मध्यपुर थिमि, २१ मङ्सिर -  ऐतिहासिक सम्पदा दिगुबहाः (गुणकिर्ति महाविहार) पुनःनिर्माणको शिलान्यास मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले गर्नुभएको छ ।

वडा नं ५ का अध्यक्ष अमृतमान श्रेष्ठ तथा न.स.स. बालकृष्ण श्रेष्ठको आतिथ्यतामा उपभोक्ता समिति, सरोकारवालाहरुको उपस्थिति तथा उपभोक्ता समितिका अध्यक्ष भरत बज्राचार्यको सभापतित्वमा उक्त शिलान्यास कार्यक्रममा गरेको छ । गुणकिर्ति महाविहारको पुनःनिर्माणका लागि मध्यपुर थिमि नगरपालिकाले रु. ७५ लाख बजेट बिनियोजन गरेको छ ।

मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले सयौं वर्ष पुराना यस्ता सम्पदाहरु हामीले पनि सयौं वर्ष टिक्ने गरि मजबुत तरिकाले बनाउनु पर्ने तथा सम्पदाको संरक्षण गर्नका निमित्त नगरपालिका अगाडि बढी रहको कुरा बताउनु भएको छ। 

उक्त बहाः कहिले निर्माण गरिएको भन्ने यकिन प्रमाण नभए पनि गुरु पदमसम्भवको मुर्ति यस परिसर भित्र रहेको तथ्यले यो बहाः लिच्छवीकालीन हुन सक्ने देखिन्छ । गुरु पदमसम्भव ई.सं. ७४३ देखि ७४७ सम्म उपत्यकामा बसेका थिए उनी उपत्यकामा रहेको बेलामा थिमिमा पनि नबसेको भए उनको त्यहां मुर्ति संस्थापन हुनुपर्ने कारण देखिन्न यो कुरा निश्चित सिद्घ तथ्य हो भनि इतिहासविद हेमराज शाक्यले उल्लेख गर्नुभएको भन्ने कुरा इतिहासविद भुवनलाल प्रधानले आफनो “थिमि” शिर्षकको लेख ल्यायम्ह पुचःद्वारा प्रकाशित “मध्यपुर थिमि म्हसिका” पुस्तकमा उल्लेख गर्नुभएको छ ।

यस बिहारमा गुँलापर्वमा प्रदर्शन गरिने २ वटा सुवर्णरुपी दिपंकरका प्रतिमुर्ति मध्य ठुलो दिपंकर ने.सं. ६८४ तथा सानो दिपंकर ने.सं. ६८९ मा निर्माण गरिएको भनि दिपंकरको हातमा कुंदिएको तथ्यका आधारमा यो बिहार ने.सं. ६८४ अगावै निर्माण भइसकेको अनुमान गर्न सकिन्छ साथै यस बिहारमा रहेको शिलालेखका अनुसार ने.स.८०८ मा दण्डपानी बज्राचार्यले बिहार जिर्णेाद्वार गर्नुभएको उल्लेख छ ।

दण्डपानी बज्राचार्यको सालिक, लिच्छिवीकालिन अशोक चैत्य र गुरु पदमसम्भवको मुर्ति उक्त विहार भित्र रहनुले विहार अति नै पुरानो सम्पदा रहेको सहजै अनुमान गर्न सकिन्छ ।