नेपालका ७ प्रदेशमध्येको एक गण्डकी प्रदेशको सीमा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वमा वागमती प्रदेश, पश्चिममा प्रदेश नं. ५ र दक्षिणमा भारतको उत्तर प्रदेशसँग जोडिएको छ । चौथो ठूलो प्रदेशको रूपमा रहेको यो प्रदेश मुलुकको मध्यक्षेत्रमा अवस्थित छ । शुरुमा प्रदेश नं.४ को रूपमा रहेको यसलाई यसैको प्रदेश सभा बैठकले गण्डकी प्रदेश भनी नामकरण गरेको हो । यस प्रदेशको नाम हाम्रो देशको प्रसिद्ध नदी गण्डकीको नामबाट रहन गएकोमा सबैले गर्व गर्ने अवस्था रहेको छ । ऐतिहासिक हिन्दु सभ्यतासँग जोडिएको गण्डकी नदीको नाम संस्कृत साहित्यको प्रसिद्ध ग्रन्थ महाभारतमा उल्लेख छ भने यसै क्षेत्रमा बसेर ऋषि बाल्मिकीले रामायणको रचना गरेका थिए भन्ने भनाई समेत रहेको छ । 

सहिष्णु साँस्कृतिक विरासतको धनी यस प्रदेशमा दश वर्ष पहिलेको जनगणनाका अनुसार ८८ वटा भाषाहरू बोलिन्छन् भने नेपाली, मगर, थारु, गुरुङ्ग, कुमाल, दराई, घले आदि प्रमुख रूपमा प्रचलनमा रहेका भाषाहरू हुन् । सबैभन्दा बढि बोलिने नेपाली भाषा हो भने दोस्रो मगर र तेस्रोमा गुरुङ्ग भाषा प्रयोगमा छ ।  हिमाल, पहाड र तराई तीनै धरातलीय स्वरूपलाई समेटेर बनेको यो प्रदेश प्राकृतिक सम्पदाले युक्त छ । सबैभन्दा बढि पहाडी क्षेत्र, त्यसपछि हिमाली भेग र थोरै समथर भूभाग यसको विशेषता हो । तराईको फाँटमा ६ प्रतिशत मात्र बसोबास रहेको छ । एघार जिल्लाहरू बागलुङ्ग, गोरखा, कास्की, लमजुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, नवलपुर, पर्वत, स्याङ्गजा र तनहुँ ११ जिल्लालाई समेटेको यस प्रदेशको प्राकृतिक सुन्दरता र साँस्कृतिक छटाले सबैलाई लोभ्याउने गरेको छ । राजनीतिक प्रशासनिक दृष्टिले प्रदेश सभामा ३६ स्थान र प्रतिनिधि सभामा १८ स्थान यस प्रदेशमा छन् । १ महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँ पालिका गरी ८५ स्थानीय तहलाई समेटेको यस प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । 

विश्वकै प्रसिद्ध हिमचुचुराहरू अन्नपूर्ण, धौलागिरि र माछापुच्छ«ेलाई अँगालेको यस प्रदेशले पर्यटकहरूलाई दिलैदेखि आकर्षित गर्ने गरेको छ । संसारको सबैभन्दा गहिरो गल्छी अन्ध गल्छी म्याग्दी जिल्लामा पर्दछ । यसरी विभिन्न कोणबाट विश्वमा यस प्रदेशको नाम अमिट रूपले लेखिएको छ । विभिन्न क्षेत्रमा अग्रता कायम गर्दै भविष्यमा संसारमै प्रसिद्धि कमाउनेमा विश्वस्त हुने धेरै आधारहरू यस प्रदेशका अद्वितीय सम्पदाहरूले प्रदान गरेका छन् । यी प्राकृतिक वरदानहरूको दिगो दोहन गर्दै अघि बढ्नु प्रदेश सरकार तथा स्थानीय तहको दायित्व हो । 

गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य भएको कास्की जिल्लाको पुरानो र ऐतिहासिक शहर हो । पोखरा र पर्यटन पर्याय जस्तै बनेका छन् । धेरै विदेशी पर्यटकहरू हिमश्रृंखला र तालहरू अवलोकन गर्दै  र यस वरीपरिको भूभागमा घुमफिर गर्दै आनन्द लिन्छन् । त्यसो त पोखरा बोटिङ्ग, ¥याफटिङ्ग, क्यानोइङ्ग, बञ्जी जम्पीङ्ग आदिमा पनि प्रख्यात नै छ । माछापुच्छ«े पसिद्ध हिमश्रृखला हो जसको छायाँ फेवा तालमा देखिन्छ । फेवा तालमा देखिने माछापुच्छ«ेको छायाको सौन्दर्यको विषयलाई लिएर हृदयस्पर्सी गीतहरू सिर्जना भएका छन्, उपन्यास र कथा रचिएका छन् भने कविताहरू प्रष्फुटित भएका छन् । यी साहित्यहरूले पोखरा र समग्रमा यस प्रदेशका धरोहरहरूलाई थप उजिल्याएका छन् । गुफा, सेती नदी, पाताले छाँगोको अवलोकन गरेर यहाँको प्राकृतिक बनोटका बारेमा जिज्ञासा र उत्सुकता नजाग्ने मान्छे सायदै भेटिएला ! अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय स्वदेशी तथा विदेशी पर्यटकहरूको गन्तव्यमा पर्नेमध्येको स्थल हो । मूलतः हिमाल आरोहण र जातीय संस्कृति झल्याउने यो संग्रहालय साँच्चै जीवन्त छ ।   

कालीगण्डकी, बुढीगण्डकी, मस्र्याङ्गदी, मोदी, मादी, दरौँदी, आँधीखोला, बढीगाड, उत्तरगंगाजस्ता ठूला नदीहरूसहित फेवाताल, बेगनासताल, रूपाताल, तिलिचो ताल, दामोदर कुण्ड, खयरबराह ताल, तातोपानी दहले प्राकृतिक सुन्दरतालाई मात्र बढाएका छैनन् जलसम्पदामा यो प्रदेश कति सम्पन्न रहेछ भन्ने सजिलै लख काट्ने अवसर जुटाएका छन् । युरेनीयम, फलाम, खरीपाउडर, चुनढुङ्गा, नुन आदि खानी तथा खनिज पदार्थ यहाँ रहेको अध्ययनले देखाएकाले आर्थिक विकासमा यसको सदुपयोग हुने ठूलो संभावना रहेको छ । 

७०.९ प्रतिशत साक्षरता रहेको यस प्रदेशमा अझैपनि १४.१९ प्रतिशत गरिबीको रेखामुनीको जनसंख्या रहेको छ । ९१.५८ प्रतिशत घरधुरीमा खानेपानी सेवाको पहुँच पुगेको छ भने सतप्रतिशत सौचालय पुगेको आँकलन छ । पचास प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको छ । गण्डकी र मणिपाल मेडिकल कलेज रहेकाले यस क्षेत्रको स्वास्थ्य प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने संभावना रहेको छ । पोखरा विश्वविद्यालय सञ्चालित छ भने गण्डकी विश्वविद्यालयको स्थापना भएर त्यसको पठनपाठन अघि बढाउने योजना बनिरहेको छ । 

प्रमुख खाद्यान्न बालीमा धान, गहुँ, मकै, कोदो, फापर जौ उत्पादन हुन्छ । खाद्यान्न र आलुमा बाहेक अन्यमा यो प्रदेश कमजोर रहेको छ । फलफूलका लागि प्रशोधन उद्योग र जडीबूटी उद्योगको ठूलो संभावना रहेको छ । दुःखको विषय के छ भने ७२ प्रतिशतभन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध भएपनि कृषिको आधुनिकीकरण र व्यावसायीकरण हुन नसक्दा अझैसम्म पनि यो प्रदेश खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन ।

