काठमाडौं, २८ साउन– जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । आगामी कात्तिक १० र ११ मा भाषा परीक्षा र १९ र २० गते सीप परीक्षण गर्ने गरी मिति टुंगो लगाइएको हो । परीक्षाका लागि आवेदकले ४ हजार ५ सय येन शुल्क तोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । जापानले यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्छ ।

जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष र अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । जापानले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने नीति अघि बढाएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ ।

भाषा परीक्षाका लागि २५ सय, सीप परीक्षाका लागि एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार गरी ४ हजार ५ सय जापानी येन शुल्क लाग्नेछ । भाषा र सीप परीक्षणमा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान एकाइ बनाइएको छ । सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने सबै खर्च र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ । जापानले ९ स्रोत मुलुकबाट ५ वर्षभित्र १४ वटा क्षेत्रमा ३ लाख ४२ हजार विदेशी श्रमिक लिने निर्णय गरेको छ । जापान फाउन्डेसन भाषाको जापानी भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिने भएको छ । यो वर्ष झन्डै ४० जनालाई जापानमै लगेर तालिम दिने योजना बनाएको छ ।