फोहोरबाट निस्कने दुर्गन्ध र हानिकारक रसायनले एकातिर सहरी क्षेत्रलाई दिन प्रतिदिन दूषित बनाइरहेका छ भने अर्कातिर कृषिप्रधान देश भएर पनि आवश्यक मल तथा विषादी विदेशबाट आयात भइरहेको छ । यसै समस्यालाई समाधान गर्ने जुक्तिको खोजिमा रहेका एक नेपाली बैज्ञानिकले यी दुबै समस्याको समाधानका लागि देशभरिका विभिन्न ठाउँमा पाइने लाभदायक प्राकृतिक जीवाणुहरुको समूहबाट एक विशिष्ट बस्तु बनाएका छन् । त्यो हो जीवातु । तरकारी तथा फलफूलमा प्रयोग गरिने उक्त जीवातुलाई नेपलिज् फार्मिङ इन्स्टिच्युटका मुख्य वैज्ञानिक खड्गभक्त पौड्यालले गुरु स्व. भरतराज शर्माको निर्देशनमा बनाएका हुन् । नेपाली चलनचल्तीको प्रांगारिक खेती प्रणाली मंहगो भएका कारणले सिमित व्यक्तिको पहुँचमा मात्र रहेको छ ।

जिवातुको आविश्कार गर्ने पौड्यालले नेपालमा पहिलो पटक उच्च मूल्य र थोरै तौल (High Price and  Low Volume) को नगदेवाली उत्पादन गर्ने प्रविधिको विकास गरे । उनले नेपालका हिमाली क्षेत्रका किसानहरुलाई हिमालीजीरा, काश्मीरबाट केशर र हिमाली सूप आदिको लागत प्रभावि प्रागारिक खेतीसमेत पहिलोपटक नेपालमा सुरु गराए । नेपालमा पहिलो पल्ट काश्मीरबाट निजी खर्चमा ल्याएको केशरको गानो जुम्लाको गैह्रा गाउँमा पौड्यालकै पहलमा फूलाइएको थियो । 

खड्गभक्तले अरु जे गरे पनि जीवनको मुख्य उपलब्धि भनेको जिवातु पत्ता लगाउनु र संकलन गर्नु नै हो ।  संसारभर एउटा बाहेक जिवाणु संकलन गर्न कोही सफल हुन नसकेको बेला सन् १९८० मा जापानी वैज्ञानिक डा. तेरुवा हिगाले तीन ओटा जिवाणु एकै ठाउँमा ल्याउन सफल भएपछि त्यसको कमजोरीहरूको समेत अध्ययन गरी २०४२ साल अगावै अनगिन्ती जिवाणु संकलन गरेर तिनीहरूको संरक्षण र प्रयोग गर्न सफल भए ।  कृषि अनुसन्धान परिषद् नार्कमा ३० बर्ष काम गरेर अवकाश प्राप्त बरिष्ठ बैज्ञानिक पौड्यालसँग चक्रपथ डटकमका लागि दिनेश घिमिरेले गर्नु भएको कुराकानीको संपादित अशं : 

कृषिप्रधान मुलुक भएर पनि नेपालले कृषिमा अपेक्षित सफलता पाउन सकिरहेको देखिएन, किन होला ?
सर्वप्रथम हाम्रो टेक्निोलोजी नै भएन । हामी अर्काको टोक्निोलोजीमा चलिरहेका छौ । अनि कसरी हुन्छ । अहिले नेपाल सरकारले जोड दिएर प्रयोग गरिरहेको प्रविधि भनेको विषादी प्रयोग गरेर गरिने खेती हो । र, अर्को अर्गानिक भनेपनि बेलायती मोडल हो । यी दुबै हाम्रो प्रविधि हैन । अर्काको प्रविधि प्रयोग गरेर हामी कहिल्यै माथि जान सक्दैनौं । अहिले नेपालमा विउ, मल, विषादीसमेत अर्कोको देशबाट ल्याएर खेती गरिन्छ । अनि कसरी आत्मनिर्भर खेती सम्भव हुन्छ ? भएभरको कुरा विदेशबाट ल्याउने अनि कसरी सफलता मिल्छ ? अर्कोले मल, विउ र विषादी मध्ये कुनै एक चिज हामीलाई दिएन भने हाम्रो खेती नै हुन सक्दैन । यही कारण हाम्रो आफ्नै प्रविधि नभएसम्म जति नै करोड वा अर्ब खन्याउनुस् कृषिको विकास हुँदैन । 