नेपालमा स्थापना भएका औद्योगिक क्षेत्रमध्ये पोखरा औद्योगिक क्षेत्र यहाँ छ, त्यसैले यसको विस्तार एवं सुदृढीकरण गर्नसके औद्यागीकरण प्रक्रियाले गति लिन सक्नेमा आशावादी हुन सकिन्छ । हिमाली जिल्लामा रहेको अन्तर्राष्ट्रिय जगतमै प्रसिद्ध मुक्तिनाथ मन्दिरदेखि तराईको देवघाट एवं त्रिवेणी धाम यस प्रदेशका प्रसिद्ध साँस्कृतिक धरोहरहरू हुन् । पोखराका विन्ध्यवासीनी तथा तालबाराही प्रसिद्ध धार्मिक स्थलहरू हुन् । मुलुकमा भएका मन्दिरहरूमध्ये पहिलोपटक विन्ध्यवासीनीमा लिफ्टको व्यवस्था गरेर धार्मिक क्षेत्रमा आधुनिक प्रविधि उपयोग गरी जेष्ठ नागरिक र असक्तलाई मन्दिर दर्शन तथा अवलोकन गर्ने अवसर जुटाइएको छ ।
 
अन्तर्राष्ट्रिय सीधा हवाइ सम्पर्क हुन नसेकेको र चीनसँगको कोरोला नाका पहुँचको मार्ग पनि सुदृढ हुन नसकेका कारण अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा भने यहाँ समस्या छ । तर पोखरासहित जिल्ला सदरमुकाम र शहरदेखि ग्रामीण इलाकासम्म बजारहरू भएकाले त्यसको किकासका लागि ठूलो संभावना रहेको छ । 

यो प्रदेश पर्यटनको प्रमुख केन्द्रको रूपमा विकास गर्न सकिने ठूलो संभावना रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न तालतलैयाहरू, ग्रामीण पर्यटन केन्द्र, होमस्टे, आकर्षक पदयात्रा मार्ग यसका विशेषताहरू हुन् । विभिन्न किसिमको पर्यटकीय भ्रमण, शैक्षिक भ्रमण आदिको समग्र प्याकेज बनाउन सके यस क्षेत्रको पर्यटन प्रवद्र्धनले काँचुली फेर्ने ठूलो संभावना छ ।  

विकासका पूर्वाधारको चर्चा गर्ने हो भने एघार वटै जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको भएपनि मनाङ्ग र मुस्ताङ्ग जिल्लामा कालोपत्रे र ग्राभेल सडक पुगेको छैन । म्याग्दी जिल्ला सदरमुकाम सम्म ग्राभेल सडक पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको कालीगण्डकी करीडोर नवलपरासीको गैँडाकोटदेखि पाल्पाको बाकामलाङ्ग खण्ड, गुल्मीको पालुङ्गखोलादेखि बागलुङ्ग पर्वत, म्याग्दी हुँदै मुस्ताङ्ग जिल्लाको कोरला नाका पुगेर चीनको तिब्बतसम्म जोडिन पुगेको छ । समयमै यसको स्तरोन्नति र सुदृढीकरणमा ध्यान पु¥याउनु पर्दछ । पोखरा विमानस्थल सबैभन्दा ठूलो विमानस्थलको रूपमा रहेको छ भने पोखरा लेखनाथमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको छ । गोरखा र बागलुङ्गका विमानस्थहरू चालु अवस्थामा छैनन् । डेढ दर्जन बढि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । 

