सन् १९६५ मा साहित्यकार स्वर्गीय इन्द्रबहादुर राईले साहित्य कसरी बन्छ र के साहित्य होइन भन्ने विषयमा एउटा छोटो टिपोट दिनुभएको थियो जुन इन्द्र सम्पूर्णको भाग पाँचमा प्रकाशित छ । लेखक इबरालाई सम्झिन त्यो टिपोट यहाँ जस्ताको त्यस्तै :

अघि उपदेशवाद धेरै कालतक साहित्यसँग रहेको थियो, साहित्य यो हो झैं भएको थियो, पछि तर यो साहित्य होइन ठहर्यो र अन्यत्रै लाग्यो । साहित्यमा यस्ता कति चीज टाँसिएर आउँछन् जुन पछि गएर साहित्यका हुँदैनन् । ती अघिबाटै नचिने आफ्नो श्रम र समय लेखकले खेर फाल्छन् ।

प्रचलित वाद हरुलाई श्रेष्ठ देखेर ठोकीपिटी रचनाहरु ती अनुरुप बनाउनमा यै भूल दोहोरिन्छ, घुम्छ । फेदैमा भूल छ साहित्यलाई साधन मात्र मान्नमा । जातिवाद, वर्गवाद उकाल्नलाई अथवा फ्रायडवाद, नित्सेवाद  प्रस्टाउनलाई लेख्नेहरुले साहित्यलाई साधन मात्र बनाएर दुरुपयोग गरेका हुन्छन् ।

साहित्य जीवनकै बराबरी हो । साध्यसमेत हो, जीवन जस्तै । एउटा  धूपी उम्रन्छ, बढ्छ, उभिन्छ । कसैलाई कुनै काम लागौंला भनेर होइन, आफैँ बाँच्न  र हुनलाई हो । जीवन ब्यक्त भएतक नै कृतिहरु बाँच्छन् ।

जीवन व्यक्ताउनलाई, उद्घाटित गर्नलाई यी वादहरु साधन हुन् । कुनै वादका वादीले साहित्य लेख्दा र एउटा साहित्यिकले वादहरुको सहायता लिंदा यै प्रभेद रहेको हुन्छ ।

साहित्यकारले जीवनलाईनै बिना कुनै वादको पूर्वाग्रह हेर्दछ । वादहरु जम्मै आविष्कार भैसकेका छैनन्, तर आदिदेखि जीवन पूर्ण छ, यसले घट्नु बढ्नु पर्दैन । जीवनलाई पक्रेर लेखेका कृतिको व्याख्या गर्न सयौं वर्ष लाग्छ, र पनि सक्दैनन् ।

सोफोक्लिसको राजा इडिपस फ्रायडको इडिपस चेतनाले ब्याख्या गरेर सक्दैन । शेक्सपियरको ह्याम्लेटको स्थगित कार्यको ब्याख्यामा माक्र्सवादले व्यक्तिवादको कमजोरीबारे मात्र लेख्न सकेको छ । जातिवाद, वर्गवाद, देशवाद इत्यादिको मूल्य साहित्यमा इलियटको विषयगत समाधार सम्मको मात्र हुन्छ, यीमाथि टेको पाई जीवन अभिव्यक्त हुन्छ जुन साहित्यको आफैँझैं साध्य हो ।