के पृथ्वीनारायणले जातजातिको पहिचान मासेका थिए ?


Wednesday, 11 Jan, 2017 11:20 AM

– डा. जगमान गुरूङ

लमजुङ राज्यका ६ थर पुवाँर (थापा), भण्डारी, राउत, शुयाँल (थापा), दुरा र घिमिरे हुन् । लमजुङमा शाह राजा स्थापना गर्नमा कुसुमाकर जोशी (घिमिरे) र खजे दुराको महत्त्वपूर्ण योगदान थियो (योगी, २०१३ :४१७) । खसान्त भाइ (खस–बाहुन) र शेषान्त भाइ (गुरूङ) को पूर्ण सहमतिबाट यशोब्रह्म शाहले लमजुङमा एकछत्र राज्य गरेका थिए (गुरुङ, २०३४ :२०/२३) ।


गोरखा राज्यका ६ थर पाण्डे, पन्त, अज्र्याल, खनाल, बोहोरा र राना हुन् । द्रव्य शाहलाई गोरखामा राजा स्थापना गर्दा गणेश पाण्डे र नारायण अज्र्यालको महत्त्वपूर्ण भूमिका थियो । द्रव्य शाहले लमजुङबाट गोरखामा प्रवेश गर्दा उनलाई अठारजना गुरूङ उमराहरुले साथ दिएका थिए (गुरूङ, २०४१ : ११७) । राम शाहको समयमा पण्डित चित्रविलासले राजवंशावली र पण्डित धरणीधर शर्माले गोरक्षराजवंशावली लेखेका थिए (योगी,२०१३ : ५७२–५७५) । त्यसबेला जयभद्र अज्र्याल, नन्द मिश्र, दुर्लभ जोशी लामिछाने आदि ठूला पण्डित थिए (पन्त, २०४५ ः ६५७–६६५) । राम शाहको समय लखन थापा मगर सिद्ध कहलाएका थिए (योगी, २०२१ः ३२–३५) । राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग मित्रता कायम गरी गोरखामा नेवारहरुलाई झिकाएर व्यापार गराई गोरखा राज्यको आर्थिक विकास तथा सांस्कृतिक समुन्नति गरेका थिए (पन्त, २०४३ ः ५५८–५६३) । पृथ्वीपति शाहले नेपाल उपत्यकाबाट कालिगढहरु ल्याएर गोरखाको पोखरीथोकमा ढुङ्गाको स्तम्भ सहित आफ्नो शालिक स्थापना गरेर कलाको विकास गरेका थिए (पन्त, २०४१ : १४४–१४५) । नरभूपाल शाहको समयमा गौरेश्वर पाण्डे राजगुरुको रूपमा तनहुँबाट गोरखा भित्रिएका थिए (योगी, २०२१ : ७८, ८४) ।

 

वंशावलीहरुमा भूटानका अवतारी लामाको तान्त्रिक अनुष्ठानबाट श्री ५ पृथ्वीनारायण शाहको जन्म भएको र श्रीगुरु गोरखनाथको वरदानबाट उनले नेपालको एकीकरण गरेको उल्लेख छ (पन्त, २०४३ : ५३८, ५६७–५७७; योगी, २०१६ः १, ९५, १०३; ज्ञवाली, १९९२ : ३९) । श्री ५ पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले ल्होपा लामालाई रसुवाको नकथलि गुम्बा कुशविर्ता दिएको हुँदा भुटानका अवतारी लामाको तान्त्रिक अनुष्ठानबाट श्री ५ पृथ्वीनारायण शाहको जन्म भएको भन्ने वंशावलीको कथनमा केही सत्यता पाइन्छ (वज्राचार्य र श्रेष्ठ, २०३७ : ४३) । श्री ५ पृथ्वीनारायण शाह स्वयंले पनि भुटानका लामा राजालाई नेपालका पुंडि गुम्बा, नकथली गुम्बा, नागर्या गुम्बा, लिस्यांषु गुम्बा, चरिकोट गुम्बा र छुमाने गुम्बाको अधिकार पूर्ववत् थामि दिएका थिए (नेपाल, २०४५ : १३६) ।