के गर्न सक्यो भने हाम्रो देशको कृषि प्रणाली सुधार होला ? 
सरकारले अर्बौ रकम खन्याएको  छ । बाटोघाटो अनुदान दिएकै छ तरपनि हाम्रो खेती प्रणाली सुधार हुन सकेन । त्यसैले मैले विश्वमै एउटा नयाँ खेती प्रणाली विकास गरेको छु । मेरो मोडेल भनेको लागत प्रभावी प्रागारिक खेती प्रणाली (Cost Effective Organic Farming System) हो । यो विश्वमै छैन । यो मेरो अनुसन्धानबाट निक्लिएको खेती प्रणाली हो । मैले नार्कमा ३० बर्षसम्म काम गर्दा नेपाली किसानहरुको समस्यालाई बुझेर त्यसको समाधानका लागि ल्याएको खेतीप्रणाली हो । यसमा हामीले हाम्रो माटोलाई हामी आफैले सुधार गछौं, माटोलाई चाहिने पोषक तत्व वृद्घि गर्छौ र मित्र जिवहरुको संख्या समेत वृद्घि गरेर पूर्ण रुपमा अर्गानिक खेती गछौ । 

खासमा के हो त यो लागत प्रभावी अर्गानिक खेती प्रणाली ? 
बुझ्ने शब्दमा भन्दा कम खर्चमा अर्गानिक खेती कसरी गर्ने भन्ने विधि नै लागत प्रभावी खेती प्रणाली हो । किसानहरुको चलनचल्तिमा रहेको प्रांगारिक खेती भन्दा खर्च घटाएर उत्पात्कत्व बढाउने खेती प्रणाली यो हो । यसलाई हामीले ३० बर्ष लगाएर विकास गरेको प्रविधि हो । अर्गाानिकमा गएपछि पहिलो बर्षमै उत्पादन कमहुन्छ भन्ने विश्वास धेरैको छ, त्यो होइन । लागत प्रभावि प्रांगारिक खेतिमा पहिलो वर्षमै रासायनिक मल प्रयोग गरेको भन्दा उत्पादन कम हुँदैन । अब हामी प्रांगारिकमा नगइ सुखै छैन । किनकी बिना अर्गानिक अब बजार संभव छैन । 

अर्गानिक खेती भन्न त सबैले भन्छन् तर हरेक वालीमा कमसेकम एक दुईवटा किरा, एउटा दुईवटा पोषक तत्वको कमी र एक दुइवटा किटको समस्या देखिनै रहन्छ । औषत्मा हरेक वालीमा पाँच छ वटा समस्या देखिनै रहन्छ । अब किसानले छ सात प्रकारको बाली त लगाएकै हुन्छ । एउटा किसानसँग कमसेकम एकै पटक ३६ वटा समस्या एकैपटक खप्नु पर्नेहुन्छ । यो समस्या समाधान गर्न विज्ञहरुको एउटा टोली नै चाहिन्छ तर एउटा किसानले ती सबै समस्यासँग एक्लै जुध्नु परिरहेको छ । विरुवामा देखिने रोग, किरा वा पोषक तत्वको निवारण नगरिकन त फल फल्दैन । आम साधारण किसानसँग त्यो ज्ञान त हुँदैहुँदैन । अब एउटा समस्याको लागि एउटा पेस्टिसाइट, अर्को समस्याको लागि अर्को पेस्टिसाइट प्रयोग गर्ने हो भने किसानलाई लागत धेरै प¥यो । र, त्यो स्वस्थकर उत्पादन समेत भएन । त्यसैले यही समस्याको समाधानका लागि कम खर्चमा अर्गानिक खेती कसरी गर्ने भन्ने विधि नै लागत प्रभावि अर्गानिक खेती प्रणाली हो । 