पहिले व्यापारिक केन्द्रको रूपमा रहेको हाल एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा विकसित भएको तनहुँ जिल्लाको बन्दीपुरको ऐतिहासिक महत्व छ । नेपालको एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले काठमाडौँमा विजय हासिल गरेपछि भक्तपुरका नेवार समुदायले व्यापार गर्ने एउटा महत्वपूर्ण थलोको रूपमा बन्दीपुर विकास भयो । औलो मुक्त यो क्षेत्रको लाभ उठाउँदै भारत तिब्बत चीन व्यापारको एउटा महत्वपूर्ण विन्दुको रूपमा बन्दीपुर स्थापित भएको थियो । त्यसबाट विकसित भएको साँस्कृतिक सम्पदाको प्रतिविम्ब अहिले पनि बन्दीपुरमा देख्न सकिन्छ । स्वदेशकै सामाजिक संघसंस्था एवं विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको मैत्रीपूर्ण सहयोगमा बन्दीपुरमा पर्यटन प्रवद्र्धनका लागि पहलहरू भइरहेका छन् । यस रमणीय साँस्कृतिक पुरातात्विक पर्यटकीय स्थलको दिगो संरक्षण तथा सम्बद्र्धन गर्न लागिपर्नु सबैको दायित्व हो । 

यस प्रदेशमा वागमती प्रदेशको चितवन जिल्लासमेत समेट्दै गोरखाको मनकामना मन्दिर गन्तव्य तय गरेर नेपालको पहिलो मनकामना केवल कारले धार्मिक साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि निकै ठूलो भूमिका निर्वाह गरिरहेको छ । वास्तवमा मनकामना मन्दिरको ऐतिहासिक महत्वलाई उजिल्याउन र केबल कारको संभावना नेपालमा छ भन्ने दर्शाउन यसले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । यसको अनुशरण गर्दै हाल देशका विभिन्न भागमा केवल कारको विस्तार भइरहेको पाइन्छ ।  

पृथ्वीनारायण शाहको जन्मस्थान गोरखा जिल्ला राजनीतिक साँस्कृतिक पुरातात्विक ऐतिहासिक दृष्टिले पर्यटकीय गन्तव्यको केन्द्र नै बन्न सक्छ । उनी जन्मेको दरबार आज पनि संरक्षित नै रहेको छ । २०७२ सालमा नेपालमा गएको विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाक र लाप्राक पनि भूगर्भ सम्बन्धी खोज तथा अनुसन्धान स्थल बन्न सक्ने अवस्थामा रहेको छ । यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरे, आदिकवि भानुभक्त आचार्य, प्रसिद्ध साहित्यकार लेखनाथ पौडेलको जन्मस्थल यो गौरवशाली प्रदेशले साहित्यिक साँस्कृतिक पर्यटनको ठूलो संभावना बोकेको छ । यसको व्यवस्थित खाका बनाएर कार्यान्वयन तहमा जान मुर्धन्य विद्वत वर्गसँग अन्तरक्रिया गर्न आवश्यक छ । 

जमिन, जल र जंगल यस प्रदेशका अमूल्य निधिहरू हुन् । मानव जीवन र समग्र पारिस्थितिकीय प्रणालीलाई स्वच्छ र स्वस्थ्य राख्न यी प्रकृति प्रदत्त सम्पदाको दिगो उपयोग गर्नु पर्दछ । यस प्रदेशमा रहेका जल तथा सुन्दर हिमश्रृंखलाबाट अधिक लाभ लिन पर्यटन प्रवद्र्धनको विस्तृत र समग्र खाका बनाउनु पर्ने आवश्यकता छ । प्रदेश सरकार र स्थानिय तहको बलियो र जीवन्त समन्वयमा स्रोतको सदुपयोग गर्न यहाँको आवश्यकतालाई हेरेर विद्यालय तहदेखि उच्च तहसम्मको शैक्षिक पाठ्यक्रम मार्फत शिक्षा दिक्षा दिनुपर्ने खाँचो रहेको छ । अझ प्रौधिगिक र व्यावसायिक शिक्षामा जोड दिनु पर्दछ । यसबाट स्थानीय मानव संशाधन प्रदेशमै खपत हुन्छ र निम्नस्तरको रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता हुँदैन । होम स्टेको अवधारणालाई कार्यान्वयनमा अग्रणी कहलिएको यो क्षेत्रले सिङ्गो मुलुककै स्थानीय तहमा आयआर्जनको यस नविन व्यवसायलाई सुदृढ तुल्याउन योगदान गर्न सक्नेछ ।

