काठमाडौँ, २३ असार - मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौँ जिल्ला कमिटीले आठाँै राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ ।

नयाँ सडकको विशाल बजारमा रहेको सासा बैंक्युटमा आयोजित कार्यक्रममा विभिन्न छ खेलमा स्वर्ण जितेका १३ खेलाडीलाई सम्मान गरिएको हो । फेन्सिङका चार, शारीरिक सुगठन र सफ्ट टेनिसका तीन÷तीन तथा आइटीएफ तेक्वान्दो, एथलेटिक्स र बक्सिङका एक÷एक सम्मानित भएका हुन् । फेन्सिङका अमित भण्डारी, ओमकार सिंह, पायस योञ्जन र सन्तोष थापा मगर, शारीरिक सुगठनका अनिललाल श्रेष्ठ, नरेश मालाकार र आवाज प्याकुरेल तथा सफ्ट टेनिसका चन्द्रमाया राई, सुनिरा थापा र निर्मल स्थापित सम्मानित भएका हुन् ।

सम्मानित हुने अन्य खेलाडीमा आइटीएफ तेक्वान्दोका अनिल तामाङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र बक्सिङकी सुष्मा तामाङ छन् । सो अवसरमा आइटिएफका प्रशिक्षक कृष्ण राजथला, फेन्सिङका प्रेमबहादुर पुलामी, शारीरिक सुगठनका ज्ञानेन्द्र नकर्मी, सफ्ट टेनिसकी नीरा कायस्थ, एथलेटिक्सकी विमला जोशी र बक्सिङका प्रशिक्षक राज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । उहाँहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, सचिव ओमकृष्ण प्रसाईंलगायतले सम्मान गर्नुभएको हो ।

रासस