•युवराज घिमिरे
पत्रकारिताको धर्मबारे जव कुरा हुन्छ तव पत्रकार युवराज घिमिरे धेरैको सम्झनामा आउनुहुन्छ । कारण, उहाँ विचारलाई निषेध गरेर होइन निषेधित विचारलाई स्थान दिन सक्ने पत्रकारमा गनिनुहुन्छ । घटना र पात्रतामाथि दोहोरो मापदण्ड नअपनाई आफूलाई मन नपर्ने विचारलाई स्थान दिएवापत जेल जाँदा पनि सम्पादकीय सन्तुलनको सजगताले युवराज घिमिरेको परिचय नेपाल बाहिर पनि उचो छ । भर्खरै अन्नपूर्ण पोष्ट दैनिकको सम्पादकबाट राजीनामा दिएर बस्नुभएका घिमिरेसँग नेपालको पत्रकारिता र राजनीतिबारे चक्रपथ डटकमका लागि बिनु पोखरेल ले गरेको कुराकानीः 

‘ठूलो मिडिया’को सम्पादकबाट राजीनामा दिनुभयो, नयाँ के गर्ने तयारी गर्दै हुनुहुन्छ ? 
हो ‘ठूलो’, नौ तलाको थियो । म त्यो नौ तलाबाट बाहिर निस्केपछि म सडकमा आएको छु । त्यहाँ होउञ्जेल मेरा विकल्प थुनिएका थिए । छोडेपछि त यति फराकिलो भएको छ कि, यहाँ अथाह सम्भावनाहरु छन् । र ती सम्भावनाहरुको खोजी गर्दैछु । पत्रकारिताको ३० बर्षमा यहि समय रहेछ, मैले पहिलोचोटी करियरमा आराम गरिरहेको छु । मेरो घर चितवन हो । यो बीचमा म घर पनि जान्छु । 

भनेपछि तपाईं सम्पादक हुँदा पाठकहरुसँग हुनुहुन्थेन, अहिले त्यो अवसर जुट्यो ? 
खासमा पाठक र सम्पादकको बीचमा डाइलग हुँदैन । लेखिन्छ, पढ्छन् । त्यसमा कहिलेकाहिँ कुनै कुनै सचेत ब्यक्तिहरुले रियाक्ट गर्छन् । लेखेरै पठाउँछन् । तर, हामी कति नजिक छौं भन्ने थाहा हुँदैन । अहिले मैले यस्तो रमाइलो महसुस गरिरहेको छु । नेपालका बिभिन्न भागबाट यति धेरै फोन, एसएमएस मार्फत मेरो बारेमा चासो ब्यक्त गर्नु भएको छ, जो मान्छेलाई मैले चिन्दा पनि चिन्दिनँ । कसैले तपाईंले लेख्नु पर्छ, लेख्न नछोड्नुस् भन्नुहुन्छ । कहाँ जाँदै हुनुहुन्छ ? नयाँ के गर्न लाग्नु भएको छ ? तपाईं केही गर्नुहुन्छ भने हामी छौं भन्नुहुन्छ । हामीले केही गर्नु पर्छ भने तयार छौं तर, लेख्न नछोड्नुस् भन्नुहुन्छ । त्यहि भएर यो बेला मैले आफैंले आफैंलाई हेर्ने मौका पाएको छु । पाठकहरुले दिनुभएको माया, सद्भाव र आश्वासन मसँग छ । अव म केहि गरौंला भन्ने केहि सोचिसकेको छैन । किनभने म कहिल्यै योजना बनाएर केहि गर्दिनँ । यो पछिल्लो राजीनामा पनि योनाजामा गरेको होइन । 

