पूर्वीय दर्शन र संस्कृतका धुरन्धर विद्वान जगमान गुरुङ इतिहास र समाज विज्ञानमा पनि उत्तिकै दख्खल राख्नुहुन्छ । राजनीतिमा उतिसाह्रो चासो नराख्ने गुरुङ राष्ट्रियता र स्वदेशको मौलिक संस्कृतिको तार्किक वकालतमा सक्रिय हुनुहुन्छ । राजनीतिबारे कहिल्यै टिप्पणी नगर्ने उहाँ यसपटकको चुनावपछि भने राजनीतिक विषयमा पनि वार्ता गर्न तयार हुनुभयो । पछिल्लो चुनावी नतिजा र आगामी सरकारले गर्नु पर्ने कामबारे गुरुङसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 
 
तपाईं राजनीतिबाट बाहिरै रहेर समाज र संस्कृतिको अध्ययन गर्दै आउनु भएको छ । समाज विज्ञानको आँखाबाट हेर्दा अहिलेको चुनावबाट आएको जनमत के का लागि हो जस्तो लाग्छ ?
समाज भनेको हरेक एक ब्यक्ति नै हो । हरेक एक ब्यक्ति पनि त्यहि समाजको गतिविधिबाट निर्देशित हुन्छ । कुनै ब्यक्तिलाई राजनीतिक दलले आफ्नो दलको कार्यकर्ता सम्झे पनि उ एउटा मान्छे हो । कुनै दलले पनि भोटलाई पेवा ठान्नु हुँदैन र पेवा हुन्न पनि । सबै कुरा मान्छेले म कसरी जिउने भन्ने कुरामा आएर अडिएको हुन्छ । उसले आफू सामाजिक हुनलाई चाहिने न्युनतम आधार खोज्छ । हाम्रो समाज अस्थिर सरकारको असर भोगेको र त्यसैबाट पिछडिएको समाज हो । यसले पहिलो आफ्नो लागि बोलिदिने ओत खोज्छ । त्यो ओत कहिले एउटा दलले प्रदान गर्छ त कहिले अर्को दलले । हिजो हिजो कांग्रेससँग थियो त्यो ओतको विश्वास, एक पटक माओवादीमा सर्यो । अहिले स्वाट्टै एमालेमा आयो । 

पछिल्लो समयमा हामी धर्म निरपेक्ष भएको संवैधानिक गणतन्त्रमा गयौं । जनताको चाहनाले समाज गाइडेन्स गर्छ । किनकि जनता धार्मिक, सांस्कृतिक र जातीय धरातलमा पिल्सिएर बस्न चाहान्न । गणतन्त्र, धर्मनिरपेक्षता भनेको खुल्ला आकाश हो । बा आमा, श्रीमान , श्रीमती हरेक आआफ्नो सिद्धान्तमा बसेका छन् । एक अर्काको नियन्त्रण नमान्ने यो समाजमा दलको, राज्यको र धर्मको निगरानी कसले मान्ने ? 

नैनिक स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता युगको माग हो । जनताको चाहना भनेको पनि यहि हो । तर यसको कार्यान्वयन गर्न सहि ब्यक्ति चाहिन्छ । भेडाको गोठालो गतिलो भएन भने भेडाबाख्रालाई कि बाघ भालुले खान्छ, नभए आफ्नो चरन छोडेर आर्काको बालीमा जान्छ । क्रिश्चियनिटीमा जिससले सेफर्ड भन्छ । त्यसो भनेको सम्पूर्ण जीव भेडा र प्रभु चाहिँ गोठाला । हिन्दु धर्ममा भगवान श्रीकृष्णलाई गौ पालक अर्थात् हामी सबै गौ प्राणी भनिन्छ । गौ पालक भनेर कृष्णलाई गोपाल भनिएको हो । हो नेपालमा पनि धर्म निरपेक्षता र संघीय लोकत्रान्त्रिक गणतन्त्रलाई सहि दिशामा लैजान कुन दलले कसको नेतृत्वमा गर्न सक्छ भन्ने यक्ष प्रश्न हुन्छ । 