सुरथसिंह राना मगर श्री ५ पृथ्वीनारायण शाहका ददा थिए । विराज बखेती श्री ५ पृथ्वीनारायण शाहका प्रियपात्र थिए । भानु जोशी अज्र्याल र कुलानन्द जोशी ढकाल श्री ५ पृथ्वीनारायण शाहका राजज्योतिषी थिए । जयरत्नाकर नाटकका रचयिता शक्तिवल्लभ अज्र्याल श्री ५ पृथ्वीनारायण शाहका गुरु पुरोहित थिए । श्री ५ पृथ्वीनारायण शाहका काजी अर्थात् मन्त्री कालु पाण्डे थिए । सेनापति शिवराम बस्नेत थिए । श्री ५ पृथ्वीनारायण शाहले पाण्डेलाई ढाल र बस्नेतलाई तरवारको संज्ञा दिएका छन् (योगी, त्यही : ७) । आफ्ना मामाले श्री ५ पृथ्वीनारायण शाहलाई सैन्य सङ्गठन सम्बन्धी उपदेश दिएका थिए । श्री ५ पृथ्वीनारायण शाहका मामाले बाहुनलाई वयल, ठकुरिलाई सिंह, मगरलाई टागन घोडा र खसलाई ताजि तुर्कि घोडाको संज्ञा दिएका छन् (योगी, त्यही : ६) ।


श्री ५ पृथ्वीनारायण शाहको सैन्यनीतिबाट पनि उनले चालेको नेपालको एकीकरणको अभियानमा विविध जातजातिको सहभागिता रहेको स्पष्ट हुन्छ, जस्तै–
पट्टी पट्टिमा सिपाही पनि षस.मगर.गुरुं.ठकुरि.ईनै चार जात मात्रै षिचोला गरि हालनु र तर्वार पर्दा साह्रो हुन्छ. लुहा च्यापन्या पनि यिनै चार जात मात्रै हुन् र तरवार पर्दा साह्रो हुन्छ र वैरि त क्या इन्द्रको आसन् पनि डगाइंछ. (योगी, २०१६ : १६) ।

 

त्यसकारण खस, मगर र गुरुङको संयोजनबाट सङ्गठित नेपाली सेना नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्तै बलशाली र सफलीभूत सिद्ध भएको थियो (आचार्य, २०२२ : १२९) ।


सुरक्षानीतिका सम्बन्धमा श्री ५ पृथ्वीनारायण शाहले यस्तो उपदेश दिएका छन् –
गुरुं. मगर. षानजादा. भैयाद. भारादार. मिर उमराउ. थर घर. पुराना. पुराना. जाची घुंडा. गौडामा राषनु (योगी, त्यही : १७) । 


न्यायको क्षेत्रमा श्री ५ पृथ्वीनारायण शाहले यस्तो उपदेश दिएका छन् –
अदालथमा पनि ठकुरि जाचि दिष्ठा (डिट्ठा) राष्नु . मगर जाचि विचारि थाप्नु.कचहरि पिछे यक् यक् पण्डीत राषी निञा सास्त्र वमोजिम् अदालथ चलाउनु . (योगी, त्यही : १८) ।

परराष्ट्रनीतिका सम्बन्धमा श्री ५ पृथ्वीनारायण शाहले यस्तो उपदेश दिएका छन् –
कालु कवर्दारका सन्तानलाई कवर्दारि नछुटाउनु. दषिनको घाहा सिवराम बस्न्यात्का सन्तानलाई नछुटाउनु . भोटको घाहा कालु पाडेका सन्तानलाई नछुटाउनु . पाडे. बस्न्यात्. पंथ. भैयाद्. मंग्र (मगर) लाई मारातप दिदा आलो पालो गरि षान दिनु. (योगी, त्यही : १४–१५) ।

 

श्री ५ पृथ्वीनारायण शाहको समयमा दीनानाथ उपाध्याय  भारततिरका र लाल गिरी तिब्बततिरका दूत थिए । 

