काठमाडौं, २९ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र समृद्धि प्राप्त गर्नका लागि नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्न आग्रह गर्दै त्यसमा काँधमा काँध मिलाएर सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना गरेको नागरिक अभिनन्दनमा बोल्दै प्रधानमन्त्री मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उदेश्यलाई पुरा गर्न भारत तयार रहेको बताउनुभएको हो ।

‘मेरो सन्देश यही छ कि नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढोस्, तपाईको सफलताका लागि भारत नेपालसँग काँधमा काँधमा मिलाएर चल्न तयार छ । नेपालको खुशीमा नै  भारत खुशी हुन्छ । म यही भन्न चाहान्छु’ उहाँले भन्नुभयो । 

भारतको विदेश नीति छिमेकीहरुलाई साथमा लिएर चल्नुपर्छ भन्ने सिद्धान्तमा आधारित रहेको भन्दै सबै छिमेकमा साझा विकासको पक्षमा आफू रहेको बताउनुभयो । ‘हाम्रो विदेश नीति सबैलाई साथ लिएर चल्नेमा आधारित छ । भारतको विकासको अनुभव छिमेकमा शेयर गर्न चाहान्छौं । नेइवर फष्ट हाम्रो विदेश नीतिमात्र होइन, यो भारतको परम्परा नै हो’ उहाँले भन्नुभयो । 

भारतले नेपाललाई जहिले पनि खुशी देख्न चाहेको भन्दै मोदीले नेपाल र नेपाली जनताको उज्वल भविश्यको कामना गर्नुभयो ।  ‘एक बर्षमा तीनवटा निर्वाचन गरेर नेपालमा लोकतान्त्रिक सरकार निर्माण भएको छ । नेपाली जनतामा यो शक्ति अन्तरनिहित छ । त्यसका लागि सरकार र जनतालाई अभिनन्दन गर्न चाहान्छु’ प्रधानमन्त्री मोदीले भन्नुभयो । 

भूकम्पपछि नेपालमा देश र समाजकै पुननिर्माण भइरहेको भन्दै नेपालमा नयाँ व्यवस्थाको निर्माणले विकास अव सम्भव हुने बताउनुभयो  ।  ‘म नेपाललाई देखेर खुशी हुन्छु । उज्वल भविश्यको कामना गर्छु । समृद्ध नेपाल, सुखी नेपालीका लागि शुभकामना दिन्छु । यो सवै समाजको निष्ठा र नेपालीको कर्मको परिणाम हो । नेपालमा एक नयाँ व्यवस्थाको निर्माण भयो । भूकम्पपछि देश र समाजको पुर्ननिर्माण भएको छ’ मोदीले भन्नुभयो । 

नेपालले युद्धदेखि बुद्धको लामो यात्रा पुरा गरेको, बुलेटको छोडेर ब्यालेटको यात्रा पुरा गरेको तर विकासको यात्रा वाँकी नै रहेको बताउनुभयो । ‘लक्ष्य टाढा छ । यात्रा लामो गर्नुछ । हामी सगरमाथाको आधारशिविर पुग्यौं । अव शिखरको चढाई तय गर्नुछ । यो यात्रा तय गर्न भारत सहयोग गर्न तयार छ’ मोदीले भन्नुभयो ।

नेपाल र भारतबीचको जनसम्पर्क बढ्दै गएको भन्दै त्यसको उदारणका रुपमा भारतमा जारी आइपीएलमा नेपाली युवा सन्दीप लामिछानेको प्रवेशलाई प्रस्तुत गर्नुभयो । ‘यतिबेला नेपालमा आइपीएल भइरहेको छ । नेपाल पनि आइपीएलमा जोडिएको छ । नेपालका एक नवयुवक सन्दीप लामिछाने आइपीएलमा भाग लिइरहेका छन् । आउने दिनमा यस्तो जनसम्पर्क झन बढ्दै जाने विश्वास लिएको छु’ उहाँले भन्नुभयो ।