तपाईंले मुख्य मुख्य दैनिकको सम्पादक भएर काम गरिसक्नुभएको छ । बाहिर भन्ने गरिन्छ कि युवराज घिमिरे जहाँ काम गरे पनि कहिँ लामो समय बस्न सक्नुहुन्न र जाँदा पनि कुनै कन्डिशन सहित जानुहुन्छ । यस्तै हो ? 
खै, मेरो बारेमा किन त्यस्तो धारणा बन्यो मलाई थाहा छैन । तर मैले काम गरेका मिडियाका सञ्चालकहरुलाई दिने सन्देश के हो भने सम्पादक जहिले पनि निजी संचारगृहमा मालिकले चाहेको मान्छे नै हुन्छ । तर, सम्पादकको रुपमा तपाईंहरुको ‘ड्यु इन्ट्रेस्ट’, ‘इथिकल इन्ट्रेस्ट’ र ‘लिगल इन्ट्रेस्ट’ मैले हेर्छु । त्यो भन्दा बाहिरको गतिविधिमा लाग्नु परेन भने मेरो आयु सम्पादक या पत्रकारको रुपमा लामो हुन्छ । त्यसैले मलाई थाहा छैन, बाहिर मेरो बारेमा कसरी त्यस्तो ‘कन्सेप्ट’ बन्यो । त्यो मैले दिन सक्ने उत्तर पनि भएन । तर एउटा कुरा म के भन्छु भने संचार माध्यमहरु निजी लगानीमा छन् । तर, संचार माध्यम ‘च्यारिटी’ संस्थाहरु होइनन् । संचार माध्यम निजी स्वार्थलाई प्रोजेक्ट गर्ने माध्यम मात्र हैन । त्यसमा पब्लिक ‘इन्ट्रेस्ट’को ‘कम्पोनेन्ट’ ठूलो हुन्छ  । त्यसैले त्यो पब्लिक इन्ट्रेस्टको कम्पोनेन्टलाई मालिकले बुझिदिन सक्ने कुरामा नै सम्पादकको आयु जोडिन्छ । त्यो सँगै सम्पादकको चरित्रमा पनि भर पर्छ । हुनत म तीन बर्षमा निस्केँ भन्ने होला । कति सम्पादक त आठ–नौ बर्षसम्म पनि बस्या छन् । साँचो कुरा त्यहि हो कि पब्लिकको इन्ट्रेस्टमा हिंड्ने सम्पादक टिक्नलाई मिडिया हाउसहरुमा पब्लिकको इन्ट्रेस्ट बुझिदिने मालिक भए पुग्छ । 

 

सम्पादक त म मालिकले चाहेको बेला हुने हो, तर पत्रकार म जतिवेला पनि बन्न सक्छु । पत्रकार म मेरै च्वाइसले भएको हो, सम्पादक मालिकको च्वाइसले । 

राष्ट्रियताको विषयमा तपाईं अलि संवेदनशील भएर लेख्नुहुन्छ । तपाईंको राजीनामा बाहिरबाट कुनै दवाव आएर हो या मिडिया हाउसले कुनै समाचार लेख्न बाध्य बनाएर हो भन्ने विभिन्न अनुमान लगाउन थालेका छन् । खासमा छोड्नुको कारण के थियो  ? 
खै, मैले कति भन्न उचित हुन्छ त्यो पनि थाहा छैन । तर के भने, मैले सामाजिक संजालमा पढेको छु । मैले दिने विचार, प्रतिवद्धता र मान्यता मात्र हैन म धेरै ठाउँमा जाँदा सामान्यतया संचारमा नआउने ब्यक्तिहरुसँग  आमने सामने बसेर मैले धेरै सुनेको छु । धेरै अन्तरआत्माहरुलाई आत्मसात गर्ने मौका पाएको छु । मेरा हरेक मान्यता त्यसरी विकास भएका हुन् । सबै जानकार हुनुहुन्छ– मैले यहाँ विदेशी शक्तिहरुको चलखेलबारे आवाज उठाएको छु । निरन्तर लेखेको छु । उनीहरु मसँग खुसी होलान्, यो कुरा त हुने कुरा भएन । तर उनीहरुले नै मलाई जागिरबाट हटाए या हटाउन लागाए, त्यो म भन्न सक्तिनँ । नेपालका संचार माध्यमहरुमा सम्पादकको नियुक्तिदेखि लिएर उसको बर्खास्थगीको अवस्थासम्म विदेशी शक्तिकेन्द्रहरु, राजनैतिक दलका नेताहरु अथवा अन्य शक्तिकेन्द्रहरुको हस्तक्षेप नभएको भन्ने पनि होइन । तर मेरो सवालमा कुनै शक्तिकेन्द्रको दवावले म हटेको भन्ने मेरो जानकारीमा छैन । जुलाईको २० तारिखमा मैले अध्यक्षलाई राजीनामा बुझाएको हुँ । त्यसपछि साथीहरुलाई एक ठाँउमा बोलाएर एउटै पोष्टमा धेरै बस्दा मेरो जोस जाँगर हराउँछ त्यसैले म आफूलाई पुन उकास्न तपाईंहरुबाट बिदा लिंदैछु भनेर जानकारी गराएँ । 

एउटा निजी संस्थामा मालिकले उनीहरुको परिस्थिति अनुसार नै सम्पादक ल्याउनु स्वाभाविक हो । निजी संचारगृहमा चाहेको एडिटर हुन्छ । म पनि मालिकले चाहेरै आएको हो । मैले जे दिन सकेँ, यी वर्षहरुमा दिएँहुँला । यो पेपर यी वर्षहरुमा भित्र र बाहिरबाट हेर्दा पनि धेरै राइज भएको छ । मेरो चाहाना पनि त्यहि हो ।

मिडियाहरु पब्लिकको चाहना नभएका कुराहरुलाई पनि जवर्जस्त विचार बनाएर थोपर्छन् भन्ने कुरा पनि आउन थालेको छ । जस्तै अहिले मिडियाले आफैं लेखिदिन्छन्– ‘मधेसका जायज माग’, ‘संविधान संशोधन हुन नसके चुनाव हुँदैन’ आदि भाष्य मिडियाले नै तयार गरेका छन् । तपाईंले अघि भनेका कुरासँग यो गासिन्छ कि यो यस्तो भाष्य स्वतस्फूर्त आएको हो ? 

