पण्डित. बालमुकुन्द देवकोटा
काठमाडौं, २२ कार्तिक–
आज कार्तिक शुक्लपक्ष हरिबोधनी एकादशी तिथि मध्यान्ह १२ः१८ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी साथै तुलसीको विवाह र भिष्मपञ्चकारम्भ हुने भएकोले हरिबोधिनी एकादशीको व्रत बस्दा  कसको पूजा गर्ने, कसरी गर्न, के फल प्राप्त हुन्छ ? बुझ्नु पर्दछ ।

तावद्गर्जन्ति तिर्थानी ह्यासमुद्रं सरांसि च।
यावत् प्रबोधिनी विष्णोस्तिथिर्नाककयाति कार्त्तिकी।।

अर्थात् समुद्रसम्मका सारा तिर्थहरु र पुण्यदायी तलाउहरु तबसम्म गर्जनछन् ,जबसम्म कार्तिकमा बिष्णु जागाहुने उहाँको तिथि हरिबोधनी एकादशी आउँदैन। व्रत भनेको व्रीयते ,स्विकृयते जनै स्यत् तत् व्रतम् अर्थात् जसलाई भित्री हृदयदेखि नै लिइन्छ वा स्वीकार गरिन्छ त्यो नै व्रत हो। त्यसैले यस्तो व्रतको दिन भरसक खानुहुँदैन। न भोक्तव्यं न भोक्तव्यं हरेर्दिने । हरेर्दिने अर्थात् हरिको दिनमा नखाउ नखाउ भनेको छ। सकिन्छ नखानी ,सकिंदैन एक छाक खाएर व्रत बस्ने गर्नुपर्दछ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ ।

१. स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन्, गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

२.कूर्मपुराणको मत
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

३. श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको आदेश छ ।
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तप अंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ। एकादशी व्रतको प्रारम्भ कसरी भयो ? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो। कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ। यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ। 

एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन ‘हे नाथ, अब हजुर दिनरात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ,करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ। अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस्। यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु। लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो,‘देवी तिमीले ठीक भन्यौ। म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ। तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुदैँन। त्यसैले, तिम्रो कथनानुसार आजदेखि म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु। त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ। मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ। यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ। यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु।’ भगवान विष्णुलाई चार महिनाको योग,निद्राबाट जगाउनका लागि घण्ट ,शङ्ख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन्

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते। 
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥ 
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृतवसुन्धरे। हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ॥ 

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचारविधिले पूजा गर्नुपर्छ। अनेक प्रकारका फलका साथै नैवेद्य ‘भोग’ निवेदित गर्नुपर्छ। संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ। यस एकादशीमा रातभरि जागेर हरि नामसंकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ। विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ। अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी ‘देवोत्थान’ एकादशीका दिन समाप्त हुन्छ। त्यसैले यो दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन्। पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यका अनुसार श्रीहरि (प्रबोधिनी देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ। यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ। यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जप,तप, स्नान,दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन। देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो। यस एकादशीका दिन तुलसी विवाहोत्सव पनि मनाउने चलन छ। 

यसै सन्दर्भमा कथा के छ भने जालंधर नामक असुरकी पत्नी वृंदा पतिव्रता स्त्री थिई, उसलाई आशीर्वाद प्राप्त थियो कि जबसम्म उसका पतिव्रता व्रत भंग हुदैन तबसम्म उसको पति जीवित रहने छ। जलंधर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान विष्णुले जलंधरको वेश धारण गरी वृंदाका कक्षमा प्रवेश गरे तर उनलाई वृंदाले चिन्न सकिनन र उनको पतिव्रत भंग भयो। वृंदाको पतिव्रत भंग भएपछि जालंधर मारियो। विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन। वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए। विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंडकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ। तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ। त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ।

हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशी हो।हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु यो दिन दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन। चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ। कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ।

चार महिनाअघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ। हरिबोधनी अर्थात एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रतबसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्दछ।बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ। हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ।

हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन्। वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ। हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ(आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्। हरिशयनी एकादशीदेखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यताअनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ। तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्टस्थान ओगटेको छ। चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा(वान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ।

एक भुक्तेन जन्मोत्थं नक्तेन द्विजनुर्भवम्।
सप्तजन्मभवं पापमुपवासेन नश्यति।।

अर्थात् एकछाक मात्र खानाले एक जन्मको ,राति मात्र खानाले दुई जन्मको ,पूरा अहोरात्र्र दिन रातै उपवास गर्नाले सात जन्मदेखि जम्मा भएको पाप नाश भएर जान्छ। त्यसैले मनुष्यहरुले यो व्रत बस्नाले अनेक किसिमको पाप आगोले रुर्वा कपास ैडढाए झैं डढाउने गर्दछ। कसको पूजा गर्ने भन्दा यो कार्तिक महिनामा मधुसूदन नारायण भगवानको षोडसोपचारले पूजा गर्नु पर्दछ। नार भनेको पानि अयन निवासस्थान ,जसले पानीमा घर बनाएर बस्दछ त्यसलाई नारायण भन्दछन। कसरी गर्ने भन्दा सर्वप्रथम ब्रह्ममुहुर्र्त बिहान ४ बजेको समयमा उठेर स्नान ,तिलक धारण ,नित्य पूजा गरिसकेर भगवानको बिग्रह, फोटो र प्रतिमा अगाडी बसेर दियो बाली भगवानको प्रतिमामा तिल ,तुलशी अर्पण गरि पुरुषसूक्र्त सहस्त्र शीर्षा पुरुषद्वारा बिशेष पूजन गरि केशवादी २४ नामले अर्चना गरि कपुर आरती गर्ने र राती जाग्राम बसेर भजन किर्तन गरि भोलिपल्ट हवनादी, गोदान, पूर्णपात्रो र ब्राह्मण भोजन गराएर व्रतको बिसर्जन गर्ने। के फल प्राप्त हुन्छ भन्दा धर्म ,अर्थ ,काम ,मोक्ष ,चार साधन अर्थात् यस जन्ममा सुख,शान्ति ,ऐश्वर्य र परलोकमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेको पाइन्छ।