काठमाडौं, २४ असोज – सरकारले करारमा काम गरिरहेका कर्मचारीहरुलाई तीन विकल्प दिंदै स्थायी नगर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको कार्ययोजनामा करार कर्मचारीको व्यवस्थापनमा तीनवटा विकल्प दिइएको हो ।

पहिलो विकल्पका रूपमा कर्मचारी भर्ना गरेको कार्यालय, विभाग तथा सम्बन्धित विभागले खाली भएको स्थानमा काममा लगाउन सक्नेछ । जस्तै कृषि तथा पशुपन्छी विकास  मन्त्रालयअन्तर्गत जिल्ला कृषि विकास कार्यालयमा भर्ना भएका कर्मचारीलाई कृषि मन्त्रालयले नै व्यवस्थापन गर्नुपर्ने छ । कुनै जिल्ला कार्यालयमा भर्ना भएका कर्मचारीलाई अन्य जिल्ला कार्यालय, विभाग तथा मन्त्रालयमै सरुवा गरेर पनि मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने छ । 

यस्तै व्यवस्था संघीय सरकारका सबै मन्त्रालयका लागि अनिवार्य हुनेछ । त्यसमा व्यवस्थापन हुन नसकेका कर्मचारीलाई सरकारले प्रदेश र स्थानीय तहमा खटाउने छ । 

कर्मचारी अपुग भएका प्रदेश सरकारका कार्यालय र स्थानीय तहअन्तर्गतका कार्यालयमा हाल कार्यरत करार कर्मचारी परिचालन गरिने कार्ययोजनामा उल्लेख छ । 
दोस्रो विकल्पमा पनि ‘फिट’ हुन नसकेका कर्मचारीलाई भने सरकारले ३ महिनाको तलब अग्रिम दिएर घर पठाउने छ । 

‘अहिले कार्यरत करार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी अपुग भएका ठाउँमा परिचालन गर्ने कार्ययोजनामा उल्लेख छ,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन हुन नसकेका कर्मचारीलाई ३ महिनाको अग्रिम तलब दिएर घर पठाउने अन्तिम विकल्प पनि कार्यायोजनमा उल्लेख छ ।’

सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभर करीब ३२ हजारको संख्यामा करार कर्मचारी कार्यरत छन् । जसमध्ये धेरै करार कर्मचारी कार्यालय सहयोगीका रुपमा  छन् । 

लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूले भने प्रक्रिया र्पुयाएर स्थायी गरिनुपर्ने पनि माग गरेका छन् । सरकारले करार कर्मचारीलाई स्थायीको विकल्पमा लैजान लोकसेवा आयोगसँग परामर्श पनि लिएको थियो । तर आयोगले करार कर्मचारीलाई सोझै स्थायी गरिँदा समग्र कर्मचारीतन्त्रमा नराम्रो असर पर्ने सुझाव सरकारलाई दिएको छ । 

आयोगले प्राविधिक र प्रशासनिक कारण उल्लेख गर्दै करार कर्मचारीलाई स्थायी गरिन नहुने सुझाव सरकारलाई पेश गरेको थियो । 

लोकसेवा आयोगको सुझावलाई समेटेर कार्यान्वयनमा ल्याइएको कार्ययोजनाअनुसार अब करार सेवामा कार्यरत कर्मचारीले स्थायी हुनका लागि लोकसेवा आयोग नै लड्नुपर्ने हुन्छ । नभए सरकारलाई आवश्यक परेमा उमेरहद पुगञ्जेलसम्म करारमा काम गर्नुपर्ने हुन्छ ।