नेपाल र नेपालीको पहिचानलाई समृद्ध बनाउन हाम्रा रितिरिवाज र संस्कृतीको बलियो भूमिका छ । नेपाल बहुजाति, धर्म र संस्कृतिले सम्पन्न देश हो । हामी यो वर्षको हरितालिका तीजलाई विदा गर्ने क्रममा छौं । तीज भन्ने बित्तिकै यो चाडले आमा, दिदीबहिनीलाई फुरुङ्ग बनाउँछ साथै बुवा दाजुभाईहरुलाई पनि आफन्तसँगको भेटघाटले उत्तिकै उत्साहित भएको पाइन्छ । धर्मशास्त्र अनुसार, सत्ययुगमा हिमालपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजपछि उनले साथीहरुलाई सुनाइन् । पार्वतीको समस्या सुनेर उनका साथीहरुले कसैले नदेख्ने ठाउँमा लुकाउँछन् । त्यही लुकेर बसेको ठाउँमा पार्वतीले व्रत गरी महादेवलाई प्राप्त गरिन् भनेर उल्लेख गरिएको छ । सोही समय देखि हरितालिका तिजको व्रतको प्रचलन सुरु भएको पाइन्छ । 

समय र परिस्थितीले हाम्रा चाडपर्व पनि परिमार्जित भइरहेका छन् । त्यो सुरुवाती समयको तिजको गरिमा निस्वार्थ चाहनाको लागि गरिएको तपस्या र त्याग, केही समय अगाडीसम्म विवाहित महिला माइत जाने मिठो खाने, आमाबुवा दाजुभाईसँग सुखदुख साट्ने भन्ने थियो भने अहिले परिवारका सबै सदस्य जम्मा भएर रमाइलो गर्ने ठाउँमा आइपुगेका छौं । आजभोलि तीज दिदीवहिनी जत्तिकै दाजुभाई र ज्वाईलाई पनि लाग्न थालेको छ । तीज परिवारमा मात्रैपनि सिमित् रहेन । समाजसँग सद्भाव साट्ने पर्वको रुपमा विकास भएको छ । सामाजिकिरण हुने कुरालाई सकारात्मक रुप लिनुपर्छ । तर समाजको चेतनालाई अब यस किसिमका चाड रमाइलो गर्ने माध्यमका रुपमा मात्रै बनाइयो भने हाम्रो प्रगतिशिल सोच, समाजवादउन्मुख समाजको परिकल्पना निरर्थक बन्छ । समाजमा भएका विकृति विसंगति हटाउनकालागि एकजुट हुने साहसको विकास हुन आवश्यक छ । 

विशेष गरेर महिलाको चाड भनेर चिनिने यस प्रकारका पर्व मनाउँदै गर्दा सामाजिक पक्षमा पनि ध्यान दिनु एउटा सचेत नागरिकको दायित्व पनि हुन्छ । चाडपर्व मनाउनमा निकै अगाडि पुगेका छौं तर हाम्रो समाजमा अझै यस्ता प्रतिनिधि पात्रहरु छन जो वालिकामै बलाकृत हुन्छन् । परिवारको खुशीका लागि बालबिवाह गर्न बाध्य छन् । सँगैको दाजुभाईको तुलनामा अध्ययन र अवसरमा पछाडि पारिएका छन् । हामी भन्छौं– प्रकृतीको सुन्दर सृजना हो मानव । तर अहिले पनि बालिकाहरु क्रुर अमानवियताको शिकार भएका छन् । यस प्रकारका घटनाबाट प्राप्त गरेको शिक्षा व्यक्तिको लागि मात्रै होइन, परिवार र समाजको लागि नै उपयोगी बनाउनुपर्छ । महिलाले पाएको शिक्षा समाजको समृद्धिको आधारशिला हो । उसको दक्षता परिवारको खुशीको माध्यम हो । यो कुरा प्रत्येक अभिभावकले, प्रत्येक नागरिकले बुझ्न जरुरी छ । नेपाली महिलाहरु २०६२।०६३ को जनआन्दोलनमा साथै सशस्त्र युद्धमा समेत उत्तिकै सहभागी भएका थिए । र, प्रत्यक्ष निर्वाचित तथा समावेशी माध्यमबाट पनि नेपालको संसदमा पनि उल्लेख्य उपस्थिती रहेको छ । जसको परिणामस्वरुप नेपालको संविधानले पनि महिलाहरु अधिकार सम्पन्न भएका छन् । तर कार्यान्वयन पक्षमा हरेक नागरिक दृढ नहुने हो भने यस किसिमका उपलब्धी सार्थक हुदैनन् । समाजलाई सुसंस्कृत बनाउन महिला पुरुष दुवैको सकारात्मक भूमिकाको उत्तिकै आवश्यकता छ । केही खराब व्यक्तिका कारण सबै पुरुष वा सबै महिला गलत समुहमा पर्ने गर्दछन । यो सामाजिक समस्याको समाधान भने होइन । समाज पुरुष वा महिला कोही एक बिना अपुरो हुन्छ । त्यसकारण सुशासनयुक्त समाजको निर्माणमा सबै आ–आफ्नो ठाउँबाट जुट्न अब ढिला गर्नुहँुदैन ।