कम खर्चमा उत्पादकत्व बढाएर प्रगारिक खेती कसरी गर्ने ? यो सम्भव छ ?
हामीले सिकाइरहेका छौ । यो सजिलो पनि छ । कम खर्चिलो पनि छ । हामीले हाम्रो देशमा अर्को देशबाट रासायनिक मल ल्याएका छौ, विषादी ल्याएका छौ र विउ समेत ल्याउने गरेका छौं । यसो गर्दा हामी अर्को देशसँग परनिर्भर बन्नु परिरहेको हो । अब हामीले हामीलाई चाहिने मल, विषादी र विउको विकास हाम्रै देशमा गर्नुपर्छ ।  किसानहरुको यावत समस्या समाधानका लागि समस्त रोग किरा र पोषक तत्वको समस्या समाधान गर्नका लागि हामीले जिवातु विकास गरेका छौ । यसमा माटो तथा विरुवालाई चाहिने असंख्य लाभदायक जिवाणुहरु विकास गरेर जिवित राखिन्छ । यसको प्रयोग गरेर हामीले आफैले मल बनाउन सक्छौ, जैविक रोग तथा किटनाशक झोल मलको प्रयोग गरेर सबै समस्याको एउटै समाधान निकाल्न सक्छौं र सफा र स्वच्छ अर्गानिक उत्पादन पनि लिन सक्छौ । यसो गर्दा सस्तोमा धेरै उत्पादन लिएर अर्गाानिक उत्पादन गर्न सकिन्छ । यही प्रविधिलाई मैले लागत प्रभावि अर्गानिक खेती प्रणाली नाम दिएको हुँ । 

जिवातु विकास गरेका छौ भन्नुभयो । यो जिवातु भनेको चाँहि के हो ? 
जीवातु भनेको एक प्रकारको झोल मल हो । जीवातु प्रयोग भएको पाँच मिनेटमा नै फोहोरको दुर्गन्ध नियन्त्रण गर्छ र त्यस्तो फोहोरलाई सडाएर गड्यौले मल (भर्मीकम्पोष्ट) भन्दा पनि राम्रो मल बनाउन सकिन्छ । जीवातुले फोहोरमा भन्कने झिँगा हट्नेमात्र नभई दूषित फोहोरबाट निस्कने गन्ध समेत हटाउँछ ।  नेपालमा पाइने प्राकृतिक लाभदायक जीवाणुहरुलाई संकलन गरेर एउटै बोतलमा तरल रुपमा राखिएको बस्तु जीवातु हो । 

नेप्लीज् फार्मिङ इन्स्टिच्युटले ३० वर्षे अध्ययनपछि रसायन प्रयोग नगरी खेतीको दिगो व्यवस्थापनका लागि यो जिवातु आविश्कार गरेको हो । कृषिबालीमा लाग्ने हानिकारक विभिन्न रोग र किराहरुको समस्या समाधान गर्ने जीवातु प्रयोग गरेर हाम्रै वरपरका घाँसपात र फोहोरमैलाबाट उच्चस्तरको मल निर्माण गर्न सकिन्छ । अहिले मेरो यो प्रविधि नेपालबाहेक भुटान, भारत र अफगानिस्तानको कृषिबालीमा समेत प्रयोग हँुदै आएको छ ।  किसानहरुका लागि अर्गानिक खेती गर्नका लागि माटोको उर्वराशक्ति, पोषक तत्व र रोगहरुसँग लड्नसक्ने मित्रु जिवहरुको आवश्यकता हुन्छ । त्यसका लागि एउटा रोगका लागि एउटा जिवाणुमात्र बजारमा पाइन्थ्यो । त्यसो हुँदा किसानहरूलाई अलग अलग बोतल किन्नु पर्ने झन्झट हुन जान्थ्यो । त्यसैले एउटा बोतलमा सबै चाहिने जिवाणु राख्ने विधि मिलाएर बनाइएको झोल मल नै जिवातु हो ।

