कहिलेसम्म हिँड्न सक्नुहोला ! यो पनि बिना उत्तरको प्रश्न जस्तै छ !

हुनत काकाले बालाई विगत दुई वर्षसम्म दुहुन सम्म दुहे ! गबुवाभरि नियुक्ति भरेर आफ्नो परिवार र गोरु बेचेका र नबेचेका (स्मरण रहोस् मल नल्याएर किसान मार्ने घरबेटीसँग आफ्नो गोरू बेचेको पनि साइनो छैन भन्दै एक अन्तर्वार्तामा सगर्व भन्नुभाको) का कटौराभरि ढ्याउव्व नडकारुन्जेल राज्यसुविधाको र ठेक्कापट्टाको दूध खन्याएको खन्यायै गरे ! त्यति बेला काकाको पक्षमा बा अलिक बढी लहसिँदा मामालाई दुख्नुससम्म चित्त दुखेकै हो ! बाले पनि काकाका सातपुस्ताका कचौरा भरिदिँदा मामाका कचौरामा आधा भए पनि दूध हालि दिएको भए हुन्थ्यो भन्ने आवाज त्यतिबेला नसुनिएको होइन ! मामाका पाला पनि बाका मान्छेले सारै दुख पाका हुँदा “कैले सासुको त कैले बुहारीको पालो” भन्ने उखान मुसुमुसु हाँसेको मात्रै हो भन्ने कुरो कुन्ता दिदीले धरानतिरबाट अष्ट (विगत दुई दशकसम्म पार्टी सत्ता र भगबन्डे राज्यसत्ताका अमृतको चास्नीमा पतिपत्नी पालैपालो डुब्नुसम्म डुब्नु भएकी आमै) का नाममा कान्तिपुरमा प्रकाशित चिठीलेखमा अलिअलि गन्ध आएकै हो !

फेरि उता अगस्ति काकाको जति खन्याए पनि नभरिने ढुङ्ग्रा जस्तो भाँडोमा नियुक्ति, ठेक्कापट्टा र भोजभतेरका सर्जाम बाले जथाभावी खन्याउँदा पनि काकाले बाको चलअचल सबै सम्पत्ति कब्जा गर्ने र बालाई वृद्धाश्रममा पठाउने निकै चोपिलो सपना देखिरहेका रहेछन् र बालाई एक्लै लखेट्न नसकिने ठानेर ६ या ७ महिने करारमा ‘बा लखेट् अभियानको धनयुद्ध' मा  मामालाई नियुक्ति दिएका रहेछन् भनेर बुझ्न पनि गारो पर्ने कुरै भएन ।

अँ, भर्खरैको कुरो गरौँ न ! सचिवालयमा बाका विरुद्ध गालीको कुम्लो फुकाएर काकाले पार्टी कब्जाको मट्याङ्ग्रो हानेको पाइयो ! तमाम नेपाली दाजुभाईहरूलाई मुक्तिको ललिपप देखाई लोप्पा ख्वाउँदै देशै कब्जा गर्छु, नौलो जनवादी व्यवस्था ल्याउँछु,  भनेर फगत रगतको खोलो बगाउन उक्साई अकालमृत्युवरण गर्न वाध्य पारी र मुलुकका भौतिक र साँस्कृतिक संरचना ध्वस्त पारी आफू र आफ्नाहरूका कन्तुर नौलो धनवादले टनाटन भरे को त दुनियाँले झलझली देखेकै छ ! आफूले जथाभावी हसुरेर अपचजन्य आरोपपत्रको त्यो अपानवायु आज मुलुकभरि फैलाएर अर्काले छाडेको अपानवायु हो भन्दै नाकै थुन्न वाध्य पार्ने परिस्थिति काकाले सिर्जना गरिदिनु भएको छ !

उता यो आरोपपत्रमा सरकार गनायो भनेका कुरासँग मिल्दो एक रमाइलो सन्दर्भ राखिहालूँ ! कुरो के भने, कार्तिक महिनामा पूजा गरिने पप्पीले पुस महिनालाई गनाउने महिना ठान्छ रे ! धेरै जाडो भएर गुटुमुटु परी सुत्नेक्रममा पप्पीले आफनो नाक आफ्नै अपानवायु उत्सर्जन हुने ठाउँनेरै राख्छ रे ! अपानवायुको त्यो गन्ध आफैले उत्सर्जन गरेको भए पनि त्यो आफैबाट भएको भन्ने नबुझी पप्पी चाहिँ पुस महिनालाई दोष दिँदै भन्छ रे “ छिः कस्तो गनाउने महिना आएको !”   