होइन होइन । यसमा दुईवटा कुरा छन् । नेपालका मिडियाकर्मीहरु सबै दलीय पात्र भयौं । अघि तपाईंले भने जस्तै कसैले भनेका कुराहरु कोटमा राख्न सक्ने कुराहरु म बुझ्न सक्छु । तर, हामीले लेख्ने समाचारहरु जहिले पनि रिडर्सले बुझ्ने भाषामा पाठकलाई पस्कनु पर्छ भन्ने मेरो प्रयास रह्यो । किनकि म जहिले पनि रिपोर्टर नै हुँ, सम्पादक भन्दा धेरै । त्यसैले यस्ता कुरा किन आउँछन् भन्दा रिपोर्टर रिपोर्टर भयो कि दलीय पात्र भयो । सञ्चार माध्यम पनि कति सञ्चार माध्यम हुन सक्यो भन्नेसँग जोडिन्छ ।  

मैले आफूलाई मन नपर्ने विचारलाई पनि ठाउँ दिएँ र यो काममा मलाई गर्व छ कि, विचार दिएकै कारणले मैले कान्तिपुरमा हुँदा जेल पनि जानु पर्यो । होला, मान्छेले रुचाएनन् होला । ब्यक्तिगत रुपमा अनावश्यक प्रतिरोध खप्नु पर्यो होला । तर विचारलाई निषेध गर्ने कुरा मैले कहिल्यै पनि खपिनँ । विचारलाई बन्देज लगाइनँ । विचार बन्देज लगाउने कुनै पनि संस्थाको सस्कृतिलाई पनि च्यालेन्ज गरेको छु । कान्तिपुरमा रहँदा होस् या अन्नपूर्णमा हुँदा । यहाँसम्म कि कतिले मलाई तपाईं राजधानी जानु हुन्थेनसम्म भन्नुभयो । तर, राजधानी जाने मेरो एउटै कारण थियो । २०६२–०६३ को आन्दोलन पछिको राजनीतिमा जुनखालको ‘इन्फोरिया’ देखापर्यो । कि संचार माध्यमलाई सबै भन्दा धेरै निषेध गरेको चरण त्यहि हो नेपालको इतिहासमा । त्यो बेला प्रशस्तै संचारमाध्यम थिए तर, एउटा विचार एक हदसम्म निषेधित थियो । त्यसैले निषेधित विचारलाई ठाउँ दिन एउटा सानो भए पनि पेपर चाहिन्छ भनेर त्यो प्रयास स्वरुप म त्यहाँ गएको हुँ । यदि त्यहाँ नगएको भए पनि मैले एउटा दुई पेजको पेपर निकाल्नु पर्ने अवस्था थियो । त्यसै कारणले त्यो विचार मर्न नदिनको लागि एउटा प्रयास थियो मेरो । 

विचारले बन्दुकलाई टाढा पुर्याउँछ । जब कुनै ‘कन्फ्ल्क्टि’ छ र विचार राख्ने ठाँउ पायो भने बन्दुकले ब्याकसिट लिन्छ । त्यसैले त्यो बेला कति नेताहरुलाई तपाईंको विचार आउनु पर्छ भनेर रिक्वेष्ट गरेको छु । मलाई सरकारले समात्यो । त्यो बेला गिरिजाप्रसाद कोइरालाको सरकार थियो । मैले केहि पनि प्रतिक्रिया जनाइनँ । किनकि मलाई न्यायपालिकामा विश्वास थियो । त्यो बेलाको न्यायपालिका अहिलेको जस्तो थिएन । दलीय नियन्त्रण र दाताहरुले न्यायाधीश नियुक्त गरेको न्यायपालिका थिएन। । त्यहि भएकाले म ढुक्क थिएँ न्याय पाउँने कुरामा । 

 

