आजको सोमबार म अलिक फरक लयमा प्रस्तुत हुन मन लाग्यो !  सुदूर पश्चिम विश्वविद्यालयको एमफिल पिएच् डी कार्यक्रममा नेपाली शिक्षा विषयविज्ञका रूपमा उपकुलपतिज्यूको आमन्त्रणमा सुदूर पश्चिमको कञ्चनपुरमा सोमबार म मेरा गुरु प्राडा महादेव अवस्थी, प्राडा पारसमणि भण्डारी, प्राडा ताराकान्त पाण्डेय र प्राडा लक्ष्मणप्रसाद गौतमको समूह पुग्यो !

काठमाडौबाट त्यहाँ पुग्दा सोमबार माघ ३ गते विशेष गरी मलाई एउटा वेग्लै अनुभूति भयो ! विगत केही समयदेखि निर्मला काण्डको कालो धब्बाको दागले मुलुककै निधारलाई कलङ्कित बनाइरहेको सन्दर्भमा नजिकैको पहाडी जिल्ला बैतडीमा अर्की चेली भागीरथीको सुन्दर सपना निमोठिएको र वीभत्स हत्या भएको सन्नाटाको अवस्था तथा गम्भिर अनुसन्धानको अवस्था त्यतिबेला कायम थियो !

ठिक यसैबेला काठमाडौका मिडिया र यस्ता घटनामा अपराधमा संलग्नहरूलाई पक्रन भन्दा पनि नयाँ नयाँ कथा बुन्न वा नयाँ न्यारेटिभ निर्माण गर्न न्वारानदेखिको बल लगाउँदै थिए क्यार ! तर यसपटक भागीरथीमाथि अपराध गर्ने समातिएको खबरले त्यो न्यारेटिभ निर्माण हुन सकेन ! बझाङ्की सम्झना बि क र बैतडीकी भागिरथी भट्ट लगायत बालिका हत्याहिंसामा संलग्नहरू  झ्यापझ्याप समातिनु चानचुने कुरो थिएन ! यसरी सिङ्गो मुलुकले चैनको सास फेरिरहँदा भने त्यसै घटनालाई लिएर निर्मला काण्डमा झैँ कतिपयको सत्ताका विरुद्ध मोर्चा कस्न अर्जापेको हतियार भुत्ते हुँदा र कतिपयको डलर थाप्नका सिलाईएको थैली रित्तो हुँदा भने कम्ती रिस उठेको छैन होला ! 

हिंसाको विरोध आवश्यक छ तर हिँसाको विरोधलाई फेसन शो बनाउने कुरा चाहिँ घातक छ ! नेपालमा एउटा हिँसाका विरोधका नाममा नेपथ्यबाट अर्को हिंसा मच्चाउने जुन प्रायोजित तानबाना बुनिन्छ त्यो खतरनाक छ ! हिँसाका अपराधी पत्ता नलागे हुन्थ्यो र त्यसैका बलमा सत्ताका विरुद्ध कुनै सनकी अनसनकारीलाई भोकको पासो थाप्न लगाउन पाए हुन्थ्यो भन्ने नीच सोच झन् हिस्रक छ ! यिनै र यस्तै काम गरेर राज्यका काममा रोडा अड्काई अपराधी अनुसन्धानमा वाधा पुर्याउने आशय झनै बदनियतपूर्ण छ !

यही विकृति देखेर दिक्दारिएर त होला एक कार्यक्रममा राष्ट्रपतिले भन्नु भएछ ! ‘यदि जुलुसमा हिँडेर महिला हिँसा अन्त्य हुने भए मै पनि जुलुसमा हिँडिदिन्थेँ’ !

हुनत काठमाडौका केही  मिडियामा छापिने र प्रसारण हुने ( समाचार होइन कि ) बुनिएका कथा पढ्ने र त्यस्तै सिर्जनात्मक ( सूचनात्मक होइन ) समाचार सुन्ने बानी परेका धेरैलाई लाग्दो हो सिङ्गो देश डुब्नै लागेको छ ! ती रेडिमेड समाचारका झिलिमिली पकेटभित्र पस्दा यस्तो लाग्छ ! प्रतिनिधि सभा भङ्ग भएपछि मुलुकमा ठूलै महाविपत निम्तिँदो छ र यहाँ नयाँ तानाशाहको उदय हुँदो छ ! यता मुलुकका लागि दृढ अडान भएको व्यक्ति देख्दा उताको नुन खानेहरूले त्यसलाई तानाशाह र प्रतिगमनकारी देख्नु शायद यो देशको विशेषता नै पो हो क्यार ! त्यति मात्र होइन हलो अड्काएर गोरु चुट्न बानी परेका यिनका कुरा पत्याउने हो भने मुलुक तानाशाही र प्रतिगमनतर्फ प्रति किलोमिटर १२० को रफ्तारमा दौडँदो छ र मुलुक विघटननोन्मुख छ ! यी र यस्ता फुराइने, जुराइने र बेलुन झै फुलाइने समाचारका आयोजक र प्रयोजकहरूका हावादारी गफसँग कञ्चनपुरलाई खासै चासो रहेनछ !  

वास्तविकता के हो भने उहिल्यैदेखि हिमाल र पहाडको चिसो पानी तराईको खेतले पिइरहेछ,  तराईको पहेँलो धानको सेतो भात खाएर हिमाल र पहाड टन्न अघाइरहेछ ! त्यसैले  त  पहाड भएन भने तराईलाई तिर्खा लाग्छ अनि तराई भएन भने पहाडलाई भोक ! पहाड र तराईका बिचमा फाटो हालेर कसैको जुठोपुरा खाएकै भरमा मुलुककको चोखो पिरती बिटुल्याउनेहरू र अज्ञात रिमोट कन्ट्रोलद्वारा सञ्चालित हुनेहरू अस्ति जसरी सलबलाएका थिए ती हिजो त्यसरी नै सेलाएका थिए तर आज केपी ओलीका विरुद्ध यो तथाकथित प्रतिगमनकारी तानाशाही र निरङ्कुशताको जुन आरोप लगाइएको छ त्यो त्यही जातीय विद्वेषको दुर्दान्त भट्टामा सोझासाझा जनतालाई घिसार्दै जिउँदै पुनः पोल्ने धोको पूरा गर्ने रहर बाहेक केही होइन भन्ने यथार्थ पनि जगजाहेर नै छ !

हिजो कामरेड प्रचन्ड प्रधानमन्त्री हुँदा र उहाँले किस्ताबन्दीमा फलाना फलानालाई प्रधानमन्त्री बनाएँ भनिरहँदा उहाँले पस्केका जातीय विद्वेषका घृणाको फोहरका डङ्गुरले देश कसरी दुर्गन्धित थियो, विखण्डनका वनमाराले विविधताका बीचको एकताको यस मुलुकको सुन्दर फूलबारीलाई कसरी एकाएक बनमाराको झाडीका रूपमा अनुवाद गरिदियो !  त्यो त तराईबाट लखेटिनु परेका र पहाडबाट हेपिनु परेका तमाम नागरिकका मनको निको नभएको घाउ सायद अहिले पनि बताउँछ होला ! मलाई सम्झना छ ! एक समयमा मधेश झर्नु पर्दा पहाडले टोपी लुकाउनु पर्थ्यो भने पहाड उक्लनु पर्दा मधेशको धोती भयले निसासिन्थ्यो ! बगलीभरि विखण्डनका पोका बोकेर मुखमा देशभक्तिको रामनामी जप्ने मात्र होइन, देब्रे गोजीमा समाजवादको नारा बोकेर दाहिने गोजीमा परिबारवाद र आफन्तवादको समाजवादी नयाँ मोडल पनि यो द्वन्द्वोत्तर युगमा त्यस युगका आमन्त्रक हुँ भन्नेका व्यवहारबाट देखिएकै हो क्यार !

वास्तविकता के हो भने उहिल्यैदेखि हिमाल र पहाडको चिसो पानी तराईको खेतले पिइरहेछ,  तराईको पहेँलो धानको सेतो भात खाएर हिमाल र पहाड टन्न अघाइरहेछ ! त्यसैले  त  पहाड भएन भने तराईलाई तिर्खा लाग्छ अनि तराई भएन भने पहाडलाई भोक ! पहाड र तराईका बिचमा फाटो हालेर कसैको जुठोपुरा खाएकै भरमा मुलुककको चोखो पिरती बिटुल्याउनेहरू र अज्ञात रिमोट कन्ट्रोलद्वारा सञ्चालित हुनेहरू अस्ति जसरी सलबलाएका थिए ती हिजो त्यसरी नै सेलाएका थिए तर आज केपी ओलीका विरुद्ध यो तथाकथित प्रतिगमनकारी तानाशाही र निरङ्कुशताको जुन आरोप लगाइएको छ त्यो त्यही जातीय विद्वेषको दुर्दान्त भट्टामा सोझासाझा जनतालाई घिसार्दै जिउँदै पुनः पोल्ने धोको पूरा गर्ने रहर बाहेक केही होइन भन्ने यथार्थ पनि जगजाहेर नै छ !

केही धुन्धुकारीहरू बाहेक सबैलाई थाहा छ ! मुलुकमा रोपिएको जातीय र क्षेत्रीय विद्वेषका निदानको मूल कारक केपी ओलीको चट्टानी अडान हो ! बुझ्न नसकिने कुरो के छ भने हिजो देश टुक्र्याउन हिँडेका (सिके) राउतहरू देश बनाउन भनेर मेनस्ट्रीममा केपी ओलीले ल्याउँदा आफूलाई राष्ट्रवादको ब्रान्डेड र खुङ्खार नेता ठान्ने रावलहरूको मुटुमा किन ढ्याङ्ग्रो ठोक्छ ! र किन छियाछिया हुन्छ ! सधैँ छिमेकी परस्त भनी जबर्जस्ती चिनाइएका महतोहरू लिम्पिया धुराका पक्षमा सदनमा अनुहार उज्यालो पारेर दनादन बोल्दा सधै बन्दुकको भरमा जबर्जस्ती राष्ट्रवादी भनेर  घोकाइएका  दाहालहरूको अनुहार किन बेहाल हुन्छ ! केपी ओलीकै चट्टनी अडानका कारण सात दशक पुरानो नेपालको भूमि नेपालका  नक्सामा समेटिँएर नेपालको नक्सा चौडा हुँदा माधव नेपाल कै अनुहारको नक्सा किन चाउरिन्छ !

काठमाडौका सडकमा डलरवादीहरूले जति वान्ता गरे पनि र पाखण्डी राजनीति गर्नेहरूले जति खोकेपनि कञ्चनपुरलाई खासै चासो रहेनछ ! कञ्चनपुरलाई काठमाडौका आँखाबाट हेर्दा सुदूर (पश्चिम) भनिँदो रहेछ ! तर मैले जब कञ्चनपुरबाट काठमाडौँलाई नियालेँ तब कञ्चनपुर र कर्णाली पारिको त्यो सुन्दर धर्ती त कला, संस्कृति, सभ्यता र सिर्जनाको केन्द्र रहेछ ! जब मैले कञ्चनपुरको यो हराभरा धर्तीबाट काठमाडौलाई हेरेँ मलाई काठमाडौ पो सुदूर लाग्यो ! सुदूर पश्चिम विश्वविद्यालय र यहाँ नियुक्त भएर आउनु भएका उपकुलपतिले यस विश्वविद्यालय मार्फत यहाँको कला, सभ्यता र संस्कृतिका ज्ञानको उत्खनन गर्ने जुन प्रतिबद्धता व्यक्त गर्नु भो ! विश्ववद्यालय हाताभित्रै बसेर चौबिसै घन्टा विश्वविद्यालयकै बारेमा खटेको जुन देखिनु भो यसले पनि विगरतमा थिल्थिलिएको यो विश्वविद्यालयले पनि नयाँ लय पक्रने अनुभूत समेत मैले गरेँ !    

र, संयोगवश यो लेख प्रकाशित हुने दिन अर्थात् आजै फल्गुण १० गते प्रधानमन्त्री केपी ओलीले कञ्चनपुरको रोजगारीमा नयाँ अवसर सिर्जना गर्ने औद्यौगिक क्षेत्रको शिलान्यास गर्दै हुनुहुन्छ ! यस क्षेत्रको विकासमा नयाँ द्वार खोल्दै हुनुहुन्छ ! उहाँ आउँदा यहाँको घाँस उम्रेको उजाड एयरपोर्टले समेत गुलजार हुने हुने आश गरेको हुनुपर्छ !  

यसरी उता काठमाडौका कागहरू कुर्सीका लागि जति कर्कश स्वरमा कराइरहे पनि, गिद्धहरू सत्ताको सिनोका लागि जति छिनाझप्टी गरिरहे पनि र स्यालहरू प्रतिगमन तानाशाही र निरङ्कुशता भनेर घोक्रो चिरिने गरी र मुखै च्यातिने गरी जति हुइय्याआआआ... हुइय्याआआआआ.... गरिरहे पनि यता मुलुक र मुलुकका कैयौँ कञ्चनपुरहरू तिनको कुनै वास्ता नगरी आआफ्नै लयमा र आआफ्नै गतिमा निरन्तर गतिशील भैरहेछन् ! जेसुकै होस्, काठमाडौँका वितण्डाकारीहरूले जे जति होडलो मच्चाइरहून्, यो कञ्चनपुर र अन्य कैयौँ कञ्चनपुरहरूका  सौन्दर्यले चाहिँ आफ्नै लय समातिरहेछ र समातिरहनेछ  !