हामीले जे फलाउँछौं, त्यो स्वच्छ र विषादीरहित् हुनप¥यो । उत्पादन त गर्ने तर त्यो अस्वस्थ र विषादीयुक्त भयो भने भोली बजार नपाएर किसानहरु रुनु पर्ने दिन आउँछ । त्यसैले तरकारी, अन्न, फलफुल वा जडीबुटी जे फलाएपनि, अर्गानिक फलाउन लागौं । हामीसँग प्रविधि छ । हामीसँग अनुभव छ । त्यो अनुभव र प्रविधिबाट हामीले हाम्रो कृषिलाई सुधार गर्न सक्छौ, आत्मनिर्भर बन्न सक्छौ । सबैले दिगो समाधानको बाटो समात्यांै भने हामी कृषिमा कहिल्यै पछाडि फर्कनु पर्दैन ।

खासगरी २०३७ बाट ०६२ सम्म अनुसन्धानमै बित्यो । जिवातु पूर्णप्रयोजनमा आउन २५ वर्ष लाग्यो र यसको प्रयोगपछि किसानहरूले राशायनिक मल खरिद र विषादी प्रयोग गरेको भन्दा अधिक उपज र गुणस्तर लिन सक्छन् । यसको उपादेयता धेरै छ । हामीले सुरुमा निर्माण गर्दा यसको मूल्य निर्धारण गर्दा प्रति लिटर रु. १ सय पर्न जान्थ्यो तर त्यो पनि हाम्रा गरीव किसानका लागि धेरै महंगो भयो । यसलाई कसरी सस्तो बनाउन सकिन्छ भनेर समेत म जुटे । त्यसपछि किसान स्वयमलाई जीवातुमा रहेका जिवाणु वृद्धि गर्ने प्रविधि सिकाएर लागत कम गर्ने प्रविधि विकास गरेको छु । त्यस प्रविधिलाई चाँहि लागत प्रभावी अर्गानिक खेती प्रणाली भनेको हुँ । यो विधि अब झोलमोल–१ र झोलमोल–२ को तरिकाबाट निस्क्यो । त्यसैले १ लिटर जिवाणुबाट ३ सय लिटर किसानले प्रयोग गर्ने जैविक पदार्थ बन्नेछ । यसोगर्दा  सस्तो समेत हुन पुग्यो । बोट विरुवाहरूलाई रोग मुक्त गर्ने र पुनर्जीवन दिन सक्ने एकै बोतलमा बन्द जिवाणुहरूको समूहको नामलाई जिवातु भनेर राखेको हुँ ।  किसानहरूले विरुवाको जरामा झोलमोल–१ प्रयोग गर्छन र माथि बोटमा झोलमोल–२ प्रयोग गर्न सक्दछन् । अनि जिवातु प्रयोग गरेर उच्च उत्पादकत्व प्राप्त गर्न सकेका छन् । यसबाट कृषि तत्वमै फरक परेको पाइएको छ र नेपाल बाहेक अफगानिस्तान, भूटान र भारतमा फरकफरक वातावरणमा जिवातुको सफल प्रयोग भइसकेको छ । बोट विरुवा तालतलैया आदिका खराब र शत्रु जीवाणु मात्रै यसले नियन्त्रण नगरेर कतिपय जीव जन्तुहरूमा घातक हमला गर्ने अनेकथरी भाइरसहरूलाई पनि यसले नियन्त्रण गर्दछ । यसको प्रयोगपछि किसानहरूले राशायनिक मल खरिद र विषादी प्रयोग गरेको भन्दा अधिक उपज र गुणस्तर हुन आएको र यसको उपादेयता धेरै उच्च रहेको दावी गरेका छन्  । काभ्रेपलाञ्चोकमा पहेँलो पात भएर बूढो देखिने सुन्तलाको रुखमा जिवातुको प्रयोग गरेपछि त्यो पुन हराभरा र जवान भएको थियो । यसले हरेक वालीको लागि काम गर्दछ । रासायनिक मल र विषादीको विकल्प हो जिवातु । 