धर्म सबैको आफ्नो स्वेच्छिक हुन्छ तर संस्कृति जोगाउने दायित्वमा सवै एकजुट बन्नुपर्दछ । धर्म र संस्कृति फरक फरक पक्ष हुन । कुनै चाडमा लैंगिक, जातीय वा अन्य प्रकारका विभेद छन् भने त्यसको अन्त्य गर्दै संस्कृतीको जर्गेना गर्नु हाम्रो दायित्व हो । तर मौलिकता नै समाप्त पार्ने बजारीकरणलाई भने रोक्नुपर्छ । 

पछिल्लो केही समय चाडपर्वले बढाएको बजारीकरणको निकै टिप्पणी हुने गरेको छ । हरितालीका तीजको अघिल्लो दिन माइतीघरमा सिमित हुने दरखाने परम्पराबाट तीजको केही समय अगाडीदेखि नै पार्टी प्यालेस र होटलहरुमा दरखान थालिएको छ । यसलाई नेपालीहरुको आर्थिक समृद्धीप्रतिको संकेतको रुपमा पनि हेर्न सकिन्छ । तर सोही कार्यमा हुने र नहुनेबीचको वर्गीय विभेदसम्म पुग्नुचैं मौलिक संस्कृतीप्रति अन्याय भएको छ । एउटा पक्ष बजारमा भएको पूँजीको संचालन हुने, त्यहाँ पनि एउटा व्यवसाय त सञ्चालन भएको हुन्छ । नेपालीहरुको सबल बन्दै गएको आर्थिक समृद्धिको झल्कन्छ । अर्कातिर,  देखासिकीको रुपमा बृद्धी भइरहेको यसको ट्रेनलाई भने रोक्नुपर्दछ । सामाजिक सद्भाव र भाइचारा बढाउने पर्वको रुपमा रुपान्तरण गर्नुपर्दछ । नेपाल एक धर्म निरपेक्ष राज्य भैसकेको यो समयमा धर्म सबैको आफ्नो स्वेच्छिक हुन्छ तर संस्कृति जोगाउने दायित्वमा एकजुट बन्नुपर्दछ । धर्म र संस्कृति फरकफरक पक्ष हुन । कुनै चाडमा लैंगिक, जातीय वा अन्य प्रकारका विभेद छन् भने त्यसको अन्त्य गर्दै संस्कृतीको जर्गेना गर्नु हाम्रो दायित्व हो । राष्ट्र, राष्ट्रियता र संस्कृतीलाई मजबुद बनाउँदै हाम्रा पर्वहरु पनि मनोरञ्जनको साथमा सामाजिक समृद्धिलाई मजबुद बनाउनतर्फ उन्मुख हुन आवश्यक छ । समतामूलक समाजको निर्माणबिना समृद्धि सम्भव छैन । त्यसैले चाडपर्वमा गरिने कामको गन्तव्य पनि जीवनसँग जोडिने बनाउँदै आलोचनायुक्त होइन, अनुकरणीय बनाउनतर्फ हामी सबैले ध्यान दिन जरुरी छ । 
(उपाध्यक्ष, अनेरास्ववियु केन्द्रीय कमिटी )