 

यसैगरी श्री ५ पृथ्वीनारायण शाहका अग्रसेनानायकहरुमा रणजित बस्नेत, मानसिंह रोकाह, वीरभद्र पाठक, रामकृष्ण कुँवर आदि थिए । सिन्धुलीको पौवागढीमा कप्तान किनलाक र हाँडी साहेबलाई परास्त गर्ने नेपाली सेना नायकहरुमा खजाञ्ची वीरभद्र उपाध्याय, शिकारी सर्दार वंश गुरुङ, काजी वंशराज पाण्डे र काजी श्रीहर्ष पन्थ थिए (पन्त र अरु, २०५५ : ८६२–८६४) । उक्त युद्धमा अंग्रेजका धेरै हातहतियार हात लागेको हुँदा श्री ५ पृथ्वीनारायण शाहले गोरखनाथको नामबाट श्रीनाथ र गोरखकालीको नामबाट कालीबक्स कम्पनि स्थापना गरेका थिए । श्रीनाथ कम्पनिमा मगर र कालीबक्स कम्पनिमा गुरुङहरुको संख्या धेरै  थियो । जङ्गबहादुर राणाको समयमा भएको नेपाल – भोट युद्धमा कालीबक्स कम्पनिका गुरुङहरुले बडो बहादुरीका साथ लडेर भोटको युद्ध जितेपछि गुरुङ जातिका मात्र सेना भएको कालीबहादुर पल्टन स्थापना गरिएको थियो । गुरुङहरुको उक्त कालीबहादुर पल्टन श्री ३ महाराजको रोयल गार्डको रूपमा प्रसिद्ध थियो । 

 

पर्वतका राजा कीर्तिबम मल्ल र काठमाडौँका उमरा परशुराम थापाले गरेको षडयन्त्रलाई गाइनेको भेष गरेर पोखरा गई झागल गुरुङले विफल बनाइदिएका थिए (योगी, २०१६ : ३६) । मणिराम गाइने श्री ५ पृथ्वीनारायण शाहको पालाका चर्चित कर्खा गायक थिए । जया र विस्या प्रमुख नगर्ची थिए । विस्या नगर्चीको सल्लाहबाट श्री ५ पृथ्वीनारायण शाहले गोरखाको बाह्र हजार घर धुरीबाट १/१ रूपैयाँ उठाएर काशी गई हात हतियार ल्याएर नेपालको एकीकरण गरेका थिए । सेख जरवर, ममतकि र भेषार्सिं यी तीन लखनौवा मुसलमानहरुले श्री ५ पृथ्वीनारायण शाहको सेनालाई तालिम दिएका थिए (योगी, त्यही : १९) ।

 

श्री ५ पृथ्वीनारायण शाहले नेवारहरुको शास्त्रबमोजिम संरचना गरिएको नाचलाई महत्त्व र प्रश्रय दिएका थिए (योगी, त्यही ः २१) । पाटनका काजी धनवन्त प्रधान र तन्त्रज्ञ ज्ञानकर बाँडाले श्री ५ पृथ्वीनारायण शाहको एकीकरण अभियानमा ठूलो सघाउ पुर्याएका थिए । काजी धनवन्त प्रधानका नाति त्रिभुवन प्रधान श्री ५ रणबहादुर शाहको पालाका चार काजीमा एक काजी थिए । 

 