रासायनिक मल र  रासायनिक विषादीको विकप त भन्नुभयो, हामी फेरि परम्परागत मलखादको प्रयोग गर्नुपर्ने हो त ?
हैन, परम्परागतले मात्र पनि हुँदैन । परम्परागत भन्दाखेरी उही गोबरलगायत मलका कुरा आउँछ । निश्चित रूपमा ममा एउटा नयाँ सोच छ । नेप्लीज फार्मिङ इन्स्टिच्युटले ‘जिवातु’ भनेर नयाँ प्रविधिको विकास गरेको छ । हामीले यो प्रविधिको प्रयोग ठाउँ–ठाउँमा गरिरहेका छौं । हामीले के देखेका छौं भने प्रत्येक स्थानमा चाहे मधेश होस् वा मध्य पहाड र उच्च पहाड, ती ठाउँमा प्रसस्तै प्राकृतिक स्रोत छन् । ती प्राकृतिक स्रोतमध्ये पनि धानको पराल त किसानले प्रयोग गरिरहेका छन । तर, धुस्नु त त्यत्तिकै सडेर जान्छ । गहुँको भुस अधिकांश जलाइन्छ । त्यस्तै चिउरा मिलको खरानी अधिकांश फ्यालीने नै हो । गाईभैसीले नखाने घाँसपात गाउँको वरिवरि उब्जिएकै हुन्छ । यस्ता सबै चिजहरू सड्ने गल्ने गर्छ ।

यसबाट हामी धेरै अर्गानिक मल बनाउन सक्छौं । त्यतातर्फ हामीले ध्यान दिएका छैनौं । तर, नेप्लीज फार्मिक इन्स्टिच्युटले यसका लागि नयाँ प्रविधिको विकास गरेको छ । हामीले विस्तारै ठाउँठाउँमा यसलाई फैलाउने काम पनि गरिराखेका छौं । यो गर्न सकियो भने खेतीका लागि धेरै लाभदायक हुन्छ । अहिले प्रयोग गरिरहेको कम्पोष्ट मलमा औषत नाइट्रोजन ०.५ प्रतिशन हुन्छ । त्यसको मतलब १०० के.जी कम्पोष्ट मलमा आँधी केजी पनि नाइट्रोजन छैन । त्यही भएर इन्स्टिच्युटले एउटा प्रविधि तयार गरेको छ । यो प्रविधि लाभदायक जिवाणुहरूको प्रविधि हो । जीवातुबाट बनाइएको कम्पोष्ट मलमा नाइट्रोजन २.५ देखि ४ प्रतिशत सम्म  हुन्छ । ०.५ प्रतिशतको नाइट्रोजनमा पो अर्गानिक तरिकाले खेती गर्न सकिँदैन । कम्पोष्ट मलमा २.५ देखि ४ प्रतिशन नाइट्रोजन भएमा अर्गानिक तरिकाको खेतीमा जान नसक्ने कुरै भएन ।

