कविता अधिकारी

काठमाडौं, १ फागुन–नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट शुरु गरेको सशस्त्र  ‘जनयुद्ध’कोे २५ वर्ष पुरा भएको छ । त्यसबेलाको राजनीतिक व्यवस्थासँग असमति जनाउँदै माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो । १० बर्षे जनयुद्धपछि तत्कालीन एमाले र माओवादीबीचको ६ बुँदे समझदारीको जगमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएपछि ‘जनयुद्ध’ २०६३ मंसिरमा टुंगिएको थियो। त्यही ‘जनयुद्ध’ दिवसलाई नेकपाले अनौपचारिक रूपमा आज विभिन्न कार्यक्रम गरी सम्झिएको छ । पार्टीले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने भनेर प्रचार गरेपनि उहाँ भने सहभागी  हुनुभएन । प्रधानमन्त्री मात्र होइन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल समेत ‘जनयुद्ध’लाई सम्झिने कार्यक्रममा जानुभएन् । 

नेकपा बन्नुअघि माओवादी र एमाले दुई कम्युनिष्ट पार्टीहरू फरक फरक सैद्धान्तिक र वैचारिक अडानका साथ राजनीतिक प्रतिस्पर्धामा थिए । माओवादीले सशस्त्र ‘जनयुद्ध’ मार्फत सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने उद्देश्य राखेको थियो भने एमालेले शान्तिपूर्ण वैचारिक राजनीतिक प्रतिस्पर्धा मार्फत जनताको शक्ति स्थापना गर्ने उद्देश्य राखेको थियो ।  करीब १० वर्षको ‘जनयुद्ध’ पछि माओवादी मूलभूत रूपमा एमालेकै बाटोमा फर्कियो तर त्यसलाई भाषामा स्वीकार गर्न भने उसले सकेन् ।

एमाले र माओवादी बीचको एकता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद  ‘जबज’को मूलभूत मान्यताकै वरपर भएको देखिन्छ । एमालेले त जबजलाई पार्टीको सैद्धान्तिक  र वैचारिक मार्गदर्शन कै रूपमा लिएको छ । र उसका डकुमेन्टहरूमा यसलाई व्यवस्थित ढंगले राखिएको थियो । माओवादीले भने एमालेलाई संशोधनवादी दक्षिणपन्थी कम्युनिष्टको रूपमा चित्रण गरिरह्यो । उस्ले जबजलाई समेत संशोधनवादी  कम्युनिष्ट र सिद्धान्तको रूपमा आरोपित गर्ने काम निरन्तर गर्‍यो । एमाले र माओवादीबीच  वैचारिक सैद्धान्तिक प्रतिस्पर्धा थियो वा थिएन् भन्ने बेग्लै बहसको विषय हो तर शत्रुता भने थियो नै ।  

यो भने विगत थियो, वर्तमानमा तिनै एमाले र माओवादी मिलेर नेकपा बन्यो र दक्षिण एशियामा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा स्थापित भयो । दक्षिण एशियामा मात्र होइन, विश्वमा नै नेकपाको विस्तार र सत्तारोहण एउटा उदाहरणीय बनेको छ । जसरी मदन भण्डारीलाई देखेर उहाँको लोकप्रियतालाई बुझेर पश्चिमा सञ्चारमाध्यमहरूले नेपालमा ‘कार्ल मास्क’ बस्छन् भन्ने रिपोर्ट त्यतिबेला गरेका थिए । त्यसैले नै आज केपी शर्मा ओलीको नेतृत्वप्रति त्यही दृष्टिकोणका साथ त्यस्तै टिप्पणीहरू  भइरहेका छन् । प्रचण्डलाई थाहा थियो, शसस्त्र जनयुद्ध आरम्भ मात्र थियो । त्यसको अन्त्य भने शान्तिपूर्ण प्रतिस्पर्धा नै होे । त्यसैले प्रचण्ड र पूर्व माओवादीका निम्ति  जनयुद्धलाई सम्झिनु स्वभाविक नै हो, त्यसलाई अन्यथा लिनु हुँदैन तर एमाले, एमाले पंक्तिका निम्ति ‘जनयुद्ध’ लोकप्रिय शब्दावली होइन उस्ले ‘जनयुद्ध’लाई संम्झिनुपर्ने नैतिक र सैद्धान्तिक दायित्व पनि छैन ।

