इलाम २ माघ -  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा बिकास गर्ने बताउनु भएको छ  ।
 
बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम माघेसक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उहाँले यस्तो बताउनु भएको हो । 

मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गर्नु भएका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि यहि हो ।’ उहाँले थप्नुभयो ‘वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि पनि यहि हो ।’

उहाँले राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानव हितका लागि उपयोग गर्नु पर्ने धारण राख्नुभयो । 

विश्व शान्ति र मानव एकताको कामना गर्दै दुई लाख १७ हजारदुई सय १६ बत्ती प्रज्वलन गर्नु भएका नेम्बाङले यो अवसर जुरेकोमा आफुलाई भाग्यमानी ठानेको बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरै पहिलेदेखि यस ठाउमा आउन चाहेको तर आउन नसकेको यसपटक भने आयोजकको निमण्त्रणाले इच्छा पुरा भएको छ ।’ 

यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको काम समेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिनुभयो । 

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्व राज्य मन्त्री बेनुप प्रसाईं, प्रतिनिधि सभाका सांसद एल. पी. साँवा र स्थानीय तह प्रतिनीधिहरुका समेत उपस्थिति रहेको थियो ।


 
मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मीटर लामो पक्की पुलको समेत निरीक्षण गर्नु भएको छ ।