रमेश मैनाली  
कुनैपनि नियमित कार्य सञ्चालन गर्ने वा कामकारवाही गर्ने अख्तियार प्राप्त आधिकारिक व्यक्तिको अनुपस्थितिमा उसको उत्तराधिकारीका रुपमा काम गर्ने व्यक्तिलाई कार्यवाहक भनिन्छ । यो कार्यवाहक पद पनि उसले आफैं आफ्नै लहड वा रहरले प्राप्त गरेको हुँदैन । जसले नियमित काम गर्ने अख्तियारी पाएको हुन्छ, उसले वा त्यो भन्दा पनि माथिको हाकिमले अख्तियारी मुकरर गरेपछि मात्र उसले कार्यवाहक बनेर काम गर्ने अधिकार पाएको हुन्छ । यस अर्थमा कार्यवाहक बन्ने कुरा कुनै खुवी, गौरव वा आफ्नो कुनै लगानी वा भनौं पौरखको विषय होइन । यो कसैले केही समय लाई सुम्पिएको समयसीमा तोकिएको निमित्त नायकको पगरी मात्र हो । 

तर पनि कार्यवाहक हुन पाएकोमा पनि ठूलो गर्व घमण्ड गर्ने, त्यसवापत पाएको सहुलियतको दुरुपयोग गर्नमा मख्ख पर्ने कार्यवाहक मनुवा धेरै पाइन्छन् । कार्यवाहककै कुरा गर्दा यससँग घटेको एउटा अनौठो घटना नेपाली जनजीब्रोमा सधै उखान टुक्का रुपमा सुनिदैं आएको छ । कुरा २०१४÷१५ सालतिरको हो, सुदूर पश्चिमको जिल्ला जुम्लामा एकैपटक जिल्लाका प्रमुख रहेका बडाहाकिम, प्रहरी थानामा प्रमुख रहेका सब इन्स्पेक्टर रहेका थानेदार र न्यायाधीश एकैपटक सरुवा गरेर काठमाडौँ झिकाइएछन् । 

त्यहाँ वडाहाकिमको कार्यालयमा रहेका मुखिया कार्यवाहक बडाहाकिम, प्रहरीका हवल्दार स्वतः कार्यवाहक थानेदार अदालतमा रहेका तामेलदार कार्यवाहक न्यायाधीश भएछन् । कार्यवाहक पद धारण गरेका तीनै जनामा मैमत्ता हावी भयो । तीनैजनाले स्वेच्छाचारी रुपमा कामगर्न थाले । कार्यवाहक बडाहाकिम बनेको मुखियाले कार्यवाहक थानेदार बनेको हवल्दारलाई निलम्बन गर्यो । कार्यवाहक थानेदार बनेको हवल्दारले कार्यवाहक बडाहाकिमलाई थुनिदियो । यी दुवैको मुद्दा कार्यवाहक न्यायाधीश बनेको तामेलदारले दुवैको जागिर खाने फैशला गरिदियो । यसको कथा यति नै हो । हिजोआज पनि कार्यवाहकले गरेका अधिकार दुरुपयोगका कुरा चल्दा यस प्रशङ्गको चर्चा हुने गर्छ । 

संसदमा प्रमुख प्रतिपक्षी बिरामी भयो, बिदामा बस्यो र कार्यवाहक बन्ने अवसर जुर्यो कसैलाई । स्वभाविक छ, कार्यवाहक वा कामयमुकायम पद धारण गरेपछि दुइचारवटा तुक बुेतुकका कामकारवाही गर्नु उसको प्रकतिजन्य स्वभाव हो ।

यो आलेखको मूल बिषय भने यो होइन । मूल विषय भने नेपालमा अहिले संसदमा  देखिएको ‘कार्यवाहक प्रतिपक्ष’ को हो । पार्टीमा कार्यवाहक नपाएपछि प्रतिपक्षीको कार्यबाहक भूमिकामा देखिनुभएका बरिष्ठ नेता माधव नेपालको भूमिकाबारे हो । प्रमुख प्रतिपक्ष आफै भित्रको विकारले ग्रस्त भएर बिरामी भइ बिश्राम गरेको अवस्थामा कतैबाट कसैले कसैलाई कार्यवाहकको अख्तियारी दिइएर काम गर्न खटाइएछ । त्यो अख्यिारी कहाँबाट कसले कसरी दियो थाहा छैन । त्यो जुम्ला जिल्लाको न्यायालयको तामेलदारले आफु स्वयं कार्यवाहक न्यायाधीश भएझै स्वतः भएका हुन वा कुनै शक्तिशाली व्यक्ति वा संस्थाबाट दिइएर  पाएका हुन् थाहा भएन । तर कार्यवाहक प्रतिपक्ष बनेको कुरा भने तामेलदार न्यायाधीश बने जस्तै ध्रुवसत्य कुरा हो । अनाधिकृत व्यक्ति वा ओहोदा र दर्जा नपुेको व्यक्तिले कुनै जिम्मेवारी सम्हाल्यो भने त्यसले ठूलै हङ्गामा मच्चाउने कुरा स्वभाविक हरेछ । त्यसैले कवि, साहित्यकार र लेखकले “ उर्लदो खहरे हेर कत्तिको गड्गडाउँछ” भन्ने सत्यलाई उजागर गरेको हुनुपर्दछ । 