असफलताबाट भन्दा सफलताबाट आउने कुप्रभावले समाजमा ठूलो विकृति निम्त्याउँछ । राजाको हातबाट जब शक्ति राजनीतिक दलमा गयो, त्यो बेला संचारमाध्यम पनि सडकमा थियो,  सिभिल सोसाइटी सडकमा थियो । तर हामीले आफ्नो लाइनै खिचेनौं । हामी विवेकसम्मत, न्यायसम्मत र वस्तुनिष्ट हुनै सकेनौं । हाम्रो जो भूमिका हुन्थ्यो, हाम्रो एउटा मोरल अथोरिटि जुन थियो त्यो हुन सकेन ।

अहिलेको सन्दर्भमा आम मिडियाबाट निषेधित विचार छ कि छैन, छ भने निषेधित विचार के हो ?
यो यस्तै भन्न गाह्रो छ । पाँच छ हजार जति आनलाइन होलान् । त्यति नै मात्रामा रेडियो र पत्रिकाहरु छन् । त्यहाँबाट केहि न केहि विचारहरु आउँछन् । मिडियाले निषेधित गरे पनि ती विचार कहिँ न कहिँबाट बाहिर आइहाल्छन् । अर्को महत्वपूर्ण कुरा एउटा पेपरले एउटामात्र विचारलाई लिएर अरुलाई निषेध गर्नु चाहिँ मिडियाले बस्तुनिष्ठता र ब्यवसायिकता लाई प्रतिपादन गर्न नसक्नु हो । त्यो प्रोपोगाण्डा मात्र हो । जुन ‘अनफरचुनट्ली’ नेपालको केसमा छैन । अर्को कुरा निषेधित विचार र मान्यता के हो भने, तपाईंलाई एउटा उदाहरण दिउँ– इयान मार्टिनलाई मैले क्रिटिसाइज गरेपछि उनले अनेक दुश्प्रचार गरेर हिंडेको पनि मलाई थाहा छ । 

२०६३ को परिर्वतनपछि सायद उनी ओएचसीएचआरमै थिए । मैले सबैभन्दा बढी राजाको पालामा आलोचना गरेको ब्यक्ति रमेशनाथ पाण्डे हो । रमेशनाथ पाण्डे र कमल थापालाई एरेष्ट गर्दा मैले सरकारको विरोध गरेँ ।

पृथ्वीनारायण शाहको जन्मदिनमा छुट्टी थियो, सरकारले  त्यसलाई काट्यो । त्यसको विरोध गर्ने ‘समय’ म्यागेजिन एउटामात्र थियो, जहाँ म थिएँ । ईन्द्रराज्य लक्ष्मी देवी अस्पतालको नाम फेर्नु भो मैले त्यसको विरोध गरेँ । भारतमा हेर्नुस् न जर्ज फिफ्थको स्ट्याचु अहिले पनि छ । नाम फेरेर केहि पनि हुने होइन । जव तपाईं इतिहासलाई निषेध गर्नुहुन्छ अनि त्यहाँ विकृति आउन थाल्छ । अनि कहाँनेर लाइन खिच्नुहुन्छ ? त्यसै कारणले विचारको निषेध नगरौं भन्ने मेरो मान्यता हो । 

तपाईंले हिन्दु राष्ट्रको राजा मन्दिर गयो भनेर विरोध गर्नु भो । तर गिरिजाप्रसाद कोइराला ‘एक्जिस्टिङ सेक्युलर’ भनिएको ‘हेड अफ दि स्टेट’को रुपमा राज्यलाई प्रतिनिधित्व गरेर धार्मिक समारोहमा जानु भो । त्यो परम्परा अहिले पनि छ । सेक्युलारिजमलाई संविधानमा कहाँ समेट्नु भएको छ, त्यो इम्पोर्टेन्ट कुरा हो । अर्थमन्त्रीको रुपमा बाबुराम भट्टाईले सेक्युलारिजमको पक्षमा गरेको गतिलो कुरा भनेको कुनै एउटा जाति विशेषलाई राज्यको ढुकुटीबाट पैसा नदिने घोषणा हो । तर त्यसलाई किन निरन्तरता दिन नसकेको ? अनि किन धर्मनिरपेक्षता भन्नुहुन्छ ? 

धर्म निरपेक्षरता त्यतिकै सकरात्मक कुरा हो जति धर्म पनि हुन्छ । धर्म, संस्कृति, सभ्यता अत्यन्त सकारात्मक कुरा हुन् । त्यसले सोसाइटिलाई जोड्छ । तपाईंले त्यसलाई दुरुपयोग गरेपछि मात्र त्यसले तोड्ने काम गर्छ । अनि जहाँबाट धर्म निषेध गरिन्छ त्यहाँबाट समस्या सुरु हुन्छ । तर हाम्रो धर्मनिरपेक्षता भनेको हिजोको शासनलाई विरोध गर्ने कुराको रुपमा मात्र लिइयो । शाब्दिक अवधारणाको रुपमा मात्र ल्याइयो ब्यावहारका रुपमा ल्याइएन । एउटा गु्रपमा बसेका चार जनामा सबैले बुझेको धर्म निरपेक्षता फरक फरक छ । संविधानका केही मान्यता हाम्रो दिमागमा समन रुपमा बस्नुपर्यो नि । तर खै, बस्न सकेन ।  राज्य र धर्म बीचको अन्तरसम्बन्ध के ? नागरिकको भूमिका के ? त्यसमा बहस हुन पथ्र्याे, तर भएन । विदेशी खटनमा बाह्रबुँदे सम्झौताका हस्ताक्षर कर्ताहरुले यी एजेण्डा हामीमा लादे । र त्यसमा जनताको अनुमोदन गर्ने कोसिस गरेनन् । 