अर्को कुरा हिजो पनि नेपालमा बहुमतको सरकार बनेको थियो र प्रजातन्त्र पनि आएको थियो । ७ सालमा नेपालमा प्रजातन्त्र ल्याउने नेतृत्व कांग्रेसले गर्यो । त्यसअघि नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस । डिल्लीरमण र कीर्तिनिधि विष्ट राष्ट्रिय कांग्रेमा हुनुहुन्थ्यो । बीपी र कृष्णप्रसादहरु प्रजातन्त्र कांग्रेसमा हुनुहुन्थ्यो । पछि यी दुईलाई मिलाएर नेपाली कांग्रेस बनाइयो । वामपन्थी दलको प्रभाव कमजोर थियो । १५ सालको चुनावमा बामपन्थीको चार सिट मात्र थियो । तर त्यो चार सिट सिडको रुपमा विकास भयो । कांग्रेसले दुईतिहाई सिट जितेको थियो । पछि ०४८ सालमा पनि कांग्रेसले ११२ सिटमा जितेर बहुमत ल्यायो । तर उसले जनअपेक्षा पूरा गर्न त सकेन नै आफ्नो बहुमतको सरकार पनि टिकाउन सकेन मध्यावधि चुनाव गर्यो । 

मैले भन्न खोजेको के हो भने नेपाली जनतामा अझै पनि पर्याप्त राजनैतिक चेताना आइसकेको छैन । अहिले पनि प्रत्यक्ष चुनावमा एमाले आयो तर समानुपातिकमा कांग्रेस झण्डै उतिकै मतमा छ । एमालेलाई भोट दिएपछि सरकारमा कसले नेतृत्व गर्छ भन्ने जनताले हेर्यो । एमालेबाट नेतृत्व गर्ने ब्यक्तिप्रति जनतामा भरोसा देखियो । तर, पहिले देखि कांग्रेस रहेकाले कांग्रेसलाई नै भोट दिए । पर्याप्त चेतना छैन भन्ने मैले यसकारण भन्न खोजेको । 

अहिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा  एमालेले बढि सिट जित्नु भनेको एमाले पार्टी सहि ब्यक्तिको हातमा पुगेर हो । हुन त मैले यसो भन्दा अरु नेताले चित्त नदुखाउन् । तर, अहिलेको यो भोट भनेको एमाले पार्टी भन्दा पनि राजनीतिमा केपी ओलीको असल भूमिकाका कारण आएको हो ।  भूकम्पको  राहतमा पनि भ्रष्टाचार हुने कसैले पनि बोल्न नसक्ने, देशको राष्ट्रियतामा आँच आउनेगरि नेता उफ्रने तर कोही नबोल्ने, हामी भूकम्पले लडीरहेको बेला नाकाबन्दी लगाएर हाम्रो घाँटी थिच्न आउने भारत तर, कोही नेता नबोल्ने यस्ता अनेकौ अत्याचार बिरुद्ध ओली मात्र यस्तो देखिए उनी एक्लै उभिएर लडे । त्यसलाई जनताले साथ दिएको हो । उनीमाथि भरोसा गरेको हो । 

हेर्नोस् त प्रचण्डको पालामा बूढीगण्डकी बनाउने काम चीनलाई दिएको फेरि भारतको दवावले उहि सरकारमा हुँदाहुँदै खोसेको । त्यहि हप्तामै भारतले नेपालमा आएको विद्युत बन्द गर्यो । हेर्नोस् त भारतको हेपाई अनि नेपाली नेताको अनुनयबिनय ? नेताको भीडमा केपी ओली सबैभन्दा फरक देखिए । ओलीको ब्यक्तिगत जीवन र राजनीतिबारे मलाई त्यति थाहा छैन । तर, उनले आफ्नो निजी भन्दा राष्ट्र र जनताको अवाज   पहिला सुने । बालीमा युरिया मल हाल्यो भने कसरी सप्रिन्छ, त्यसैगरी जुन उम्मेदवारका पक्षमा ओली लागे त्यहि उम्मेदवारले जित्ने अवस्था बन्यो । 