मकवानपुर र मकवानपुरले चर्चेको सम्पूर्ण तराई बृहत् नेपालमा एकीकृत भएपछि श्री ५ पृथ्वीनारायण शाहले वि.सं. १८१९ फागुनमा जितु राउतलाई जिउ–धन माफ गरी चेरवन्त प्रगन्नाको कोलभि मौजा थमौति गरी सिम्रौनगढको हरिहरपुरबाट मैथिली भाषामा लालमोहर गरिदिएका थिए (श्रेष्ठ, २०५८ : १६१–१६२) । यसैगरी श्री ५ पृथ्वीनारायण शाहले वि.सं. १८२८ चैतमा जनकपुरका महन्त सुमरनदासलाई जनकपुरको कुशविर्ता थमौति गरी मैथिली भाषामा लालमोहर गरिदिएका थिए (राजवंशी, २०१८ : २१–२२) । विजयपुर, चौदण्डी र त्यसले चर्चेको सम्पूर्ण तराई बृहत् नेपालमा एकीकृत भएपछि श्री ५ पृथ्वीनारायण शाहका पूर्वतिर अघि बढेका भारदार अभिमानसिंह बस्नेतले लोकेश्वर पण्डितलाई कालिकाको पूजारी थमौति गरी विजयपुरबाट वि.सं.१८३१ कात्तिकमा मैथिली भाषामा लालमोहर गरिदिएका थिए (राजवंशी, त्यही : २३) । यसरी श्री ५ पृथ्वीनारायण शाहले स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिई स्थानीय व्यक्तिहरुलाई नै महत्त्व दिएका छन् । 

 

 श्री ५ पृथ्वीनारायण शाहका पूर्वतिर अघि बढेका सेनानीहरुमा अमरसिंह थापा पनि थिए । किल्ला काँगडाको युद्धताका उनी बडाकाजी कहलाएका थिए । यिनै अमरसिंह थापाले वि.सं. १८३९ मा जनकपुरमा नेपाली तल्लेशैलीको राममन्दिर बनाएर नेपाली संस्कृतिको परिचय दिएका थिए (वज्राचार्य र श्रेष्ठ, २०३७ : १४९–१५०) । नेपाल र अङ्ग्रेजको बीचमा भएको सुगौली सन्धिमा अमरसिंह थापाले जनकपुरमा बनाएको नेपाली तल्लेशैलीको उक्त राममन्दिरले नेपालको अस्मिता जोगाएको थियो (आचार्य, २०२२ : १३८) ।

 

श्री ५ पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा सुन राई, कुसु राई र श्रीजङ्ग राईलाई लेखेको पत्रमा लिम्बुवान्का लिम्बु राईहरुलाई आ–आफ्नो क्षेत्रमा पहिलेदेखि चलिआएको हक अधिकार भोग गरेर बस्नू, तिमीहरुको जिउ, धन र हक भोगको रक्षा मैले गर्नेछु, मैले तिमीहरुको जिउ धनको सुरक्षा गर्न सकिन भने मैले पूजि आएको देवताले हाम्रो राजकाज नाश गरोस् भनेर जनताको सुख सुविधाका लागि धर्म भाकेका छन् (नेपाल, २०४१ : ५८–६९) । यसरी श्री ५ पृथ्वीनारायण शाहले शासकको नभएर एउटा कुशल नेता तथा संरक्षकको दायित्व बहन गरेका छन् । 

 

श्री ५ पृथ्वीनारायण शाहको दूरगामी नीतिका कारण नेपालले काँगडासम्म विजय गर्न सक्यो । वि.सं. १९४९ मा भएको नेपाल–भोट युद्धमा चीनका वादशाहका ज्वाइँ उजीर टुङथाङ ठूलो दलबल सहित वेत्रावतीसम्म आइपुगेका थिए । नेपाल सरकारले सन्धि वार्ता चलाउन कपर्दार भोटु पाण्डे र  टक्सारी नरसिंह गुरुङलाई चिनीयाँ शिविरमा पठाएको थियो । सन्धिको कुरा मिलेपछि नेपाल सरकारले चीनका बादशाहलाई लेखेको अर्जि, सौगात र सन्धिपत्र लिएर उजीर टुङथाङका साथ चीन जानका लागि काजी देवदत्त थापा, सुब्बा प्रतिमन राना, टक्सारी नरसिंह गुरुङका छोरा जयन्त गुरुङ र खरदार विष्णु शङ्गरका छोरा बलभद्र खटिएका थिए (वज्राचार्य, २०१९ : २५६–२५७) । नेपाल–भोट र चीनको सन्धि भएको दुई वर्षपछि वि.सं. १८५१ मा टक्सारी नरसिंह गुरुङ काजी भए । वि.सं. १८५२ मा चीनका बादशाहकहाँ जाने नेपाली प्रतिनिधि मण्डलका प्रमुख पनि काजी नरसिंह गुरुङ नै थिए (गुरुङ, २०४१ : ६५) ।