गणतन्त्रको मुख्य मान्यता जनताको सामुहिक आत्मनिर्णयको अधिकारको संस्कृतिलाई हामीले भत्काइदियौं । अनि जातियताका आधारमा, क्षेत्रीयताका आधारमा आत्मनिर्णयको अधिकारको कुरा गर्यौं । तर समग्र राष्ट्रिय आत्मनिर्णयको अधिकारको कुरा गरेनौं । यहिं आएपछि विचारको निषेध भयो, मेरो आपत्ति त्यहाँ हो । 

सम्पादकका रुपमा तपाईंले यसरी उठाउँदै आएका विचार त कमजोर होलान् नि होइन र ? 

त्यसमा मेरो दोष हुँदैन । फेरि मैले कुनै विचारलाई कहिल्यै निषेध गरिनँ । हरेक विचारलाई पहुँचमा ल्याउने काम मैले अन्नपूर्णमा बस्दा गरेँ  । मैले कहिल्यै पनि गणतन्त्र र राजतन्त्रको बारेमा, धर्मनिरपेक्षता र सापेक्षताको बारेमा, संघीयता र विकेन्द्रिकृत शासन ब्यवस्थाको पक्षमा यो हुनुपर्छ भनेर भनिनँ । तर प्रक्रियासंगत तरिकाबाट आउनुपर्छ भनेर मैले भनेँ र भनि नै रहन्छु । बहसबाट, एक्सपोर्टहरुबाट र जनताको अनुमोदनबाट आउनु पर्ने विषय हो । हचुवाका भरमा नेताहरुले केहि निहित स्वार्थ बोकेर, बाहिरका आदेशमा कुराको अपनत्व हुँदैन भन्ने मेरो मान्यता हो । एडिटोरियल्ली मैले त्यसलाई अगाडि बढाइराखेँ र बिस्तारै अहिले त्यो आवाजको अनुमोदन भैरहेको छ । 

तपाईंको लामो अनुभवले के भन्छ, कत्तिको स्वतन्त्र छन् नेपालका सम्पादकहरु ? 
यो एकदमै अप्ठ्यारो प्रश्न हो । तर यसका दुईवटा पक्ष छन् । एक, म कति स्वतन्त्र छु र अर्काे, म कति स्वतन्त्र हुन चाहन्छु । म स्वतन्त्र छु तर स्वातन्त्र हुन चाहन्न भने त्यसले के बनाउँछ ? म नाकमा नत्थी लगाएर एउटा लगाम नेतालाई, अर्काे लगाम सरकारलाई, अर्काे लगाम कर्पोरेट हाउसलाई दिन्छु  भन्नुभयो भने त्यो सम्पादक कति स्वतन्त्र होला ? अनि स्वतन्त्र नभएको दोष कसलाई दिने ? त्यसैले म के भन्छु भने हामी सम्पादकको पात्रताको कुरा गर्छौं त्यो पात्रतामा विवेक र स्तन्त्रता हुनुपर्छ । र अर्को ब्यवसायिक धर्मप्रतिको निष्ठा हुनुपर्छ । त्यति कुरा हो मैले भन्न सक्ने । 

पत्रकारितालाई राज्यको चौथो अंग भनिन्छ, नेपालमा चाहिँ पत्रकारिता कुन अवस्थामा छ ? 
यो एउटा समाजको महत्वपूर्ण अंग हो । अझ बाहिरको भन्दा नेपालमा झनै महत्वपूर्ण अंगको रुपमा छ । किन छ भने, हाम्रा नेताहरु किताव पढ्दैनन्, पत्रिकासम्म त पढिदिन्छन् । त्यस मानेमा तपाईंका विचार र पत्रिकामा पाएको स्थानले एक्जुकेटिभ र लेजिस्टिभलाई पनि प्रभावित गर्दछ । 

 

