रुकुम, २८ जेठ – रुकुम पूर्व भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल दौड हुने भएको छ । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर शसस्त्र द्धन्द्धको बेला गुरिल्ला हिँडेको बाटोमा खेलाडीलाई दौडाउन लागिएको हो ।

भूमे गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको गुरिल्ला टे«ल दौड पर्यटनको प्रवद्र्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला ट्रेल दौड आयोजना गरेको हो । 

१२ वर्षे सशस्त्र युद्धका क्रममा लडाकुहरू हिँडेको बाटैबाटो दौडाइने र युद्ध पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार गर्ने अर्को उद्देश्य पनि राखिएको उनले बताए । दौड प्रतियोगीता असार २ गते गरिनछ भने ५२ किलोमिटर लामो हुनेछ । भूमे गाउँपालिका–६ को महतबाट सुरु हुने दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिनेछ । एउटै रुट र उही दूरीमा महिला र पुरुषका छुट्टाछुट्टै दौड प्रतियोगिता गरिनेछ । पुरस्कार राशी महिला पुरुष समान रहेको छ । जसका क्रमशः पहिलो, द्वितीय र तृतीय हुनेले ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैको साथै ट्रफी, मेडल र सम्पूर्ण सहभागिलाई प्रमाण पत्र प्रदान गरिने बताइएको छ । 

अघिल्लो वर्षमा आयोजना गरिएको २७ किलोमिटर दौड हो । यसको प्रवद्र्धनमा म्याराथन विश्व अल्ट्रा धाविक मीरा राई आउने बताईएको छ । तत्कालिन माओवादीले सशस्त्र युद्वमा ‘गुरिल्ला’ लडाकु हिँडेको रोल्पा, रूकुम, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई केही वर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमार्ग’ को रूपमा घोषणा गरेको छ । गाउँपालिकाले गुरिल्ला पदर्माग समेत निर्माण कार्य गरिराखेको छ ।