काठमाडौ, १९ असार– प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी ‘आइफा’ अवार्ड कार्यक्रम नेपालमा गर्ने घोषणा गर्यो । भ्रमण वर्ष २०२० घोषणा भइसकेको अवस्थामा अन्तर्रा्ष्ट्रिय स्तर चर्चित अवार्ड गरेर नेपालको पर्यटन क्षेत्रमा कोशेढुंगा थप्ने अभियानमा सरकारले निर्णय गरेको थियो । तर यो निर्णय सार्वजनिक हुने वित्तिकै नेपाली समाज विभाजित बन्यो । नेपाली कलाकार रुष्ट बने।

मन्त्रिपरिषदको बैठकबाट ‘आइफा’ अवार्डमा सहयोग गर्ने संघसंस्थामा आयोजक पर्यटनबोर्ड र सह–आयोजक काठमाडौ महानगरपालिका रहनेछन् भन्ने निर्णय भएपछि कलाकारहरुले आक्रोशित बने । कतिपय चर्चित कलाकारले आइफा अवार्डको बिषयमा बिरोधका भाषा बोल्न थाले । भारतीय चलचित्रको फिल्मी अवार्ड कार्यक्रमका लागि करोडौ बजेट छुट्याएको भन्दै चलचित्रकर्मीहरुले रुष्ट बनेको तर्क दिए । चर्चित कलाकारहरुले खुलेरै बिरोध त गर्न सकेनन तर चलचित्रमा जम्न नसकेका र चलचित्र क्षेत्रको नेतृत्व गर्ने केही समूहले राजनीति उदेश्यसहित माइतीघर मण्डलामा धर्ना जुलुस नै शुरु गरे । कलाकारलाई अघि सारेर सरकार विरुद्ध लाग्ने केही पूरातनवादी शक्ति समेत जुर्मुराउन थाले । भारतीय अवार्ड नेपालमा गरेर राज्यकोषको अर्बौ रुपैयाँ सक्न खोजिएको भ्रम छर्ने प्रयास समेत गरियो ।

अन्तत, कलाकारको हकहितका लागी नेपालमा आइफा अवार्ड महत्वपुर्ण हुन्छ भन्ने उदेश्यले अगाडी बढिरहेको सरकारलाई कलाकारले नै रुचीकम र विवादबढी गर्नथालेपछि आइफा अवार्डबाट फिर्ता हुने निर्णय लियो । सरकारको निर्णयसँगै अब नेपालमा आइफा अवार्डको कार्यक्रम त स्थगित भयो । तर यसले घाटा कसलाई भयो ? सरकारले आइफा अवार्डमा अर्बौ बजेट छुट्यायो भन्दै कलाकारहरु सामाजिक सञ्जालमा कुर्लिन थाले । सामाजिक सञ्जालमा मनलाग्दी लेख्न थाले । अझ आइफा अवार्ड स्थगित भएको निर्णयपछि दबाबमा सरकार पछि हट्यो समेत भन्न भ्याए। तर यो अवार्ड नेपालमा हुँदा र नहुँदाको फरक नछुट्याई सरकार विरुद्ध विषवमन पोख्ने काम मात्रै भयो । अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित अवार्ड कार्यक्रम नेपाल ल्याउने काम सहज थिएन । त्यसका लागि अहिलेको सरकार र सरकारसँग सम्वन्धित मेशिनरीले ठूलै गृहकार्य गरेको थियो । सरकारले यो अवार्ड नेपालमै ल्याउन खोज्नुको निश्चित कारण र मान्यताहरु थिए । भ्रमण वर्षको घोषणा र त्यसका लागि आवश्यक प्रचारप्रसार महत्वपूर्ण हुन्छ । नेपाल अलौकिक र  प्राकृतिक हिसाबले भरिपूर्ण छ तर यही पर्यटक भने वार्षिक १२ लाखको हाराहारीमा आउँछन् । कृत्रिम पहाड र हिउँ बनाइएका स्थानमा करोडौं पर्यटक तर विश्वकै सर्वोच्च शिखर र धार्मिक हिसाबले गौतमबुद्ध जन्मिएको देशमा भने जम्मा १२ लाख पर्यटक । पर्यटक आगमनमा किन कम भयो । त्यसको मूख्य कारण भनेकै प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारनै हो । सरकारले प्रचारप्रसारलाई केन्द्रित गरेर आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेको थियो । तर त्यसलाई राजनीतिक रंग र खोक्रो राष्ट्रवाद उचालेर हाम्रो पर्यटन क्षेत्रका लागि प्राप्त हुने स्वर्णिम अवसरबाट गुमाउने काम भएको छ । केही निश्चित स्वार्थ समूहबाट परिचालित भएर कलाकारले समेत आफ्नो विवेक गुमाएका छन् । कला र संस्कृतिको कुनै सीमा हुँदैन भन्ने जान्दाजान्दै पनि खोक्रो राष्ट्रियताको नाटक मञ्चन गर्ने काम भयो।