नेपाली तथा विदेशी अर्थरहरुले के भनेका छन् भने गोर्खा आर्मीहरु अर्काको पैसा खाएर अर्काको देशको लागि लड्ने भाडाका सिपाही र मेसीनरी हुन् । तर, मैले नेपालमा भाडाका सिपाहीहरुबाट खतरा देखिरहेको छैन । इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका लागि पत्रकारिताका नाममा मुढेबलले ‘डिस्इन्फर्म’ गर्छ ।

म अर्काे कुरा भनौं असफलताबाट भन्दा सफलताबमट आउने कुप्रभावले समाजमा ठूलो विकृति निम्त्याउँछ । राजाको हातबाट जब शक्ति राजनीतिक दलमा गयो । त्यो बेला संचारमाध्यम पनि सडकमा थियो,  सिभिल सोसाइटी सडकमा थियो । तर हामीले आफ्नो लाइनै खिचेनौं । हामी विवेकसम्मत, न्यायसम्मत र वस्तुनिष्ट हुनै सकेनौं । हाम्रो जो भूमिका हुन्थ्यो, हाम्रो एउटा मोरल अथोरिटि जुन थियो त्यो हुन सकेन । सरकारलाई, प्रशासनका बिभिन्न निकायहरुलाई र ओपिनियन मेकर्सहरुलाई नीति निर्माण गर्ने निकायहरुमाथि हाम्रो जुन प्रभाव हुने गथ्र्यो त्यो हुन छोड्यो ।

किनभने हामी दलगत झोलामा परिणत भयौं । सबै दलका नेताका घरमा धाउन थाल्यौं । सिभिल सोसाइटीका प्रवुद्ध ब्यक्तिहरु दलका पछाडि लाग्न थाले । म पार्लियामेन्टमा छिरौं, राष्ट्रपति बनौं, राजदूत बनौं भन्दै नेताका घर चहार्न थाले । न्यायाधीशहरु न्यायाधीश बन्न पाउँ भनेर संसदीय सुनुवाई समितिका नेताको घर घर जान थाले । त्यसपछि राज्यका तटस्थ हुनुपर्ने संवैधानिक निकायका सदस्यहरु निर्वाचन आयोग, लोगसेवा आयोग, राजदूतहरु, धाउन थाले । यसले पात्रता भन्दा पनि म कुन दलसँग अवद्ध छु त्यसले ठाउँ पाउन थाल्यो । यसले राष्ट्रिय हित मर्दै गयो ।

अर्को एउटा कुरा भन्छु– नेपाली तथा विदेशी अथरहरुले के भनेका छन् भने गोर्खा आर्मीहरु अर्काको पैसा खाएर अर्काको देशको लागि लड्ने भाडाका सिपाही र मर्सिनरिज हुन् । तर, मैले नेपालमा भाडाका सिपाहीहरुबाट खतरा देखिरहेको छैन । इन्टलेक्चुअल मर्सिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित हितका लागि पत्रकारिताका नाममा मुढेबलले ‘डिस्इन्फर्म’ गर्छ । जसलाई सम्पादकले गार्ड गर्न सकेको देखिंदैन । त्यसले नेपालको संविधानवादलाई र नेपालको अग्रगमनलाई सबैभन्दा ठूलो ब्यवधान खडा गरेको छ र नेपालको पत्रकारितालाई कुण्ठित गरेको छ । त्यसकारण कसलाई बढ्ता दोषी भन्ने मलाई थाहा छैन । 

जर्नालिजम त वाचडगको रुपमा मानिन्छ नि । तर फेरि त्यसरी निगरानी गर्नुपर्ने जर्नालिजम किन भएको हो ? 
हरेक विधाका अनुहार हुन्छन् । डेमोक्रेसी एकदमै राम्रो कन्सेप्ट हो । चर्चिलले भनेको एउटा कुरा के छ भने डेमोक्रेसी वल्र्डको बेष्ट सिस्टम होइन तर त्यो भन्दा बेटर सिस्टम आएको छैन । त्यस्तै जर्नालिजम एउटा विधा हो यसका पनि आफ्नै अनुहार हुन्छन् । 

हामी, झुक्ने लम्पसार पर्ने, हामी घिस्रने कि त्यो पेशाको मयर्दामा बसेर काम गर्दै परिआएको परिणम भोग्न तयार हुने ? यो दुइटा च्यालेन्ज बीच बिचमा आइनै रहन्छ । अर्को नेपालको संक्रमण यति लम्बिने, अराजक र अनिश्चित हुने थिएन । विदेशीहरुको यो आकारको हस्तक्षेप पनि हुने थिएन । यदि दलीय हित छोडेर नेपालका नागरिक समाजले नागरिक समाज र  मिडियाले  मिडियाको भूमिका खेलिदिएको भए । सत्ता परिर्वतनलाई नै उसले सफलता मान्यो र सत्ता परिर्वतन पछि उ विचलित भयो । त्यसैले देशले यो अवस्था भोगिरहेको छ । 

