काठमाडौं, ३० चैत– गृह मन्त्रालयले सुरक्षाबाहेक घरेलु काममा खटिएका अन्य सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । 

दुबै प्रहरी बलले नयाँ नेतृत्व पाएसँगै गृहले फेरी यस्तो निर्देशन दिएको हो  । यसअघि नै यस्तो निर्देशन दिइएको भएपनि केही घरेलु सुरक्षाकर्मीमात्र फिर्ता भए भने धेरै अझै फिर्ता भएका छैनन् । मन्त्रालयले नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन प्रहरी प्रधान कार्यालयलाई शुक्रबार परिपत्र गरेको हो । 

पूर्व प्रहरी अधिृकतहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्र्मी सबैलाई घरमा कामदारको रुपमा राख्ने गरेका छन् । यो सिधै राज्यको दुरुप्रयोग हो । गृहले यसअघि दिएको निर्देशनका आधारमा ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भएका छन् । 

सुरक्षा बाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको छ । 

गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सार्वजनिक गरेकोे ८२ बुँदे  ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ को बुँदा नं  ७१ मा सुरक्षा बाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई बैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसिमा तोकिएको थियो ।  त्यसलाई कार्यान्वयन गर्नका लागि त्यसअघिनै गृहले काम सुरु गरेको हो ।

सशस्त्र प्रहरी बलमा घरेलु कामदारका रुपमा करिब पाँच सय सुरक्षाकर्मी खटिएका छन् । सुविधामा पाउनेवाहेक कसैलाई पनि सुरक्षाकर्मी सुरक्षा जोखिमका आधारमा उपलब्ध गराइन्छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान छ । तर कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । 

दुबै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिव लगायतका घरमा सहयोगीको रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ ।