३२ वर्ष सरकारी कर्मचारी रहिसक्नु भएका जगत भुसाल नेपालका नामी जलविज्ञ हुनुहुन्छ । नेपाल भारत सीमाना खासगरी चीनसँगको समेत त्रिदेशीय सीमानाको बिन्दु लिपुलेकबारे अध्ययन गर्नुभएका भुसाल कालापानीमा बसेका भारतीय सेना हटाउन सरकारी प्रस्ताव आउनु पर्ने वताउनुहुन्छ । लिपुलेक र नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबारे भुसालसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 

नेपालको भारत र चीनसँगको सीमा सम्बन्धबारे कुरा हुँदा धेरैजसो लिपुलेकको प्रसंग आउँछ । लिपुलेक सम्बन्धी वास्ताविक कुरा चाहिँ के हो ? 
जतिबेला महाकाली सन्धी हुँदैथियो, त्यतिबेला लिपुलेक कालापानीको कुरा उठेको हो । । त्यस अघि कसैले पनि लिपुलेकदेखि उता हाम्रो भूभाग छ भने बोलेकै थिएनन् । सिमाविद् बुद्धिनारायण श्रेष्ठ पनि काली नदिको मुहान भारतीयहरुले तोकेको हो, नेपालले होइन  भन्नुहुन्थ्यो । जव सीमानाको कुरा आयो, २०५२ सालमा म जलविज्ञ भएको नाताले महाकाली (काली खोला)कोमुहान एकीन थालेँ । मैले नदिको लम्बाई, पानीको वहाव, जलाधार क्षेत्र, र त्यस नदिमा मिसिने अन्य नदिहरुको अध्ध्ययन गरेँ । 

नदिका शाखाहरु सबै अध्ययन गर्दै गर्दै माथिसम्म पुग्यौं । २०५३ साल कात्तिकमा कान्तिपुर दैनिकमा मेरो पहिलो लेख छापियो । त्यसमा मैले पहिलो पटक लिम्पियाधुरामा हाम्रो सीमा पुग्छ भन्ने तथ्य पहिलो पटक सार्वजनिक गरेको हुँ । 

मैले चारवटा कुरा हेरेँ । पहिलो, लिम्पियाधुराबाट सुरु हुने काली नदि अर्थात् कुटियाङदी नदि । त्यहाँको स्थानीय भाषामा कुटियादङीको अर्थ हुन्छ कालो खोला हुन्छ । मैले काली नदि र लिपु खोला हेरेँ । लिपु खोलाको जलाधार क्षेत्र १८५ बर्ग किलोमिटर छ । काली नदिको जलाधार क्षेत्र ५५५ बर्ग किलोमिटर छ  । यसरी हेर्दा लिपुखोलाको जलाधार क्षेत्र भन्दा कुटियाङदी अर्थात् काली नदिको जलाधार क्षेत्र तीन गुनाले बढी छ  । 

लिपु, कालापानी, गुञ्जी, कुटी, नाभी लगायत सवै क्षेत्र यहि बीचमा पर्छन् । त्यो ३८५ बर्ग किलोमिटरमा फैलिएको छ । हाम्रो भक्तपुर जिल्ला भन्दा पनि ठूलो भूभाग हो त्यो ।

त्यस्तै लम्बाईको हिसाब गर्ने हो भने लिपु खोला दोभानबाट २२ किलोमिटरको दुरीमा छ ।  त्यो भागमा महाकाली नदि ५३ किलोमिटर दुरीमा छ । लिपु खोला भन्दा यो २ दशमलव ४ प्रतिशत लामो छ । त्यस्तै काली नदिमा झण्डै तीन गुना बढी पानी बग्छ ।  त्यस्तै लिपु खोला भन्दा अनगिन्ति शाखा प्रशाखाहरु कुटियाङदी नदिमा छन् । भारतले अर्को सीमा नदि भनेर देखाएको नदिमा यसको एक चौथाई पनि शाखा नदि छैनन् । यसरी हरेक तरहले हेर्दा महाकाली नै हाम्रो सीमा नदि हो । जव अब सुगौली सन्धीमा हाम्रो सीमाना काली नदि हो भनेपछि र यो मुख्य नदि छोडेर अरु सीमाना खोज्न हिंड्नै पर्दैन । हामीलाई अरु कुनै प्रमाण चाहिँदैन । 

लिपु, कालापानी, गुञ्जी, कुटी, नाभी लगायत सवै क्षेत्र यहि बीचमा पर्छन् । त्यो ३८५ बर्ग किलोमिटरमा फैलिएको छ । हाम्रो भक्तपुर जिल्ला भन्दा पनि ठूलो भूभाग हो त्यो । यो लगभग ३ हजार देखि ६ हजार मिटर अग्लो स्थानमा पर्छ ।  लिपुलेक कैलाश जाने बाटो हो । 
 
तपाईं लिम्पियाधुरा देखि नै नेपालको भूभाग हो भनी किटान गर्नुहुन्छ, तर, नेपालले हाम्रै भूभागमा बस्ने भारतीय सेनालाई हाम्रो भूभाग छोड भन्न किन नसकेको ? 
भारतीय सेना लिम्पियाधुरा भन्दा ३५ किलो मिटर यता कालीको एउटा मन्दिर बनाई त्यसैको छेउमा पानी जमाएर यहि हो काली नदि भन्दै दुनियाँलाई भ्रम छदै बसेको छ । त्यो भूभाग हाम्रो हो भन्ने हामी पनि प्रष्ट छौं । हामीसँग चाहिने सवै प्रमाण छन् । त्यसैले हिजो जे नियतले भारतीय सेना त्यहा बसे पनि अब नेपालले आफ्नो भूभागलाई हाम्रो हो भन्नु पर्यो । लिपुलेक होइन त्यहाँबाट ३५ किलोमिटर परको लिम्पियाधुरालाई त्रिदेशीय बिन्दु बनाउने प्रस्ताव गर्नु पर्यो । 

भारतीय सेना त्यसरी बस्न थालेको चाहिँ कहिलेबाट हो ? 
मलाई यकिन भएन। जुनबेला १९५० को सन्धी भएको थियो । त्यसवेला राणा शासन फालेपछि भारतले चीनको सीमामा चेकपोष्टहरु राखेको थियो । १९५० को सन्धीमा के छ भने दुबै देशको सुरक्षामा नेपाललाई या भारतलाई खतरा भए दुबै देशले आपसमा सघाउने भन्ने छ । दुई देश उत्तिकै बलिया भएको भए त्यो दुबै देशको लागि राम्रै हुन्थ्यो । तर भारतले नेपाललाई पेल्ने हुँदा त्यहि बुँदामा टेकेर सधैं उसले उसको  सुरक्षामा नेपाललाई प्रयोग गरिरहन्छ । तर, त्यो बँदाको उपभोग नेपालले कहिल्यै गर्न सकेन । 

१९६२ तिर चीन र भारतबीच लडाईं भयो । त्यो बेलासम्म नेपालका उत्तरी सीमानामा भारतीय चेकपोष्टहरु थिए । त्यसपछि भारतीय चेकपोष्टहरु त्यहाँबाट हटे । टिंकरमा भएको प्रहरी चेकपोष्ट हटिसकेपछि लिपुलेक हुँदै कैलाश जाने पैदल बाटो भएको हुनाले त्यहाँबाट चिनियाँ सेना आउने भारतलाई डर भइरह्यो ।  चिनियाँ सेना भाला खुकुरी लिएर लड्न आउने डरले र लिपुलेक गौंडो भएकाले आक्रमण पनि गर्न सजिलो हुने भएर भारतीय सेना लिपुलेकमा गौंडो कुरेर बसे । भारतीय सेना अहिलेसम्म पनि त्यहिँ छन् । यदि त्यस्तै हो भने अब चीनले भारत हान्न त्यो गौंडो नै आइपुग्नु पर्दैन । आक्रमणका लागि यस्ता मिसाइल बनिसके कि चीनले चाह्यो भने बेइजिङबाटै अणविक हतियार प्रयोग गरेर आक्रमण गर्न सक्छ । अनि भारतले त्यो गौंडो कुर्नुको के अर्थ ? अमेरिकाले समुद्रबाट अफनागिस्थानको गुफामा बम हानेको होइन ? त्यसैले त्यो गौंडो कुरेर भारतले सुरक्षाको लागि भन्नुको कुनै तुक छैन । अब नेपालले यो भूभाग हाम्रो हो भनेर कुरा राख्न सक्नु पर्छ । यहाँ त सरकारी स्तरबाट पहल नै भएको छैन । हामी जति कराए पनि आखिरमा कुरा राख्नु पर्ने त नेपाल सरकारले हो । 

नेपालको जमीनबाट भारतीय सेना हटाउ भन्न नेपाललाई किन किन हिचकिचाहट भएको होला ?  
यहाँ मैले भन्नै पर्छ, नेपालको एउटा गल्ती छ । तत्कालीन नापी विभागका सर्भेयरहरुले काली नदि सीमा भएको हुँदाहँुदै त्सलाई वेवास्ता गरेर लिपु खोलाको शीरलाई महाकाली नदि  शीर मानिदिएर नक्सा निकाल्नु भयो । हचुवाको भरमा गरेको त्यो नापले भारतलाई सजिलो भएको छ । त्यहि नक्सा अहिले हामीसँग छ । यद्यपि त्यो नेपाल सरकारले विवादित नक्सा बनेको छ ।  म त भन्छु जे जसरी भयो त्यो गलत भयो । अब अर्को नक्सा तयार गर्न सहयोग गर्नु पर्छ ।