अहिलेको चुनावमा मात्रै राजनीतिमा यस्तो अवस्था आएको थियो कि प्रचीन युगमा पनि यस्ता राजनीतिक घटनाहरु हुन्थे ? 
चुनाव भनेको स्वयंबर हो । हामीले महाभारतमा राम र सीता, द्रौपदी र अर्जुनको स्वयंबर पनि पढेका छौं । जजसले रौद्र कर्म गर्न सके, उसैलाई कन्याद्वारा बरमाला पहिर्याउने गरिन्थ्यो । स्वयंवरलाई हामीले बिहेको अर्थमा बुझ्यौं । तर, स्वयंवर भनेको आफूले आफैंलाई वरण गर्नु हो । मैले अरु कसैंलाई आफैंको रुपमा वरण गरेँ भनेको हो । मतदान पनि त्यस्तै स्वयंवर हो । अब नेपालले राज्यलक्ष्मीको बरमाला मात्र होइन बरदानमाला पहिर्याउन लाग्या छ । नेपाली धर्ती संकटमा हुँदा मेरो लागि बोलीदिने तैँ रहेछस् बाबै भनेर, त्यहि रौद्र कामको लागि ओलीलाई बरदानमाला पहिर्याउन खोजेको हो । म त दल, पार्टी पनि भन्दिनँ, नेतृत्वमा बसेको एउटा ब्यक्ति मातृभूमिको र जनताको पक्षमा इमान्दार हुँदा के हुँदो रहेछ भन्ने प्रमाण हो यो । 

प्रष्ट छ, ओलीको पार्टी यो बेला भन्दा अगाडि पनि थियो, अहिले आएको त होइन । तर अरुले यहि काम गर्न सकेनन् । सकेको भए अरुले जनताबाट यो बरदान पाउँथे । गरेनन् र पाएनन् । यो जनमतले त्यहि भन्छ । 

यो मत मार्फत जनताको अपेक्षा चाहिँ के हुन् ? 
हाम्रो समाज लामो समयदेखि र अशान्ति र अस्थिरताबाट गुज्रेर आयो । यो अस्थिरताका लागि यहाँको जातीय, धार्मिक, सांस्कृतिक विविधतामाथि खेल्ने वाह्य पक्षको चरित्र दोषी छ । हाम्रा नेता भनिएका ब्यक्तिहरु त्यसैको पछि बहकिए । यसले हरेक एकजना नागरिकलाई गरिव बनाउन काम गरेको छ । त्यसबाट विदेसी हस्तक्षेप बढ्यो । देशमा कहिल्यै स्थिरता भएन र अस्थिरताका कारण विकास भएन । तर, यो कुरा ओलीले बुझे । उनी यति बलियोसँग एक्लै उभिए कि यो कुरा जनताले पनि बुझे । त्यसैले जनताको ओलीप्रतिको अपेक्षा भन्या पनि विदेशीसँग नझुक, देशमा स्थिरता ल्याउ, देशको आफ्नो सामथ्र्य बढाउ । त्यति भयो भने विकासतिर मुलुक आफैं जान्छ । अनि यसलाई अवरोध गर्न खोज्ने पक्षले सावित हुन नसक्ने खालका आरोप लगाए । ओलीको नेतृत्व आयो भने अधिनायकवाद आउँछ भने । यसलाई कसैले पत्याएन, पत्याउने ठाउँ पनि थिएन ।  

