काठमाडौँ, २८ पुस– आफ्ना दुवै नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन सर्वाेच्च अदालतले आदेश दिएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वाेच्च अदालतमा उपस्थित भएनन् । प्रधानन्यायाधीश पराजुलीको उमेर र शैक्षिक योग्यता लगायतका कागजात छानविनको घेरामा परेपछि उनी सर्वाेच्चका कामबाट बाहिरिनु पर्ने विभिन्न पक्षले माग राख्दै आएका छन् । 

पराजुली विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीले पनि मुद्दाको अन्तिम किनारा नलागेसम्म पराजुलीले राजीनामा दिनुपर्ने भन्दै अनसन जारी राखेका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुवै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगाएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतमा उपस्थित नभएका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग डा. गोविन्द केसीको छ ।

प्रधानन्यायाधीश पराजुली काम विशेषले काठमाडौँबाहिर गएको बताइएको छ। सोमबार अदालतले आदेश दिइसकेपछि अदालत खुलेको पहिलो दिन नै उनी अदालतमा अनुपस्थित रहेका हुन्।