यता बालाई घरबाट वृद्धाश्रममा धपाउने मनका लड्डु पूरा भएछन् भने पछि मामालाई ममका डल्लाझैँ निलिहाल्छु भन्ने काकाका लिट्रेचर रिभ्यु र हालको बुर्कुसीले घामजत्तिकै छर्लङग पारि दिएकै छ ! मामाको विधि र पद्धतिलाई सोतर बनाई कसरी मामाको सातोपुत्लो खाने भन्ने कुराका लागि काकाले “ आच्छयु खाएँ बच्छ्युँ खाएँ यो जाबो झुसे बारुलो” भन्ने उखानमन्त्र मनमनै जपेकै हुनु पर्छ ! त्यसको पूर्व सङ्केतका रूपमा सचिवालयमा पर्चाबाजी गरेको गालीचालिसा पाठ गर्न ( स्थायी समिति र केन्द्रीय समिति छलेर ) तल्ला निकायमा पठाउने काकाको जङ्गे शैलीको विधि र पद्धति अहिल्यै देखि हुइय्या गर्न थालेको कुरो मामाले पनि सुइँको पाइसक्नु भएको कुरो अरुले पनि चाल पाइसके ! मामाले ठूला दुखले हुर्काको साँच्चैको विधि पद्धतिलाई यति छिटै बबुरो बनाउन काका तम्सिएको देखेपछि भने, बालाई लखेटेपछि मामाको हालत के बनाउने होलान् भन्ने कुरो बुझ्न “ काँचो सुन्तला, नटिप्तै यो चाल टिपे कुन चाल” भन्ने लोकगीतको अर्थ मात्रै बुझे छर्लङ्ग भैहाल्छ !

काकाका सन्तानहरूको स्कुलिङको मुहान कब्जावाद हो ! जो खेती गर्न होइन, अर्काले गरेको खेतीमा झन्डा गाड्ने, अर्काले डिपोजिट गरेको सुनचाँदी, गरगहना र नगदी लुट्ने महान् संस्कारको जगमा हुर्केको छ ! बिचरा एक हजारका पछि कुद्ने अख्तियार आँखामा मोतीबिन्दु त के भनू र खै, फलामविन्दु भएकै भन्नुपर्ला ! काकाका हिजोसम्मका हरितन्नम सन्तान कुटुम्बहरू र नजिकमा चमर हल्लाउनेहरू  आजको शानसौकत, अलिशान बङ्गला र करोडौँका गाडीहरू एवम् धाकरवाफको छलाङयुक्त प्रगति हेर्दा ती सबै लाल पूँजीपतिहरू भै सके र तिनका अगाडि आज दलाल पूँजीपतिहरू पनि पुड्का देखिन थालिसके रे ! बिचरा आख्तियार सख्तियारले पनि के गरोस् र खै, पाँच सय र एकहजारका भ्रष्टाचारका मुद्दा हेर्न भ्याइ नभ्याइ होला !

भ्रष्टाचारका मामलामा निराहारी र शाकाहरी मानिनु हुने मामा पनि यस्तो महान् छलाङ्यक्त कुलघरानका काकासँग मिलेर आफ्नै कटेराका बस्तुभाउलाई शब्दका भाटाले हिर्काए पनि रिसै रिसले आफ्नै कटेरामा आगो लगाउन कसिनु होला र भविष्यमा खरानी दलेर श्री १००८ बनेर हिँड्ने बाटो रोज्नुहोला जस्तो त पक्कै पनि लाग्दैन भन्छन् उहाँलाई नजिकबाट चिन्नेहरू !

बाले महाधिवेशन र निर्वाचनको शेषपछि वानप्रस्थ लिन्छु र शेषपछिको बकस जसले लिए पनि हुन्छ भनेर घोषणा गरेपछि पनि बालाई लखेट्न लौरो लिएर हिँडेकाहरू आफ्नै लौरामा बल्झेर लड्ने खतरा त्यत्तिकै छ ! मामा र बाहरूको योगदानको सेयरबाट सिर्जित बहुदलीय जनवादको जगमा ठडिएको नेकपाको ठूलो हिस्सालाई हिस्स पारिदिन्छु भनेर काकाले लगाउनुभएको न्वारान देखिको बलको होस्टेमा मामाले हैसे भन्दै हिँडेको देख्दा मामाको माउ दलका पितृहरूले माथिबाट पक्कै पनि रामराम भनेको हुनुपर्छ !

जसले जेसुकै भनोस्, जब जनसुकै बाटोबाट आए पनि र गाउँ र जङगल जाहाँबाट आएपनि अब पुराना व्यक्तिगत तुष र कुण्ठाका नाकको फोहोर  कोट्याएर जनताका जिउमा फाल्ने काम कसैले नगरौँ ! मामा र बा पहिले मिलौँ र काकाले पनि धेरै दुख भोग्नु भएकै छ ! उहाँले नानी देखि लागिरहेका भत्काइरहने बानी, आफ्नो कामको सिन्को नभाँच्ने र अरुको काममा छिर्किनी हान्नेजस्ता बानी  छाड्ने र अबदेखि आफ्नो जिम्माको काम मात्र गर्ने सर्तमा उहाँको पनि चित्त बुझाएरै मेलमिलाप गरौँ ! जनतालाई समृद्धि र विकासको कोर्स बाँड्ने र आफूहरू बितण्डा, झगडा र मारमुङ्ग्रीका ठेली मात्र पल्टाउने काम सदाका लागि बन्द गरौँ !