लमजुङ्गको घले गाउँमा सार्क ग्रामीण पर्यटन संग्रहालय नै स्थापना भएको छ । स्याङ्गजाको शीरुवारीको गुरुङ्ग वस्तीमा रहेको होम स्टे प्रख्यात पर्यटकीय गन्तव्यमा पर्दछ । विश्वभरी थकाली खानाका रुपमा विस्तारित भइरहेको यस क्षेत्रको परम्परागत स्वादिष्ट र स्वस्थ्य खाना तथा खाद्य संस्कृतिलाई जोगाइरहेको मुस्ताङ्ग, म्याग्दी र मनाङ्गका थकाली समुदायको व्यवसायलाई प्रवद्र्धन गर्न यहाँ खाद्य संग्रहालयको स्थापना तथा विकासमा ध्यान दिनु पर्दछ । यो क्षेत्र पर्यटनको अब्बल गन्तव्य भएकाले पर्यटन विश्वविद्यालय स्थापना गरि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न अब ढिला गर्नु हुँदैन । 

यस प्रदेशमा ठूलो संख्यामा विविन्न देशमा सुरक्षा निकायमा संलग्न भई फर्केको मानव जनशक्ति यहाँ रहेको परिवेशमा उनीहहरूले आर्जन गरेको ज्ञान, सीप तथा योगदानलाई स्वदेशकै सेवामा लगाउन ठोस योजना बनाउनु पर्दछ । सामाजिक विकृति एवं विसंगतिलाई जरैदेखि उखेलेर सभ्य र सुसंस्कृत समाज निर्माणका लागि चाँडै शतप्रतिशत साक्षरता भएको प्रदेश बनाउँदै यहाँका सामुदायिक तथा निजी शिक्षण संस्थाहरूमा भौतिक शैक्षिक पूर्वाधार विकास सहित गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्नुपर्दछ । 

हिमाली तथा पहाडी क्षेत्र अधिक रहेको यस क्षेत्रमा सुरक्षित तथा भरपर्दो हवाई सेवाको विकास गर्न सके पर्यटन व्यवसाय फष्टाउने निश्चित छ । पर्यटन मैत्री सडक तथा हवाई यातायता सेवा, अतिथि गृह, रेष्टुरेण्ट, स्वस्थ्य मनोरञ्ज स्थल तथा साहसी पर्यटन पूर्वाधारको व्यवस्था गर्नुपर्दछ । पोखरासँग अरु प्रदेश तथा स्वदेशकै अरु ठूला शहरहरूसँगको सीधा हवाई सम्पर्कमा जोड दिन सके आम नागरिकलाई पर्यटनको महत्व बुझाउँदै मुलुककै अर्थतन्त्र चलायनमान बनाउन मद्दत पुग्नेछ । 

कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण अपरिहार्य छ । कृषि उद्योगको विकास गर्दै औद्योगिकीरण प्रक्रियालाई जोड दिएर औद्योगिक उत्पादनमा क्रमशः आत्मनिर्भर प्रदेश बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनु पर्दछ । पालिकाहरू आफ्नो गाउँ तथा शहरहको विकासका लागि जिम्मेवार छन् भन्ने कुरा आत्मसात गर्दै स्थानीय तहले कम्तिमा एकजना चिकित्सक, एकजना इन्जिनियर र एकजना कानून व्यवसायी नियुक्त गर्नु पर्दछ । कृषि अनुसन्धान केन्द्र लुम्लेलाई थप अध्ययन अनुसन्धानका क्षेत्रमा लगाउँदै जिल्ला कृषि ज्ञान केन्द्रको भूमिकालाई प्रभावकारी तुल्याउनु पर्दछ । कृषि सिँचाइ प्रणाली सुदृढ तुल्याउनु पर्दछ भने धेरै वर्षा हुने पोखराको वर्षाको पानी खेर जान नदिने वाटर हार्भेष्टिङ्ग प्रक्रिया विकास गर्न ध्यान दिनुपर्दछ । 

