निरन्तर प्रयोगशील स्रष्टाका रुपमा सुपरिचित श्रद्धेय इन्द्रबहादुर राई विपना कतिपयका कथाहरु देखि नै नयाँ देखिँदै आउनु भएको हो । त्यसो त आख्यानमा नयाँ पनको अनौठो प्रस्तुति ‘आज रमिता छ’ उपन्यास राच्चै नै आज पनि रमिता नै छ । २०२१ सालमा प्रकाशीत त्यो उपन्यासले उसै बेला बोकेको उत्तरआधुनिक छाप आजसम्म नेपाली उपन्यासमा जेठै देखिन्छ । 

उहाँले विपना कतिपयका कथाहरुलाई पारस्परिक लेखनमा रुपमा मान्नु भएता पनि पाठकहरुलाई ती कथा पारस्परिक मात्र लाग्दैनन् । हामी जस्तै मैनाकी आमा, छुट्याइयो , रातभरि हुरी चल्यो, जार भएकै एउटा कथा, मेरी दिदी, जस्ता कथाहरुले विपना कतिपयलाई उत्कृष्ट संग्रह बनाएकै थियो । सन् १९६० मा छापिएका ती कथाहरुको संग्रह आज समेत उत्तिकै समकालीन छन् । 

अलिकति अघि बढेर तेस्रो आयाम तिर लागेका बेला कवितामा बैरागी काइँला र ईश्वरबल्लभले काम गर्दा गर्दै कथा समालोचनामा केन्द्रित उहाँका कथास्थाका कथाहरुमा फरक शैली आएका हुन् । ती कथाले बोकेको दुर्बोध्यताको रिङटा धेरै पछिसम्म रहिरह्यो । तै पनि एउटा दिनको सामान्यता , ऊ त्यसरी बाँचेको छ त्यसरी नै, टाडामा जस्ता कथाहरुले पाठकलाई खुशी नपारेका थिएनन् । 

इन्द्रबहादुर राईको कथा यात्राको तेस्रो चरण लीलालेखनमा आएर उभिएको देखिन्छ । यसै चौतारीमा बसेर उहााले भनिरहनुभएका कथाहरु र कथा भन्ने शैली आजको नेपाली साहित्यमा उच्चतम चर्चाको विषय छ । यो पछिल्लो शैलीमाआख्यान लेख्नेहरुको ठूलै संख्या देखिन्छ । यस शैलीका उहाँका महारुदन , बाध, विश्व तिम्रो चरणमा, कठपुतलीको मन, झ्याल जस्ता कथाहरुले कथा पाठकलाई धेरै हदसम्म हत्केलामा च्युँडो अड्याउन लगाउछ । 

उहाका तीनै चरणका कथाहरुबाट केहि प्रातिनिधिक प्रस्तुतिका रुपमा आइरहेको यो कृति इन्द्रबहादुर राईका कथाका पाठकहरुका लागि ज्यादै महत्वपूर्ण प्राप्ती भन्ने लाग्दछ ।