ओली प्रधानमन्त्री हुँदा पनि तपाईंले भनेजस्ता काम गर्नु त चुनौतीपूर्ण छ नि ? 
हेर्नुस् है, म राजनीतिक मान्छे होइन । म समाज र संस्कृति पढेको मान्छे हुँ । इतिहास पढेको मान्छे हुँ । तर, म यो ब्यवस्थाको भुक्तभोगी चाहिँ हुँ । यसै कारण म के चाहिँ भन्न सक्छु भने संघीय लोकत्रान्त्रिक गणतन्त्र जे भनिएको छ त्यो जस्ताको तस्तै लागू हुन गाह्रो देख्छु म । हाम्रो समाजमा तीन खालका मानसिकता छ । एक, जडशुत्रवादी, अर्को आमुल परिवर्तन मार्गीहरु र तेस्रो मध्यमार्गी । जो जडशुत्रवादी चिन्तन राख्छन् ती मानिसहरु केही सुधारै गर्नुहुँदैन भन्छन् । अर्काथरी परिवर्तनको नाममा संस्कृतिका सबै जरा खनेर सिध्याउनुपर्छ भन्ठान्छन् । यी दुवैथरी चिन्तनबाट वचाएर यहाँको संस्कृति, एकता, मिलापलाई जोगाएर परिवर्तनलाई मान्छेको जीवनमा ल्याउने खुसीसँग गाँस्ने जिम्मेवारी ओलीमाथि छ । र यो काम निकै चुनौतीपूर्ण छ । गणतन्त्र र धर्म निरपेक्षताको उन्मादमा नेपाली राष्ट्रियतालाई कमजोर हुन दिनु हुँदैन । राष्ट्रिय अखण्डतामाथि धेरै प्रहार छ, त्यसलाई असफल पार्नुपर्छ । हेरौं ओलीको कौशल कस्तो हुन्छ । उनले यी प्रबृत्तिबाट वचाएर परिवर्तनलाई जनताको हामौनिमा जोडुन् । 

खासमा तपाईं पूर्वीय दर्शन, सनातन धर्म संस्कृति र वेदको ज्ञाता हुनुहुन्छ । गणतन्त्रमाथि कतै शंका गरिहनु भएको त छैन ? अहिले यो धर्म निरपेक्षता गलत छ भन्नुहुन्छ ? 
एउटै परिवारका सदस्य त एउटै सिद्धान्तमा हुन्नन् भने एउटै धारमा हिंड भनेर कसैलाई थोपर्नु हुँदैन । घर्म निरपेक्षता भनेको खुला आकाश हो । म त त्यसलाई अझ यसरी भन्छु– मान्छेले आफ्नो आस्था अनुसारको धर्ममा आफूलाई समाहित गर्न पाउनुपर्छ । हिजो पनि यसमा बन्देज थिएन । तर, अहिले धर्मनिरपेक्षताको नाममा अराजकता र धर्म परिवर्तन मार्फत बाह्य संस्कृति थोपर्ने प्रबृत्ति छ । यसप्रति सचेत हुनुपर्छ । हाम्रा संस्कृतिहरु अतिक्रमित हुने त होइनन् ? हाम्रो राष्ट्रियता कमजोर हुने त होइन ? यस्तो डर छ । यस्तो डरबाट मुक्त हुन नेतृत्व राम्रो भयो भने मात्र सकिन्छ । मैले यसो बाहिरबाट कहिलेकाहिँ सुनेको छु, पूर्वीय दर्शन, संस्कृति, यहाँको एकता र यसको वैज्ञानिकतामा केपी ओलीसँग स्पष्टता छ । उहाँले हाम्रो दर्शनको इतिहास बुझ्नु भएको छ भन्ने लाग्छ । त्यसैले भर पर्न सकिन्छ ।