कला र साहित्यसँग जोडिदा कुनैपनि समाज वा देशको प्रचारप्रसार हुन्छ । त्यसैले त कलाकारलाई राष्ट्रको गहना भनिन्छ। तर यहाँका कलाकारले अनावश्यक राजनीतिक वक्तब्यबाजी गरे । त्यो सीमित शक्तिस्वार्थका लागि मात्रै गरेका थिए । नेपालको पर्यटन प्रवर्द्धनका लागि लगानी गर्नैपर्छ । नेपाल पर्यटन बोर्डले विभिन्न देशमा गएर पर्यटन प्रवर्द्धनका लागि मेला आयोजना पनि गर्छ । तर ती मेलाबाट पनि अपेक्षित पर्यटक आगमनमा सुधार हुन सकेको छैन् । अन्तर्रा्ष्ट्रिय मेला महोत्सबाट प्रतिफल नआएपछि सरकारले आइफा अवार्डजस्तो अन्तर्रा्ष्ट्रिय नेम र फेम भएको कार्यक्रम आयोजनाका लागि अगाडि बढ्यो । यो अवार्ड आयोजनापछि बलिउडबाट आउने हरेक कलाकारले नेपालको सौन्दर्यताको वयान गर्थे । अझ बोर्डले भारतका महानायक अमिताभ बच्चनलाई माउन्टेन फ्लाइट गराएर सगरमाथाको देश भनेर ट्विट गराउने महत्वाकांक्षी योजना समेत बनाएको थिया े। यस्ता धेरै पर्यटन प्रवर्द्धनका योजना नबन्दै तुहिए । यसले नेपालको पर्यटन प्रवर्द्धनको स्वर्णिम अवसर गुम्यो । नेपालको अर्थतन्त्रले छलाङ मार्ने अवसरबाट समेत बञ्चित भयो । आइफा अवार्ड गर्दा विभिन्न टिकाटिप्पणी समेत भए । राष्ट्रिय कला संस्कृति मास्ने काम गर्न खोजियो समेत भनियो। तर जसले राष्ट्रियताको कुरा गरिरहेका थिए तिनै कलाकारले भारतीय चलचित्रको नक्कल गरेर सांस्कृतिक विचलन ल्याउने काम गरेका थिए । भारतीय गीत नक्कल गर्ने राष्ट्रियताको खोल ओडेर आइफाको विरोध गर्दे राष्ट्रवादी बनिरहेका थिए । भ्रमको खेतीबाट नेपालको अर्थतन्त्र उकास्ने अवसरबाट बञ्चित गर्ने काम भयो ।