पार्टी एकिकरण पछि पार्टीका आधिकारिक दस्तावेजमा जनयुद्धलाई पृष्ठभूमिमा मात्रै राखिएको छ । त्यसलाई अहिलेको पार्टीको सैद्धान्तिक र वैचारिक दिशा निर्देशसँगै जोडिएको छैन । एमालेको ‘जबज’ र माओवादीको ‘एक्काइसौँ शताब्दीको जनवाद ’ को फयुजन गरेर जनताको जनवाद ‘जबज’लाई नेकपाको आधिकारिक सैद्धान्तिक र वैचारिक मार्गदर्शन भनिएको छ । यसको प्रष्ट व्याख्या नहुँदा पूर्व एमाले र पूर्व माओवादीले आ–आफनै ढंगले यसलाई विश्लेषण गरिरहेका छन् । तर प्रचण्ड लगायत पूर्व माओवादीका शीर्ष नेतृत्वलाई थाहा छ, उनीहरू ‘जबज’ नै स्वीकार गरेर नै एकीकरणको प्रक्रियामा आएका हुन् र जबजभन्दा माक्सवादको श्रृजनात्मक घरेलु प्रयोग भएको बाहेक अर्को कुनै सिद्धान्त छैन । 

अहिलेको नेकपाको यात्रा त्यो मुलतः जबज द्वारा निर्देशित यात्रा हो । समुन्नत पूँजिवाद मार्फत समाजवादमा पुग्ने लक्ष्य पनि जबज कै सैद्धान्तिक मार्ग दर्शन हो । संविधानमा नेपाललाई समाजवाद उन्मुख राष्ट्र बनाउने जुन प्रतिबद्धता छ, त्यो प्रतिबद्धतामा पनि  जबजकै भावना अनुरूप छ । 

विश्व राजनीति–घरेलु राजनीतिलाई हेर्दा नेपालमा सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको संभावना छैन । किनकी कार्लमाक्सले कल्पना गरेको त्यो सर्वहारा वर्ग अहिले अस्तित्वमै छैन । स्वयं  मार्क्सले सर्वहारा वर्गको सत्तालाई अस्थायी भनेका छन् । मार्क्स र एंगेल्सले सन १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्दाको अवस्था र अहिलेको अवस्थामा ठूलो परिर्वतन आएको छ । हरेक राजनीतिक आन्दोलन र परिस्थितिमा  निर्भर गर्दछ । मार्क्सले नै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढनुपर्छ भन्ने सन्देश त्यतिबेला नै दिएका हुन् । त्यसैले कम्युनिष्टले आफूलाई परिस्थिति अनुसार परिर्वतन गर्नुपर्दछ । अहिलेको नेकपा राजनीतिमा उक्त परिर्वतन देखिन्छ । 

त्यसबेला जनयुद्ध आवश्यक थियो वा थिएन यो अझैपनि बहसकै विषय हो तर त्यसबाट साम्यवाद स्थापना असम्भव देखेपछि माओवादीले ‘यू–टर्न’ लिनु सहि कदम नै थियो । प्रधानमन्त्री ओली लगायत एमाले नेता र कार्यकर्ताले जनयुद्ध दिवसलाई सम्झन नचाहनुलाई अन्यथा ठान्नु हुँदैन र त्यस्तो प्रचार पनि गरिनु हुँदैन बरु पुर्व माओवादीले जनयुद्धलाई विश्व र नेपाल बदल्ने अभूतपूर्व क्रान्ति थियो भन्ने कथनलाई सच्याउनुपर्छ ।