नेपालको मिडिया पाठकको प्रश्न भन्दा आफ्नै प्रश्नहरुले सुसज्जित भएको हो ?
विषयलाई जेनरलाइज्ड नगरौं, सबै त्यस्तै हुन्छ भन्ने पनि होइन ।  म भन्छु खिलराज रेग्मी जव प्राइमिनिष्टर बनाइनु भो, त्यसमा इण्डियाको भूमिका थियो । इन्टरनेशनल कमिटीको भुमिका थियो । इण्डियालाई के देखाउनु परेको थियो भने इण्डियाले नेपालमा लिएको निर्णयमा त्यहाँका सत्तापक्ष प्रतिपक्ष कसैले पनि नमान्न सक्दैन । 

त्यो बेला मैले विरोध गरेको थिएँ । विरोध गर्दाखेरी आरएसएस सँग नजिक भएको एउटा संस्था र एकउटा नेताले मलाई बोलाए । रवीशंकर प्रसाद जो अहिले मन्त्री हुनुहुन्छ, मेरा साथी पनि हुनुहुन्छ उहाँ । म यो कुरा पहिलो पटक बाहिर ल्याउँदैछु ।  मैले सोधेँ– तपाईं हिजो भारतमा तपाईंको न्यापालिकामा कार्यपालिकाको हस्तक्षेय भयो भनेर आन्दोलन गरेर त्यो प्रक्रिया रोक्नु भएको मान्छे , आज आएर नेपालको जुडिसरीको अण्डरमाइण्ड गर्न कार्यपालिकामा अथवा राजनैतिक दलको प्रमुखको रुपमा ल्याउन किन लाग्नु भयो ? उहाँले मलाई थाहा थिएन भन्नुभयो । तपाईं इण्डियाको जुडिसरीको स्वतन्त्रता चाहानुहुन्छ तर, नेपालको चाहनुहुन्न हामीलाई स्वीकार्य छैन भनेँ । 

माओवादी शान्ति प्रक्रियामा आए।  हामी पनि यहि चाहन्थौं यो ठीकै छ । तर भारतमा माओवादीलाई आन्तरिक सुरक्षमा सबैभन्दा खतरा मान्नुहुन्छ नेपालको माओवादीलाई चाहिँ केन्द्रमा देख्न चाहानुहुन्छ ? यस्तो द्वैध चरित्र देखाउन सुहाउँछ भनेर प्रश्न गरेँ । हामीकहाँ पनि मिडियाले अग्रगमनका मुद्दा भन्दै आएका कुनै पनि कुरामा त्यति प्रश्न उठाउन सकेन । जहिले पनि विदेशी हस्तक्षेप भन्या परिर्वतनका मुद्दालाई सपोर्ट गर्दै आउँछ । यहाँ पनि यस्तै भएको छ । त्यसपछि यसरी बहिरी हस्तक्षेप बढेको देखिन्छ । 

त्यसैले हामीले बुझ्नै पर्ने कुरा के हो भने कुनै पनि देशको परिर्वतन सबै कुरामा जनातको सक्रिय संलग्नता र अपनत्वबाट मात्र आउँछ र त्यस्तो परिवर्तन र सफलतापछि पीडा कम हुन्छ । हाम्रोमा के भयो ? जव प्रतिनिधिसभा विउँताइयो राजालाई नै निषेध गरियो । दलको चाहाना अनुसार राजालाई प्रतिनिधिसभा बिउँताउन लगाइयो, त्यहि राजाले गिरिजाप्रसादलाई प्रधानमन्त्रीको सपथ खुवाए अनि उनैलाई निषेध गरियो । फरक मत राख्नेहरुलाई निषेध गर्दै गयौं । कसरी भने, अब उप्रान्त हामी महत्वपूर्ण निर्णयहरु कन्सेन्ससनेस मार्फत गर्ने भन्नुभो, त्यसले डिसेन्ससलाई खत्तम गरिदिन्छ । अर्को मतलाई खतम गरिदिनु भो । जनताको प्रश्न गर्ने अधिकार खत्तम गर्नु भयो । जनताको सामुहिक आत्मनिर्णयको अधिकार थियो, त्यो विदेशी अथरहरुलाई दिनुभयो । अनि हामीलाई नेपाली जनता र राजाले दिएको सम्मान सेकेण्डरी भयो, विदेशीले दिएको कुरा ठूलो लाग्ने भयो । 

 