भनेपछि हामीले अर्गाानिक उत्पादन गर्नु प¥यो हैन त ? अब विषादी बेगर त केही उत्पादन नै गर्न सकिन्न भन्ने बुझाई छ त ?
हो, अब अर्गानिक खेतीको विकल्पै छैन । हामीले जत्तिनै कृषि गरेपनि आजसम्म बजार लक्षित कुनै उत्पादन नै गर्न सकिरहेका छैनौ । अब हामीले हाम्रो उत्पादनलाई विश्व बजारलाई लक्षित गरेर उत्पादन गर्नुपर्छ । विश्व बजारमा यदी हाम्रो उत्पादन लाने हो भने त्यो पूर्णरुपमा विषादी मुक्त प्रांगारिक हुन जरुरी छ । हामी नेपाली किसानहरुले हाम्रो खेती प्रणालीलाई अलिकति मात्र बदल्यौ भने पनि हाम्रो ब्यापार घाटा घटाउने मात्र हैन समग्र अर्थतन्त्रै सुधार गरि आत्मनिर्भर बनाउन सक्छौं । आत्मनिर्भर हुन सकिन र हुनु पर्ने पहिलो कुरा कृषि नै हो । अब कुनैपनि पर्यटक विषादी हालेको खाना खान त नेपाल आउँदैन । हामीले हाम्रो उत्पादन विषादीमुक्त छ भन्ने सन्देश दिन सक्यौ भने मात्र पर्यटकहरु आउँलान र यहाँको उत्पादन खालान् । अब विषादीको प्रयोगबाट अहिले युवा उमेर अर्थात २१, २२ बर्षमै किड्नी फेल हुने, क्यानसर रोग लाग्ने जस्ता अनेकौ समस्या आइरहेका छन् । हाम्रो उत्पादन समेत बदनाम भइरहेको छ । त्यसैले हामी अर्गानिक हुनुको विकल्पै छैन । त्यसका लागि मैलै अघि नै भने नी लागत प्रभावी अर्गाानिक खेती प्रणाली सुरु गर्नुपर्दछ । यो प्रणालीबाट हामीले विषादी र रासायनिक मल प्रयोग नगरीकन त्यो भन्दा बढि उत्पादन लिन सक्छौ । लागत प्रभावित अर्गानिक खेती प्रणाली अपनाउने हो भने  तीन बर्षमै नेपालले कायापलट गर्न सक्छ । एक किसानले ३ रोपनी जग्गाबाट मासिक ३५, ४० हजार रुपैयाँ कमाउन सक्छ । 

माटोको अवस्था पनि त दयनिय होला नी  ? 
माटोको अवस्था एकदमै दयनीय छ । हरेक प्लटको माटोको अनुसन्धान गर्ने अवस्था नेपालमा सम्भव छैन । यसको मतलब माटो जाँच गर्नुहुँदैन भनेको होइन । हरेक प्लटको गर्न सम्भावना छैन । तर, हरेक प्लटको जाँच नगरी रासायनिक मल हाल्नै हुन्न, तर पनि हालिराखिएको छ । यो समस्या समाधान गर्न हामीले जिवातु तयार पारेका हौं । 

