नेपालगञ्ज, २६ असार – आफ्नी श्रीमतीको हत्या गरी ड्रममा शव लुकाएका आशंकामा प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ । 
नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको आशंका गरिएको छ  । हत्या गरेर श्रीमान् शिवकुमार लोधले पत्नी ललिताको लाश ड्रममा लुकाएर राखेका थिए ।

ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज र्पुयाइए पनि चिकित्सकले ै मृत्यु भएको घोषणा गरेका थिए ।

शिवकुमारले श्रीमतीमाथि सधैँजसो झगडा गर्दै कुटपिट गर्ने गरेका थिए । छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।