म नाकमा नत्थी लगाएर एउटा लगाम नेतालाई, अर्काे लगाम सरकारलाई, अर्काे लगाम कर्पोरेट हाउसलाई दिन्छु  भन्नुभयो भने त्यो सम्पादक कति स्वतन्त्र होला ? अनि स्वतन्त्र नभएको दोष कसलाई दिने ? त्यसैले म के भन्छु भने हामी सम्पादकको पात्रताको कुरा गर्छौं, त्यो पात्रतामा विवेक र स्तन्त्रता हुनुपर्छ ।

जुडिसरीको स्तन्त्रतालाई पार्लियामेन्टङी हेयरिङबाट खतम गरिदिनुभयो । यसरी पेलेर गइयो कि मिडिया मात्र होइन, न्यायाधीशहरु कसैले पनि यसको विरोध गर्ने चरित्र देखाएनन् ।  के रहेछ डेमोक्रेसी भन्या ? लेभल मात्र हो, अथवा कण्डक्ट पनि हो ? फरक मत राख्नेहरुको आवाज पनि दवाइयो । त्यसैले यो अनएजुकेट डेकोक्रेसी हो । फल्टी डेमोक्रेसी हो । त्यसैगरी सामुहिक आत्मनिर्णयको अधिकार लगेर १२ बुँदेका अर्थरहरुलाई दिनुभयो । 

विदेशी हस्तक्षेप जहिले पनि अग्रगमनको मुद्दा लिएर आउँछ भन्नुभयो । अहिलेको हस्तक्षेप के को खोल ओढेर आउँदैछ ? 
मैले अघि नै भने नि भाडाका गोर्खेहरुबाट खतरा छैन, जति विदेशी पैसामा उनका एजेण्डा आफू मार्फत बोलाउने इन्टलेक्चुअल मर्सिनरिजहरुले देशलाई खतरामा पारिरहेका छन् । र लठैत जर्नालिजम गर्नेहरुले देशलाई खतरामा पारेका छन् । विवेकबाट, बस्तुनिष्ठ भएर हैन, केहि निहित स्वार्थको लागि तपाई जर्नालिजमलाई प्रयोग गर्नु हुँदैछ भने त्यहाँबाट बडो खतरा छ नेपाललाई । अर्को दाताहरुबाट पनि खतरा छ । 

संविधानको एउटा पाटो धर्मनिरपेक्षता हो । धर्मान्तरणको अधिकार बिना त्यो धर्म निरपेक्षताले अर्थ राख्दैन भनेर विदेशी दातृ निकायहरुले किन भन्नु परेको ? मैले त्यति भन्न खोजेको । अरु कुरामा चासो छैन तर यस्ता विषयमा उनलाई के को चासो ?  

पत्रकार भनेका समाजका आँखा भनिन्छ । के नेपालमा समाजका साझा मुद्दामा सम्पादकहरु राष्ट्रियताकै मुद्दामा पनि एक भएर अघि आएको त्यस्तो कुनै बिषय छन् ? 
छैन, छैन । सम्पादकहरुले राष्ट्रियतालाका विषयमा एउटै आवज लिएर जाउँ भन्ने कुनै मुम्मेट भएको छैन । नेपाल यति सानो देश भएर पनि यति धेरै पत्रकार भएको देश हो । पत्रकारका र सम्पादकहरुका संस्था पनि यहिँ नै बढी छन् । 

नेपालमा सम्पादकीय स्वतन्त्रता कुन स्तरको छ जस्तो लाग्छ ? 
दुईवटा कुरा छन् । सम्पादकीय स्वतन्त्रता एउटा हुन्छ, सम्पादकको स्वतन्त्रता अर्काे हुन्छ । जो पत्रकार हो, उ सम्पादकको रुपमा काम गर्न रुचाउँदैन कि जस्तो लाग्छ मलाई । मैले आफैंलाई पनि राखेर भनेको छु । सम्पादक त म मालिकले चाहेको बेला हुने हो, तर पत्रकार म जतिवेला पनि बन्न सक्छु नि । पत्रकार म मेरै च्वाइसले भएको हो, सम्पादक मालिकको च्वाइसले । अव कति स्वतन्त्रता छ भनेर कसरी भन्नु । नेपालको केसमा भन्ने हो भने सम्पादकको चरित्रको बारेमा सम्पादकको पात्रताको बारेमा, सम्पादकलाई जवाफदेही बनाउने हिसावले कहिल्यै बहस गरेकै छैनौं । पत्रकार सम्पादक बन्छन् तर सम्पादकलाई पत्रकार बनाउन धेरै कठीन छ । 

नेपालमा सम्पादकहरु सवै पत्रकार छैनन् भन्न सकिन्छ ? 
मजाले सकिन्छ । नेपालमा सम्पादक पत्रकार छन् कि छैनन् बहस गर्न जरुरी छ ।