यसै विषयमा म तपाईंलाई एउटा तथ्य सुनाउँ । १८५६ को कुरा थियो । त्यो बेला विश्वको लामो नदि कुन थियो थाहा थिएन । नाइल नदिको शीर खोज्न बेलायतबाट स्टाइग र बोर्डन नामका दुईजना दुईजना अफ्रिका लागे।  । खोज्दै खोज्दै जाँदा एउटा लेक भिक्टोरिया ताल देखे । त्यो भन्दा उता घना जंगल थियो । त्यो जंगलमा जाँदा एउटा बिषालु झिंगा एउटाको कानमा पस्यो । यसले उनी विमारी परे र फर्कनु पर्यो । तर विश्वको लामो नदि नाइल भएको र त्यसको उद्गमस्थल ताल भएको कुरा एकैपटक सार्वजनिक नगर्ने, कसैलाई नभन्ने सर्तमा उनी उपचार गराउन फर्किए । स्पाइकले एक पत्रकार सम्मेलन गरेर नाइल नदि नै लामो नदि भएको वताए । अनुसन्धानमै रहेका उनका साथी यो समाचार आएपछि आश्चर्यमा परे । पछि उतै बसेका तिनका साथीले त्यो जंगल पनि पार गरेर नाइल नदिको मुहान युगाण्डाको भिक्टोरिया ताल नभएर अर्को नदि भएर रुवाण्डा भएको पत्ता लगाई फिर्किए । दोस्रो पटक पुन सम्मेलन गर्ने दिन स्पाइकले ग्लानी भएर उनले आत्महत्या गरेका थिए भन्ने भनाई छ । 

यहि हो इमान्दारिता भन्या साथीकै मन दुखाउनेलाई त त्यत्रो ग्लानी हुने रहेछ । हाम्रो त देशकै भूभाग अर्काको देशको नाममा गरेर फर्केकाहरु कसरी यसै बस्न सकेका होलान् ? 

सीमानाका सबै अवस्थाबारे राज्यका मान्छे कतिको जानकार छन् ? 
लिपुलेक हैन ३५ किलो मिटर पर भएको लिम्पियाधुरा नै हाम्रो सिमाना र त्रिदेशीय बिन्दु हो भनेर लेखे । नदि जलबिज्ञान सम्बन्धी कर्मचारी थिए । मैले हुलाक मार्फत त्यो सबै लेखहरु राखेर दरवारमा र आर्मी हेटक्वाटरमा पनि पठाएको थिएँ । पछि त्यो सीमाना के हो भनेर बुद्धिनारायण श्रेष्ठलाई पठाएको रहेछ ।  बुद्धिनारायण पनि बेलायतमा जाँदा त्यहाँ नक्सा देखेपछि मात्र मैले पनि लिम्पियाधुरा नै नेपालको सिमाना हो भन्ने थप प्रमाण भयो । हो त्यसरी सानो प्रयासले हामीले सबैलाई लिपुलेक नभएर लिम्पियाधुरा हाम्रो सीमाना हो भनेर जानकारी गराउन सक्यांै हामीले । 

भैरव रिसालले गुञ्जीमा २०१८ गरेको जनगणनाले त्यो नेपालको बस्ती भन्ने प्रमाणित गर्छ  । यसरी अनेक जानकारी हँुदा हुँदै पनि गल्ती यहि भयो । अनि अहिले भारतले नयाँ मुहान पनि खडा गरिदियो । 

अब के गर्नुपर्ला नेपालको भूभागबाट भारतीय दवदवा हटाउन ? 
सीमामा बग्ने महाकाली नदिलाई सानो नदिको त नक्कली नाम दिएर सीमा सार्ने प्रयास गरिरहेको भारतले सीमानाका तराईका स्तम्भहरु कति तलमाथि गर्योहोला ? अनुमान गरे भन्दा पनि धेरै ठूलो समस्या छ । मैले त हिजै देखि भन्दै आएको छु, अब यसरी सरकाले केहि गर्ला कि भनेर कुरेर भएन, सरकारले मात्र केही गर्दैन, हामीले देखिसक्यौं । त्यसैले अब स्कुल स्कुलमा यस सम्बन्धी जानकारी गराउनु पर्छ र हरेक एकजानालाई देशको सीमाना अवस्थावारे जानकारी दिनुपर्छ । अनि मात्र देशको हितमा काम गर्ने सरकार ल्याएर देशका सीमानामा साँध लगाउन र देशको सुरक्षा गर्न सकिन्छ ।