बढदो तापक्रम र जलवायू असरले खेतीमा कत्तिको असर पारेको छ ?
असर त पारिहाल्छ नि, नपार्ने कुरा नै छैन । जलवायु परिवर्तनको प्रभाव संसारमा जहाँ पनि पर्छ । जलवायु परिवर्तनले एक त पानी पधेँराका स्रोतहरूमा नराम्रोसँग असर गरेको छ । र, किराहरूमा विष सहन सक्ने क्षमता अत्यधिक बढाइदिएको छ । यदि हामी प्रांगारिक विधिमा जाने हो भने यसलाई न्यूनीकरण गरेर आफ्नो कृषि प्रणाली बलियो बनाउन सक्छौं । खेती प्रांगारिकतातर्फ उन्मुख भयो भने माटोको अर्गानिक कार्बन बढ्छ । यदि माटोको प्रांगारिक पदार्थ १ प्रतिशत बढाइयो भने १ हेक्टर (२० रोपनी जग्गा) मा एक प्रतिशत अर्गानिक म्याटर बढेर ८८ टन कार्बनडाइ अक्साइड ग्याँस अगार्निक रूपमा रूपान्तरण भई माटोमा स्थिरीकरण (Sequestration) हुन्छ । यसो गर्ने हो भने जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ । र, यसको व्यापार पनि गर्न सकिन्छ । र, कार्बन व्यापार पनि गर्न सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आ ब ०६५/०६६ र ०६६/०६७ सालमा काभ्रेमा गरेको परीक्षणमा एक बर्षमै माटोको उर्वरा शक्ति १ प्रतिशत भन्दा बढी दरले बढेको पाइएको थियो । अब नेपालको ३० लाख ९१ हजार हेक्टर जग्गामा यदि जिवातुमा आधारित खेती गरियो र माटोको प्रांगारिक पदार्थ बढेर त्यती धेरै बढ्छ की अहिलेसम्म राज्यले लिइरहेको अन्र्तराष्टिय ऋण र अनुदान भन्दा बढी कार्बन टेड्रबाट आम्दानी हुन सक्छ । हामीले यो अभियानलाइ आफ्नो स्तरबाट फैलाइराखेका छौं । सम्बन्धित सरोकारवालाको आँखा पुगिदियो भने छिटो फैलिन्छ कि भन्ने विश्वास हो ।

कृषि प्रणालीमा प्रविधिको प्रयोग कत्तिको भइरहेको छ ? 
अब प्रविधि केलाई भन्ने होला । हलोको ठाउँमा ट्याक्टरको प्रयोग बढेको छ । त्यो राम्रो हो । तर व्यवस्थापन दिगो भएन । यदि हाम्रो कृषि प्रणाली यस्तै रहिरह्यो भने हामी नाजुक अवस्थामा पूग्छौ । सबै चिज हामी बाहिरबाट ल्याएर खाने अवस्थामा पुग्छौ ।  हाम्रो खेत बाँझो हुनेछ । त्यसैले वातावरण मैत्री किसिमबाट दिगो व्यवस्थापनमा लाग्नुपर्छ । प्रविधि नभएर दुःख पाउनु बेग्लै कुरा हो । तर, भएका प्रविधिको पनि उचित ढंगले प्रयोग हुन नसक्नु झन दुखको कुरा हो ।

सिंचाईको समेत समस्या छ नी,  हैन ? 
यसको लागि पनि हामीले आफ्नै टेक्नोलोजी विकास गर्नुपर्छ । त्यो प्रविधि भनेको डाँडाको पानी जोगाउने प्रविधि हो । ठूलाठूला डाँडामा बर्षामा परेको पानी जोगाउनु पर्दछ । यदी त्यसो गर्नसकेको खण्डमा अहिले जतिपनि नेपालका नांगा डाँडा छन्, ती हरियाली हुन्छन् । कुनै वीउ लगाउनु पर्दैन । प्रकृतिले आफै विउ छरिदिन्छ । बर्षाको पानी माथि डाँडामा जम्मा हुन्छ र विस्तारै जमिनमा जान्छ । सधै चिस्यान पुग्छ । हामीले हाम्रो आफ्नै प्रविधि हरेक क्षेत्रमा ल्याउन पर्दछ,  अनि मात्र हामीले चाहेको कृषि क्रान्ति संभव छ । 

