मकवानपुर, ९ फागुन - राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ । साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।