नेपालको सर्बाेच्च न्यायालय पछिल्लो पटक इतिहासमै नभएको विवादमा फसेको छ । खासगरी प्रधानन्यायाधीश रहेका गोपाल पराजुलीको उमेर र योग्यता सम्बन्धी प्रश्न सडकदेखि अदालतसम्म उठेपछि पराजुलीले आफूबारे भएका टिप्पणीलाई अदालतको अवहेलना मुद्दामा कारवाही गर्ने प्रयास गरे । यसैबीच न्यायपरिषद सचिवालयले पराजुलीको उमेर सम्बन्धी तथ्य बाहिर सार्वजनिक गरेपछि उनी पदमा रहने समय गत साउनमै सकिएको तथ्य बाहिर आयो । उनी पदमुक्त भए । न्यायालयको यो घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँग चक्रपथका लागि बिनु पोखरेलले गरेको कुराकानीः 

नेपालको सर्वाेच्च न्यायालयमा इतिहासमै नभएको घटना भयो, किन यस्तो भयो होला ? 
यति लामो इतिहासमा यस्तो त कहिल्यै भएन । यो के होला भनेर भन्देखि गोपाल पराजुली प्रधानन्यायाधीश भएर आएपछि नै जे स्वाभाविक रुपमा चलिरहेको थियो त्यो भताभुंङ्ग भयो । भइरहेका न्यायका काम पनि हुन छोडे । भनिन्छ नि, न्याय गरेर मात्र हुँदैन, न्याय नै गरेजस्तो देखिनु पर्छ भनेर । त्यो पनि हरायो । नेपालको न्यायिक इतिहासमा सबै भन्दा नराम्रो दिन भयो यो न्यायालयका लागि । एउटा मान्छेको दम्भको कारण न्यायालयको यो हाल भयो । 

हाम्रो देशको प्रधानन्यायाधीश सबैको प्रधानन्यायाधीश हो । उनको ब्यक्तिगत ब्यवहार आचरण अरुका लागि दृष्टान्त बन्छ । त्यसैले आचरण र ब्यवहार गलत भयो भने त त्यसको असर सम्पूर्ण न्यायप्रणालीमा पर्छ । उनको उमेर सम्बन्धी बिभिन्न कुरा आए । पाँच वटा उमेर भएका कागजात प्रमाण बाहिर आए । त्यो सबैसामु छर्लङ्ग छ । त्यहि विषयमा कुनै नागरिकले बोल्यो र पत्रिकाले समाचार बनायो भनेर अवहेलनाको मुद्दा छ । त्यस्ता मुद्दा पनि स्वाभाविक रुपमा सुनुवाई भएको भए हुन्थ्यो । आफू विरुद्धको मुद्दाको सुनुवाई आफैंले गर्ने प्राकृतिक न्यायको सिद्धान्त विपरित बाटोमा गयो । 

आवेगमा कुनै काम हुनु हुँदैन, अनि मात्र न्याय दिलाउन सकिन्छ । तर केसीकै केसमा पनि प्रधानन्यायाधीशले आवेग प्रयोग गर्नु भो । एउटा अपहेलनाको मुद्दामा केसीलाई जबरजस्त पक्रेर ल्याउनु पर्ने नै थिएन । यस्तो अवहेलनाको मुद्दामा सामान्यतया लिखित जवाफ पठाउनु भन्ने हुन्छ । एकदमै गम्भीर प्रकृतिको भए आफैं उपस्थित भएर जवाफ दिनु भन्ने हुन्छ । तर त्यस्तो प्रकृतिको मुद्दा नहँुदा नहुँदै पनि डा गोविन्द केसीलाई त उपस्थित हुनु मात्र हैन समाएरै ल्याउनु भन्ने आदेश दिनुभो । त्यो पनि अघिल्लो दिन नै । त्यो पनि अनशन बसेकै ठाउँबाट । त्यो आदेश पनि आफ्नै मिलेमतोका वकिलहरु ल्याएर बहस गराए । आफ्नै नजिकका लाई निवेदन हाल्न लगाएर त्यो आदेश गराइयो । पराजुलीले रिसइवी साँध्ने काम गर्नु भो । यो सबै बदलाको भावनामा काम गरियो । न्यायाधीशले यसरी बदलाको भावनामा काम गर्नु हँुदैन । यसो गर्दा त न्याय नै हुन जाँदैन । यो त रिसइवी साँध्ने बाहेक अरु केही देखिएन । त्यसले उनको मात्र हैन सिंगो न्यायालयको शाख गिर्यो । 

उहाँका हरेक क्रियाकलाप पनि साह्रै अस्वाभाविक थिए । आन्तरिक राजस्वको कुरामा पनि देशलाई घाटा हुने निर्णय गरेको छ, सम्पत्ति सुद्धिकरणको कारणले रोकेको पैसा पनि छानिविन बाँकी हुँदै उसको पक्षमा आदेश दिने, पैसा नबुझाएर रोकिएका क्यासिनोलाई पनि संचालन गर भनेर आदेश दिने, बन्द भएका होटलमा पनि क्यासिनो चलाउन दिनु भनेर आदेश दिने । यसरी चल्छ ? 