 

श्री ५ रणबहादुर शाह वनारशबाट फर्केपछि वि.सं. १८६० देखि पुनः पश्चिमतर्फको विजय अभियान प्रारम्भ भयो । त्यस विजय अभियानका दलमुखी बडाकाजी अमरसिंह थापा थिए (योगी, २०१३ : ४४२) । काँगडाको किल्ला कब्जा गर्न बडाकाजी अमरसिंह थापाको मद्दतका लागि वि.सं. १८६२ मा काजी नयनसिंह थापा, काजी जसपाउ थापा, सरदार भोटु शाही, सुब्बा तोरध्वज शाही, सुब्बा प्रह्लाद गुरुङ र सुब्बा नाथु गुरुङलाई काँगडा खटाएको थियो (गुरुङ, २०४१ : ८३) । पश्चिमको विजय अभियानमा खटिएका नेपाली सेना नायकहरुमा सरदार अङ्गद घले पनि थिए । वि.सं. १८६९ ताका सरदार अङ्गद घले कुमाउँको सरकारी आम्दानी अशुल तहसिल गर्दथे । त्यही समय (वि.सं. १८६९ वैशाख) मा नेपाल सरकारले केदारनाथको मन्दिर बनाएको थियो (गुरुङ, त्यही : ९७) । त्यसपछि सरदार अङ्गद घले कप्तानमा बढुवा भए । त्यसबेला उनी श्रीनगरमा बसेर श्रीनगर र दूनको सम्भार गर्दथे (गुरुङ, त्यहीः १३९) । त्यसैबेला कप्तान अङ्गद घलेले बडो मजबुत गरी नालापानीको किल्ला बनाएका थिए (गुरुङ, त्यही : ९७; पन्त, २०२१ः १ः३ः६८) । कप्तान अङ्गद घलेले बनाएको नालापानीको त्यही किल्लामा कप्तान बलभद्र कुँवरले अंग्रेजको विरुद्धमा डटेर लडेका थिए (पन्त, त्यही : ५८–७२) । 

 

किल्ला काँगडाको युद्धमा काजी नयनसिंह थापाले वीरगति प्राप्त गरेका थिए (पन्त, २०२५ : ५ः१ः५५) । सुब्बा हस्तदल शाहीले काली कुमाउको युद्धमा वीरगति प्राप्त गरेका थिए (थापा, २०३० ः १८) । कप्तान भक्ति थापाले देउथलको युद्धमा वीरगति प्राप्त गरेका थिए (पन्त, २०२३ : ३ः२ः३७) । सुब्बा प्रह्लाद गुरुङले राजगढको युद्धमा वीरगति प्राप्त गरेका थिए (गुरुङ, २०४१ : १०६) । सुब्बा प्रह्लाद गुरुङको तैनाथको नगरा निशाना अहिले कास्कीको चौर गाउँमा उनका वंशजको घरमा सुरक्षित छ र सरकारी गुठीबाट उक्त नगरा निशानाको नित्य नैमित्यिक पूजा चलिरहेको छ (गुरुङ, त्यही : १४२–१४३) । त्यसपछि चौतारिया बम शाहले महाकाली नदीको साँध लगाएर अङ्ग्रेजसँग सन्धि गरे । अंग्रेजसँगको सन्धिपत्रमा सही गर्ने नेपालका भारदारहरुमा चौतारिया बम शाह, काजी चामु भण्डारी, कप्तान अङ्गद घले र सरदार जसमर्दन थापा थिए (Cox, 1884 : 570) ।

 