हाम्रा नागरिक भारतको टेलिभिजन कार्यक्रमको प्रतिष्पर्धामा सहभागी हुँदा टेलिभिजनमा समय खर्चन्छौं । भारतीय कार्यक्रम कुरेर हेर्छौं । भारतीय प्रतिस्पर्धामा उत्रिएका नेपाली देख्दा गर्वले छाति फुलाउछौ । नेपाली कलाकार तेरिया मगर, प्रितम आचार्य, आयुष रिजाल, लगायतका भाइबहिनीहरुले भारतमा उधुँम मच्चाउदा हामी गौरवान्वीत हुन्छौ । तर त्यो भन्दा ठुलो अवसर नेपालमा नै आउन लाग्दा सरकार र सहयोगी संस्थालाई खुइल्याउने गरि बिरोध गछौ ।

नेपालमा पर्यटनबर्ष २०२० मनाउने सम्पुर्ण तयारी पुरा भएको छ । नेपालको प्रचारप्रसारका लागी सरकारले पर्यटन प्रर्वद्धनका लागि अन्तराष्ट्रिय मिडियाहरुलाई नेपालमा ल्याएर रिपोर्टिङ गराउने योजना बनाएको छ । सरकारले विश्वका विभिन्न चर्चित अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिहरुलाई नेपालमा बोलाउने र यहाँका पर्यटकीय गन्तव्यको भ्रमण गराई प्रचारप्रसार गर्न लगाउने योजना अघि सारेको छ । यदि हामीले आइफा अवार्डमा स्वदेशी र विदेशका यि चर्चित मिडियालाई प्रवेश गराउने व्यवस्था मिलाउन सकेको भए । सरकारले नेपालको प्रचारका लागी बिबिसी, सिएनएन, अल जजिरा, गार्जियन, न्युयोर्क टाइम्स, सिन्ह्वा लगायतलाई नेपालमा बोलाएर तिर्नुपर्ने रकम भन्दा कैयौ बढी प्रचार यो अवार्डबाट हुने थियो । के यो नेपालका लागी किनेर पाइने प्रचार थियो ?

आइफाले यसअघि अमेरिका, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिकाको जोहन्नेसवर्ग, नेदरल्याण्ड, युएईको दुबई, बेलायतको लण्डन र सेफिल्ड, मकाउ, श्रीलंकाको कोलम्बो, क्यानडाको टोरन्टा, स्पेनको म्याड्रिडमा आयोजना गरिसकेको छ । आज ति देशलाई विश्वका धेरै राष्टले चिन्ने माध्यम बनेको छ । हामीले विगतमा भएका अवार्डका कार्यक्रमलाई हेर्ने हो भने कलाकारहरुले जुन  देशमा अवार्डका लागी जान्छन त्यस देशको खुलेर प्रसंसा  गरेका छन् के यो राष्ट्रका लागी उपलब्ध हैन र ?

आइफाको कार्यक्रम पछि कतिपयले त्यो देशको बारेमा जानकारी पाउँछन । यसले पर्यटनलाई पछिसम्मका लागी फाइदा गर्छ अर्को संसारभरि छरिएका भारतियहरुले यो अवार्डको कार्यक्रम हेरिसकेपछि कुनै होलिडेको मुड बन्दा माइन्डमा एकपटक नेपाल त आउछ नी ? बाहिर नेपाली कलाकारलाई कसैले चिन्दैनन् । जब हामी बाहिर आफु निस्कन सकिरहेको छैनौ, निस्कने बाटो हामी खोज्दैछौ भने, बाहिरबाट आएको चिजलाई शुरुमै ढोका थुनेर हुन्छ ? त्यसले केही न केही नकरात्मक सन्देश नै  जान्छ । आइफा अवार्ड नेपालका लागि स्वर्णिम अवसर थियो देशलाई सँसारभर चिनाउने माध्यमका रुपमा यो अवार्ड हुनपथ्यो । लगानी नगरी लाभ लिन सकिन्दैन र कहिले काँही राम्रो कामका लागी नेपालले पनि लगानी गर्ने आँट पनि गर्नुपर्छ । सधै विदेशीले नै सहयोग गर्नुपर्छ भन्ने संकिर्ण सोच हावीहुँदा घाटा कस्लाई भयो ?