यस्तो हुँदा पनि पूर्व न्यायाधीशहरु किन चुप थिए त, बोल्नु पर्दैनथ्यो ? 
ठीक हुँदै जान्छ भन्ने माने होलान् नि । मान्छेका अनेक कुरा हुन्छन् । को किन बोलेनन् त्यो तिनको कुरा हो । धेरै न्यायमूर्तिहरु त बोल्नुभएको पनि छ । तर न्यायालय न्याय दिने ठाउँ हो भन्नेहरु बोल्नु भयो  । हामीलाई त आफ्ूले काम गरेको संस्था यसरी गाडिएको देख्दा शीर झुकेको महसुस भएको थियो । पराजुलीले सबै न्यायमूर्ति र न्यायलयको शाख झुकाउने काम गरे । अब फेरि यस्ता प्रधान न्यायाधीश कहिल्यै नब्यहोरोस् न्यायालयले ।  मान्छेले न्यायालयलाई न्यायालय भन्दा पनि झगडीया बस्ने ठाउँ भनेर बुझ्न थाले । हेर्नोस् त कस्तो बेला आयो, अदालतको बाटोमा हिंड्दा पनि मलाई कसैले न्यायाधीश भनेर नचिनोस् भन्ने लाग्छ । बाटोमा केहि चिनेको भेटियो र समुहमा मान्छे रहेछन् भने त्यसले मलाई न्यायाधीश भनेर नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ । मलाई मात्र यस्तो होइन, आज अदालत भित्र काम गर्ने कर्मचारीले पनि यहि भनिरहेका थिए । जो अगुवा उहि के भनेजस्तो भयो । न्यायालयको सम्मान त यिनले माटोमा मिलाएर छोडे । फेरि भन्छु यस्तो न्यायमूर्ति कहिल्यै झेल्न नपरोस् हामीले । 

आफ्नो विरुद्ध परेको मुद्दा हेर्न अरुलाई दिनु पथ्र्याे । नयनबहादुर खत्री प्रधानन्यायाधीश हुँदा कीर्तिनिधि विष्टसँगको केसमा नयनबहादुर खत्रीले आफूले मुद्दा नहेरेर अरुलाई हेर्न लगाएको उदाहरण छ । अहिले आफू विरुद्धको मुद्दामा प्रधानन्यायाधीशले के गर्नुपथ्र्याे ? 
हो, त्यहि त म तपाईंलाई भन्दैछु । उनले न्यायालयलाई त न्याय दिलाउने हैन कि रिस गर्ने माथि डण्डा बर्साउने साधन बनाए । न्यायलय हैन कि उनि आफू त्यो भन्दा माथिको शक्ति भएको दम्भ देखाए । 

न्यायपरिषद्ले साउनमै उनको उमेर हदका कारण पदमुक्त भएको पत्र थमाएको छ । फेरि उनले राष्ट्रपतिलाई सफथ खुवाए, अब के हुन्छ ? 
सपथ गराउँदा उनी पदमुक्त भइसकेका थिए कि थिएनन् भन्ने कुरा यसका लागि निरुपण हुनुपर्छ । यदि उनी पदमुक्त भइसकेका भए राष्ट्रपतिले फेरि सपथ खानुपर्ने पनि हुनसक्छ । 

न्यायालय माथि घात पुर्याएको र न्यायाधीशहरुले इजलास अस्वीकार गर्ने अवस्थासम्म पनि उनी प्रधानन्यायाधीश रहन सक्नुको कारण के थियो ? 
अरु के हुनु ? उनको ढिटले नै काम गरेको मलाई लाग्छ । भित्रभित्रै सेटिङ हुने गरेको कुरा पनि आइरहेका छन् । पैसाले मुख थुनिदिन्छन् र त कोहि बोल्दैनन् नि,  न्यायालयमा यति हरिविजोग हुँदा पनि । भित्र भित्रै यिनलाई बोक्छन् र त टिकेका हुन्  । 

न्याय परिषद्ले यसरी फाल्न मिल्ने थियो र ?  
न्यायपरिषदले फालेको होइन नि । उनको उमेर सम्बन्धी विवाद थियो, परिषद्ले उनको उमेर सम्बन्धी नयाँ तथ्य फेला परेपछि त्यसलाई सार्वजनिक गरेको मात्र हो । जव उमेर हद पहिल्यै पूरा भइसक्यो भन्ने भयो, अनि उनी पदमा रहेनन् । कुरा यत्ति हो । अर्काेतिर यति विरोध हुँदा हुँदै पनि उनी पदमा बस्नु हुँदैनथ्यो । बिदा बस्नु पथ्र्यो वा राजीनामा दिनु पथ्र्यो । हैन भने महाभियोग लगाउनु पथ्र्यो । न्यायलयको बचाउको लागि पनि गर्नै पथ्र्यो । किनकी न्यायालय लास भएको हेरेर बस्नु हुँदैनथ्यो । 

पहिले प्रधान्यायाधीश सुशीला कार्कीमाथि एउटा महाभियोग ले त्यत्रो हंगामा भयो, फेरि महाभियोग ठीक हुन्थ्यो र ? 
तपाईंले के भन्नु भएको ? त्यो महाभियोग त झुठ थियो । त्यो त इमान्दार कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीश माथिको अपराध थियो । अहिले गोपाल पराजुलीले सुशीला कार्कीले जस्तै इमान्दार काम गरिरहेको अवस्था हो र ? सुशीला श्रीमानमाथि महाभियोग लगाउनेहरु नै लज्जित हुनु परेको तपाईंले देख्नु भएकै होला ।