श्री ५ पृथ्वीनारायण शाह स्वयंले पनि आफ्नो दिव्योपदेशमा आफूले पूर्व र पश्चिमका दुनियाँलाई हात लिएर नेपालको एकीकरण गरेको कुरा बोलेका छन् (योगी, २०१६ : ११) । यसैगरी श्री ५ पृथ्वीनारायण शाहले जनताको सहयोगबाट बडो दुःखले एकीकरण गरेको नेपाल राष्ट्रलाई चार वर्ण छत्तीस जातको फूलबारीको संज्ञा दिएर यस साझा फूलबारीको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व नेपाली जनतालाई सुम्पेका छन् (योगी, त्यही : १४) । 

 

वास्तवमा नेपाली जनताले श्री ५ पृथ्वीनारायण शाहलाई निमित्त बनाएर नेपाल राष्ट्रको एकीकरण गरेका हुन् । श्री ५ पृथ्वीनारायण शाहको समयभन्दा अघि पनि नेपालको एकीकरणको प्रयाश नभएका होइनन् तर पश्चिमे खस मल्लहरूको उद्देश्य केवल नेपाल उपत्यकालाई करद बनाउन मात्र सीमित रह्यो । जयस्थिति मल्लले राजनैतिक स्थिरता ल्याएपछि यक्ष मल्लले नेपालको एकीकरणका लागि केही प्रयास गरेका थिए तर उनका छोराहरुको पालामा नै नेपाल उपत्यका तीन टुक्रामा विभाजित भयो । यसैगरी पाल्पाली राजा मुकुन्द सेनले पाल्पादेखि वर्तमान पूर्वी नेपालको पहाड र मधेशका सबै भूभाग अर्जेका थिए तर उनकै जीवनकालमा उनका छोरा र भतिजाहरुले त्यो विशाल राज्यलाई पुस्तैनी सम्पत्ति जस्तै बाँडचुँड गरेर खाए । श्री ५ पृथ्वीनारायण शाहका समकक्षी उनका मित काठमाडौँका राजा जयप्रकाश मल्ल बडो उत्साही र महत्वाकांक्षी थिए तर उनले आफ्नै भारदारहरुलाई कज्याउन नसक्दा उनी आफैँ राज्यबाट निस्कासित हुन पर्यो । उनले अङ्ग्रेज, मुसलमान र हिन्दू नागा जोगीलाई गुहारे । नेपाल राष्ट्रको हितको लागि उनको उक्त उद्योग ठीक थिएन तर श्री ५ पृथ्वीनारायण शाहले त्यसलाई सकुशल असफल बनाइदिए । जयप्रकाश मल्लले नगरकोटी जातिका सेना प्रयोग गरेका थिए तर ती सेनामा नेपाली राष्ट्रियताको भावना नभएको हुँदा तिनले गोरखाली सेनासँग डटेर लड्न सकेनन् । 

 

श्री ५ पृथ्वीनारायण शाहले आफ्ना पूर्ववर्ती राजाहरुका गल्तीलाई दोहोर्याएनन् । जीवनको अन्तिमकालमा उनका भाइहरु उनीसँग चिढिएर गोरखाबाट बाहिरिए तर श्री ५ पृथ्वीनारायण शाहले त्यसको केही पनि वास्ता नगरी नेपालको कुनै भूभाग कसैलाई पनि अंशवण्डा र दान दातव्यमा नदिई नेपालको राष्ट्रिय अखण्डतालाई कायम राखे ।

 

 युद्धमा जय–पराजय हुन्छ । जितार र हरुवा हुन्छन् । श्री ५ पृथ्वीनारायण शाहको क्रियाकलाप युद्ध नभएर नेपाल राष्ट्रको एकीकरणको अभियान हो । त्यसकारण नेपालको एकीकरणको अभियानमा जितार र हरुवा भन्ने भेद हुँदैन । सबै नेपालीहरु एक हुन्, किनभने नेपाल राष्ट्रको निर्माणमा सबै नेपालीहरुको समान सहभागिता रहेको छ । अतः श्री ५ पृथ्वीनारायण शाहको आदर्श र मर्यादालाई हृदयङ्गम गरेर नेपाल राष्ट्रको सुदृढिकरण एवम् नेपाली राष्ट्रियताको विकासका लागि अग्रसर हुनु सम्पूर्ण नेपालीहरूको परम कर्तव्य हो । 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top