काठमाडौं, १६ असार - भारतले चीनसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ ।

भारत र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडप भएपछि भारतले चीनसँग सम्बन्धित ‘टिकटक, शेयर इट’ लगायत ५९ वटा मोबाइल एप्लीकेशनमाथि प्रतिबन्ध लगाएको छ ।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रबिधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’ को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको छ । उक्त अनुच्छेदले सर्वसाधारणले सूचना प्राप्त गर्न प्रयोग गर्ने विधि र सुरक्षाका उपाय सम्बन्धी व्यवस्था गरेको छ । सार्वभौमिकता, अखण्डता, भारतको सुरक्षा, राज्यको सुरक्षा र जन आदेशसँग सम्बन्धित रहेकोले सोमबार चीनको ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाउने निर्णय गरिएको भारत सरकारले सोमबार साँझ आदेश जारी गरेको छ ।

प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेशनमा टिकटक,जोमाटो, स्विगी, ओला, शेयर इट, वी च्याट, वेइबो, क्वै, यूसी ब्राउजर, शैन, क्लेश अफ क्ल्यान, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर, रोम्वे, क्लब फैक्ट्री लगायतका रहेका छन् ।