यस्तो प्रविधिको विकास गर्नुभयो, कत्तिको सहयोग पाउनु भएको छ ? 
धेरै ठाउँबाट राम्रो रेस्पोन्स आइरहेको छ । किसानहरुले पनि विस्तारै यो प्रविधि अपनाउँदै जानुभएको छ । देशका विभिन्न ठाउँमा हामीले यो प्रविधि सिकाइरहेका छौं । विशेष गरी खाडी देशहरुमा नेपालमा अर्गानिक खेती गरिन्छ, तिमीहरुलाई कुन कुन उत्पादन चाहियो, त्यो पूर्णरुपमा नेपालमा उत्पादन हुन्छ र पुराका पुर अर्गानिक हुन्छ भनेर भनिरहेका छौं । उनीहरुलाई तिमीहरुले पुरै उत्पादन प्रणाली नै हेर्न सक्छौ भनेर कुरा भइरहेको छ । उनीहरु पोजेटिभ छन् । त्यसैले हामीलाई विस्तारै सबै तिरबाट आर्कषण बढ्दै गइरहेको पाइरहेका छौ । 

अन्त्यमा के भन्नुहुन्छ ?
मुलुक राजनीतिक परिर्वतनसँगै नयाँ बाटोबाट हिडिरहेको छ । अहिले स्थायी सरकार पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै पालाबाट प्रधानमन्त्री आधुनिक कृषि परियोजना जस्तो महत्वपूर्ण परियोजना पनि सुरु भइरहेको छ । म भन्न चाहान्छु कि हामीले उत्पादन मात्र गराउने हैन । हामीले जे फलाउँछौ, त्यो स्वच्छ र विषादीरहित् हुनप¥यो । उत्पादन त गर्ने तर त्यो अस्वस्थ र विषादीयुक्त भयो भने भोली बजार नपाएर किसानहरु रुनु पर्ने दिन आउँछ । त्यसैले जे फलाएपनि, चाँहे तरकारी, अन्न, फलफुल वा जडीबुटी जे फलाएपनि, अर्गानिक फलाउँन लागौं । हामीसँग प्रविधि छ । हामीसँग अनुभव छ । त्यो अनुभव र प्रविधिबाट हामीले हाम्रो कृषिलाई सुधार गर्न सक्छौ, आत्मनिर्भर गर्न सक्छौ । सबैले दिगो समाधानको बाटो समात्यौ भने हामी कृषिमा कहिल्यै पछाडि फर्कनु पर्दैन । विश्वमा नभएको हावापानी सबै नेपालमा छ । त्यसैले यहाँ धेरै संभावना छ । तर हामी सबैले बजारको ख्याल गरेर अर्गानिक खेतीतर्फ लागौं भन्न चाहान्छु । अर्बौको मल, विउँ र विषादी आयात गर्न छोड्यौ भने हामीले एकातिर बार्षिक अर्बौको रकम समेत बचाउने छौ । साथसाथै हाम्रो उत्पादन पनि स्वच्छ, सफा र धेरै उत्पादन गर्न सक्छौ । कसैलाई केही सहयोग चाहियो भने हामी र हाम्रो संस्था सहयोग गर्न सधै तत्पर रहेको छ । 

जीवातु भनेको एक प्रकारको झोल मल हो । जीवातु प्रयोग भएको पाँच मिनेटमा नै फोहोरको दुर्गन्ध नियन्त्रण गर्छ र त्यस्तो फोहोरलाई सडाएर गड्यौले मल (भर्मीकम्पोष्ट) भन्दा पनि राम्रो मल बनाउन सकिन्छ । जीवातुले फोहोरमा भन्कने झिँगा हट्नेमात्र नभई दूषित फोहोरबाट निस्कने गन्ध समेत हटाउँछ ।  नेपालमा पाइने प्राकृतिक लाभदायक जीवाणुहरुलाई संकलन गरेर एउटै बोतलमा तरल रुपमा राखिएको बस्तु जीवातु हो । 

अहिलेको रासायनिक प्रविधि र अर्गानिक भनिएको खेती प्रणालीबाट किसानको आम्दानी दोब्बर बनाउने सरकारी लक्ष्य पूरा हुनै सक्दैन । भारतमा त्यही अभ्यास असफल भएका कारण अहिले ठूलो संख्यामा किसानहरु अत्महत्याको बाटो रोज्न बाध्य भइरहेको हामीले देखेकैं छौं ।