कार्यवाहक बारे जतिसुकै लाञ्छना लगाए पनि कार्यवाहक भनेको आवश्यकताको सिद्धान्तले काम चलाउन जन्माउने अनिवार्य पद र पोजिशन रहेछ । यदी प्रतिनिधिसभामा एउटा बलियो, उत्तरदायित्व निर्वाह गर्ने सक्षम र दायित्वबोध भएको प्रतिपक्षी हुन्थ्यो भने कुनै एउटा महत्वाकांक्षी, झिंगेदाउ लगाउन पल्केकाहरु कहिल्यै पनि कायम मुकायम प्रतिपक्षीको पदमा उदाउन सक्ने अवस्था नै थिएन । तर संसदमा प्रमुख प्रतिपक्षी बिरामी भयो, बिदामा बस्यो र कार्यवाहक बन्ने अवसर जुर्यो कसैलाई । स्वभाविक छ, कार्यवाहक वा कामयमुकायम पद धारण गरेपछि दुइचारवटा तुक बुेतुकका कामकारवाही गर्नु उसको प्रकतिजन्य स्वभाव हो । त्यस्तो स्वभावमा भावुकता, वैराग्यता, कुण्ठा,छटपटी, दुराशा, निराशा, तमाशा, छुद्रता,रागअनुराग, इष्र्या बेगआवेग,मौका परस्तता, सबै एकसाथ उपस्थित हुने गर्दछन् । यो कार्यवाहकको पुस्तौनी जातिय गुण हो । त्यो नहुँदो हो त एकताक विपक्षीहरुले “हरुवाको सरकार फेल भएका लाई पुरस्कार”, दुई दुई ठाउँमा हारेका प्रधानमन्त्री हुन्छन भने एस.एल.सी. फेल भएकालाई राष्ट्रपति किन नबनाउने आदि इत्यादिका खिसी तिउरी गर्दा समेत थेगो लगाएर संसद र सडकममा सधै काँध थापेर हिड्ने एउटा सहयोद्धालाई कार्यवाहक बने भन्दैमा जुम्लाका तामेलदारले जस्तै गर्ने कुरालाई दुनियाँले कसरी लेला ? 

धेरै छाँयावादी कुरा नगर्ने हो भने पनि के मुुलुक अहिले छ आठ महिनामा जलमग्न भएर डुब्न लागेको हो त ? राजा आउ देश बचाऊको शैली र छ कोही माझी मेरा बचाउन आउ भन्नुमा तात्विक अन्तर केही छ ? संसदमा ओकलिएको यो बेमौसमी राग र सडकमा चिच्याउँदै राजा आऊ देश बचाउ भन्नेको स्वर, राग र संस्कार मिल्छ कि मिल्दैन ? को माझी आउने जबकी नेपाली जनताले आफ्नो मताधिकार दिएर बनेको सांसदहरुले दिएको जनादेश प्राप्त प्रधानमन्त्रीले खियाइरहेको नाहु (डुंगा) लाई डुब्न लागेको दिग्भ्रमित हुने र नयाँ माझीको हारगुहार गर्ने कार्यवाहकज्यूको छटपटिलाई कसरी परिभाषित गर्ने ? यसलाई सुनसान वनमा रुखबाट बेल खसेको आवाजलाई प्रलय भएको सम्झिएर एताउता भौतारिएको खरायोको अवस्था हो कि ? अथवा आकाश पट्टी उत्तानो परेर सुतेको हुटिट्याउँले सम्पूर्ण आकाशलाई मैले नै थेगेर राखेको छु भन्ने हुटिट्याउँको दिग्भ्रममात्र हो ? वा खाल्डाखुल्डी भएको बाटोमा हिँडिरहेको बसमा चढ्ने एकजना बृद्धले अत्तालिएर बसभित्र हात समाउने सबै डण्डिमा समाउँदै आफ्नो कारणले बस पल्टिनबाट जोगिएको भ्रम पालेको जस्तै त होइन ?