आर्थिक विकासको अपार संभावना बोकेको यस प्रदेशको समृद्धिमा विभिन्न किसिमका अस्थायी तगाराहरू नभएका भने होइनन् । भौगोलिक विकटता प्रशस्त हुनु, चीनसँगको कोरोला नाका व्यवस्थित हुन नसक्नु, कृषियोग्य जमिन बाँझिँदै जानु, आर्थिक हिसाबले सक्रिय जनसंख्या विदेशिँदै जानु, कमजोर भौतिक पूर्वाधार हुनु, गाउँबाट शहरमा अत्याधिक बसाई सराई हुनु, वातावरण प्रदुषण बढ्दै जानु, परामुखापेक्षी भावना हुनु जस्ता यस प्रदेशको आर्थिक उन्नयनका प्रमुख चुनौतीहरू हुन् । 

सुव्यवस्थित योजनासहित जाँगरले सिर्जनात्मक र व्यावहारिक रूप लिनसके निकट भविष्यमा नै यो प्रदेशले विकासका क्षेत्रमा काँचुली फेर्ने संभावनालाई कसैले रोक्न सक्दैन । सडक पूर्वाधारको विकास गर्दै जिल्ला सदरमुकाम र प्रदेश राजधानी तथा स्थानीय तह र जिल्ला सदरमुकाम बिचको आवतजावतलाई सुदृढ तुल्याउनु पर्दछ । जलस्रोतका रूपमा खानेपानीका मूल, नदी र तालतलैया हुनु, हिमनदीमा आधारित सुदृढ नदी प्रणाली हुनु, प्राकृतिक मनोरम दृष्यका कारण पर्यटनको ठूलो संभावना हुनु, वनजंगल र दुर्लभ वनस्पति क्षेत्र हुनु, साँस्कृतिक विविधतायुक्त समुदायको बसोबास हुनु, नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष हुनु, फलफूल तथा जडीबुटीको ठूलो संभावना हुनु, नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुवारी, घलेगाउँ लगायत अन्य धेरै पर्यटकीय गाउँ हुनु समृद्धिका आधारहरू हुन् । नेपालका ठूलो जनसंख्यासहित विकासको गतिलाई तीब्रता दिइरहेका छिमकी भारत तथा चीनसँग यस प्रदेशको सीमा जोडिएकाले अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको पनि ठूलो संभावना बोेकेर यो प्रदेश उभिएको छ ।
 
राज्यको पुनःसंरचनासहित मुलुक संघात्मक ढाँचामा गएको वर्तमान परिवेशमा प्रदेशको विकासका लागि प्रदेश सरकार तथा स्थानीय तहको अहं भूमिका हुन्छ । यस वास्तविकतालाई आत्मसात गर्दै सुशासन र पारदर्शितलाई थप सुदृढ तुल्याउँदै विकासको दिशामा स्थानीय जनसमुदाय, यस क्षेत्रबाट स्वदेश तथा विदेशमा बसोवास गरिरहेका मनकारी र मेहनती नागरिकहरुको साथ तथा सहयोग जुटाउन लाग्नु जनप्रतिनिधिको दायित्व हो । यसो गर्न सक्दा गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन मार्फत समृद्ध प्रदेशमा रुपान्तरण हुनेमा कुनै शका गर्ने ठाउँ हुँदैन ।