कञ्चनपुर, २८ भदौ– कांग्रेसको आन्तरिक कलह चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा अनावरण गरिएको महाकाली पुलको शिलालेख दुई साता नबित्दै भत्काइएको छ । कुनै आन्दोलन वा विरोधका कारण नभई कञ्चनपुर कांग्रेसका सांसदहरुको नाम शिलालेखमा राख्ने विवादका कारण ठेकेदार कम्पनीले भौतिक पूर्वाधार मन्त्री बीरबहादुर बलायरको निर्देशनमा भत्काएको हो । 

करिव साढे ३ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने चार लेनको पुलका लागि तत्कालीन केपी ओली नेतृत्वको सरकारले बजेट छुट्याएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव घोषणा गरी आचार संहिता लागू भएकै दिन शिलान्यास गर्नुभएको थियो । 

पुल निर्माणको जस लिन कांग्रेस सांसद रमेश लेखक र एनपी साउद समुहबीच शिलालेखमा नाम राख्ने विषयमा झगडा परेको थियो । शिलान्यास कार्यक्रमका दिन उपस्थित भएका दुवै सांसद मध्ये रमेश लेखकको मात्र नाम शिलालेखमा पारिएपछि साउद समुह आक्रोशित हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीकहाँ पुगेर आपत्ती जनाएको थियो । 

विवाद साम्य नभएपछि मन्त्री बलायरको निर्देशनमा पुल निर्माणको ठेक्का लिएको कुमार सीएसइभी जेभी नामक कम्पनी स्वयंले शिलालेख भत्काएको हो । भीमदत्त नगरपालिका–१२ ओदालीमा भदौ १५ गते प्रधानमन्त्री देउवाले शिलान्यास गर्दा जडान गरिएको शिलालेख ‘सुरक्षाको कारण’ भन्दै भत्काएर ठेकेदार कम्पनीको महेन्द्रनगर जानकीटोलस्थित कार्यालयमा ल्याएर थन्क्याइएको छ ।

ठेकेदार कम्पनीका कर्मचारीले ‘अरु कसैले शिलालेख तोडफोड गर्ने आशंका भएकोले’ शिलालेख उप्काएर ल्याइएको बताएका छन् । नेपाल सरकारको आफ्नै लगानीमा बन्न लागेको ४ लेनको पक्की पुल निर्माणको प्रधानमन्त्री देउवाले भदौ १५ गते सिलान्यास गर्नुभएको थियो ।

योजना पूरा भए महाकाली नदीमा ८ सय मिटर लामो चार लेनको पुल निर्माण हुनेछ । पुल २३.८ मिटर चौडाइको हुनेछ । यो वर्ष चुनाव हुने भएकाले निर्वाचन आचार संहिता अनुसार नयाँ कार्यक्रम राखेर बजेट ल्याउन सम्भव थिएन । त्यसकारण गतवर्ष केपी ओली प्रधानमन्त्री हुँदा बजेट अनुसार नै  पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । बिनियोजित मध्ये १० करोड रुपैयाँ पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको छ ।

पुलको शिलालेखमा प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायर र पूर्वमन्त्री रमेश लेखकको नाम अंकित थियो । सांसद तथा पूर्वमन्त्री लेखकको नाम अंकित भएपछि कञ्चनपुरकै अर्का सांसद तथा कांग्रेस नेता एनपी सावदको समूह आक्रोशित भएको थियो । बिना कारण लेखकको नाम अंकित भएपछि सावद समूहले शिलालेख हटाउन प्रधानमन्त्री र मन्त्री बलायरलाई दबाब दिँदै आएको थियो ।

शिलान्यास कार्यक्रममा अरु पूर्वमन्त्री समेत उपस्थित भएको अवस्थामा रमेश लेखकको नाम मात्रै समावेश भएपछि विवाद भएको थियो । ‘दबाब थेग्न नसकेपछि मन्त्री बलायरले शिलालेख नै उप्काउन निर्देशन दिनुभएको हो । चुनावको मुखमा शिलालेखकै कारण आन्तरिक चर्किने देखेपछि भत्काउन प्रधानमन्त्री देउवा समेत सहमत हुनुभएको हो । सुरक्षाको कारण देखाउँदै शिलान्यासको शिलालेख यसरी उप्काइएको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।