बुँदागत रुपमा भनिदिनुस्,  अब बन्ने सरकारले के के काम गर्नु पर्छ ? 
हामीले विकास विकास विकास भनेका छौं । हो, यो प्रमुख कुरा नै हो । तर, स्थिरता वना विकास हुने कुरै भएन । केपी ओली नेतृत्वको सरकारले विकासको अवधारणा नै परिवर्तन गर्नुपर्छ । विकासको नेपाली मोडल बनाउनु पर्छ । प्रोसेस अफ नेपालाइजेशन भनेको नेपाली पनको विकास हो । यो भनेको राष्ट्रियताको विकास पनि हो । इथनिक कम्बिनेशन विभिन्न समुदायबीचको समन्वय र नेशनल इन्ट्रिगेशन । यी सवै कुरालाई विकास भित्रै समेट्नु पर्छ । नत्र विकास मात्रैले केही हुँदैन । हाम्रो विकासको आफ्नोपन भएपछि हामीलाई कोही माइकालालले कहिल्यै हल्लाउन सक्ने छैन । यी काम चाहि ओलीले पहिलो प्राथामीकतामा राख्नुपर्छ ।

तपाईं समाज, संस्कृतिको गहिरो अध्ययन गर्नु भएको छ । सामाजिक समस्यालाई सम्बोधन गर्न के गर्नु पर्छ ? 
गाउँ त कुरुप पो भएको छ त । पहिलो कुरा गाउँमा मान्छे नै छैनन् । मान्छे आफ्नो ठाउँमा बसेर उत्पादनको काममा संलग्न हुने अवस्था हुनुपर्यो । धनीहरु सख भोग गर्न र गरिवहरु रोजी रोटीको लागि गाउँबाट सहर पलायन भएका छन् । समाजको सम्पूर्ण तप्कालाई उत्पादनको काममा नलगाएसम्म आर्थिक रुपमा उँभो लाग्न गाह्रो हुन्छ । यो सबै कुरा राजनीतिमा आएर जोडिन्छ । श्रीमान विदेश हिंडेको केही दिनमै अलिकति पैसा आउने भएपछि छोराछोरी पढाउन भन्दै गृहिणीहरु राम्रो स्कुल खोज्दै सहर आउँछ । गाउँका स्कूलहरुमा राम्रो शिक्षाको प्रवन्ध भयो भने मान्छे गाउँमै बस्छन् । त्यहाँ भौतिक सुविधाहरु हुन थालेपछि गाउँ विस्तारै आफैं सहर हुन्छन् । अर्काे कुरा गाउँसम्मै स्वास्थ्य सुविधा उपलब्ध भएपछि मान्छे सहर पस्नु नै परेन औषधी खान । अहिले त गाउँमा बूढाबूढी मात्रै छन् । यो नराम्रो संकेत हो । 

पढ्न पाउने राम्रा स्कुल गाउँमै भए, रोजी रोटी र बिमारी हुदा उपचारको लागि हस्पिटलहरु भए किन मान्छे सहर आउने ? गँँउमै रोजगारी भए सहर किन धाउने ? वैदेशिक रोजगारीमा किन जाने ? शिक्षा, स्वाथ्य र रोजगारीका कारण धनी र गरिव बीचको खाडल बढेको छ । त्यसलाई मेटाउने जडी नै विकास हो । स्थिरता भएपछि यो काम हुन सक्छ पनि । 

के हुन सक्छन् त गाँउमा रोजगार दिनक्ने कुरा ? 
म त जे देख्छु गाउँमै देख्छु । गाउँमा कृषिलाई ब्यवसाय बनाउनु पर्यो । कृषिले उद्योगको रुप लिनु पर्यो । अनि के हुन्छ भने गाउँ सहर बन्न थाल्छ । सहरबाट मान्छेहरु गाउँ पस्न थाल्छन् । पशुपालन देखि माछा मासुको ब्यापार फष्टाउन सक्छ । हाम्रा जंगल र पाखा जडिबुटीले भरिएका छन् । तिनलाई ब्यवसायकै रुपमा खेती गर्ने र प्रशोधन कारखानाहरु यहिँ चलाउने हो भने विदेशबाट औषधी ल्याउनु पनि परेन, मुद्रा पनि बाहिर गएन, यता रोजगारी पनि भयो । काम गरेर खाने ठाउँ भएपछि मान्छे किन नचाहिंदो राजनीतिक द्वन्द्वको उद्योगतिर लाग्छ भन्नुस् त ?