बूढानीलकण्ठ स्कूललाई आधुनिक शिक्षा सुरुवातको कोसेढुंगाका रुपमा लिइन्छ । २०२३ सालमा बेलायतकी महारानी एलिजावेथ नेपाल भ्रमणमा आएका बेला उनको सल्लाह र सहयोगमा खोलिएको यो स्कूलमा मानवधर्म, नैतिकता देखि विज्ञानको समेत प्रयोगात्मक कक्षा हुन्छ । सुरुका ३ जना प्रिन्सिपल बेलायती नागरिक नै थिए । अहिले भने यहाँ नेपाली नागरिक केशर खुलाल प्रिन्सिपल छन् । यस स्कूलको ऐतिहासिकता र शिक्षण पद्दतिका विषयमा प्रिन्सिपल खुलालसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 

शिक्षामा बूढानीलकण्ठ स्कूलको पहिचान लामो समयदेखि रहन पुग्यो, यहाँको सिकाइ विधि फरक हो कि अन्य कारण छन् ? 
पहिलो त यसको स्थापना नै फरक ढंगले भयो । २०२३ सालमा बेलायतकी महारानी एलिजावेथ नेपाल भ्रमणमा रहेको बेला राजा महेन्द्रले जातीय वर्गीय विभेद रहित शिक्षा कसरी दिलाउन सकिन्छ भनेर प्रश्न गर्दा महारानीले विभेद रहित समाज निर्माण गर्न ठूलो मान्छेलाई तालिम दिएर नपुग्ने बरु बच्चाहरुलाई नै सिकाउने गरे मात्र समाजमा विभेद हटेर जान्छ भनेकी रहिछन् । उनले त्यसका लागि म एउटा स्कूल निर्माण गरिदिन्छु भनेपछि सरकारले जग्गा उपलब्ध गराउने र बेलायत सरकारले भवन र जनशक्ति दिने शर्तमा यो स्कूलको स्थापना गरिएको हो । एक बर्षमै स्कुलको भवन तयार भएर पढाउन पनि सुरु गरिएको थियो । 

यो फरक हुनमा पहिलो कारण हामी विभेद रहित तरिकाले पढाउँछौं । त्यो कसरी भन्नुहोला, यहाँ सबै जात, सबै धर्म, सबै बर्ग र सबै भौगोलिक क्षेत्रका विद्यार्थी हुन्छन् । यसले गर्दा यहाँ एक अर्काले सबै खालको बानी ब्यवहार सिक्दै हुर्कन्छन् । त्यसमा पनि हामी पारिवारिक वातावरण दिन्छौं र उनीहरुलाई दवाव नदिई उनीहरुकमै कदममा हामी सँगै अघि बढ्छौं । 

यो ठाउँ चाहिँ छनौट कसरी भएको थियो ? 
जेवी टाइसन, जो जोग्राफर हुनुहुन्थ्यो । उनी नेपालको अरुण उपत्यका अध्ययन गर्ने र कान्जिरोवा हिमाल चढ्ने ब्याक्ति हुन् । डोल्पाको अध्ययन गर्ने ब्यक्ति पनि उनै हुन् । उनैले यो स्थान छनौट गरेका हुन् । एकान्त र शान्त वातावरणको लागि यो ठाउँको छनौट गरिएको हो । 

तपाईंले बच्चाहरुसँग गर्ने ब्यावहार फरक हुन्छ त भन्नु भो, तर यति धेरै विविधताको अभ्यास गरेर आएको समाजका बालबालिकाहरुले कसरी त्यहाँ समान ब्यवहार महसुस गर्न सक्छन् ? 
पहिलो कुरा यहाँ आभासीय ब्यवस्था छ । कोहि घरबाट आउने, कसैले आफ्नो तरिकाले खाने हुँदैन । धनी गरिव जो आए पनि ढोकासम्म मात्र हो उनीहरुलाई सामाजिक पृष्ठभूमिका आधारमा देखिने । स्कूलभित्र छिरेपछि उनीहरुले लगाएको लुगासमेत खोलेर एउटै यनिफर्ममा राखिन्छ । खाना सँगै, बस्न सँगै, ड्रेस सबैको एकै । हामी कसैलाई पनि थर प्रयोग गरेर बोलाउँदैनौं । नाम मात्रले बोलाउँछौं । को के थरको कसैलाई पनि थाहा हुँदैन । यसरी सबैलाई समान हैसियतमा राखेर ट्रिट गरेपछि उनीहरुले कतै हेजिटेशन फिल नै नगरी पढ्छन् । 

अर्को कुरा यहाँ पढाउने शिक्षकहरु पनि ९० प्रतिशत यहिँ बस्नुहुन्छ । उहाँहरुका छोराछोरी पनि यहिँ पढ्छन् । उनीहरु होस्टलमै बस्छन् र सरहरु क्वार्टरमा । म यहाँको प्रिन्सिपल हुँ, म यहि बस्छु तर मेरा छोराछोरी होस्टलमै बस्छन् । उनीहरु मसँग बस्न पाउँदैनन् । अनि हरेक विद्यार्थीलाई पढ्न प्रोत्साहन गर्छौं । हामी शारीरिक पनिसमेन्टमा विश्वास गर्दैनौं । कुनै शिक्षकले कुटेको भनेर कम्प्लेन आएमा त्यसलाई कारवाही गर्छाैं । यसरी सबै हिसावले हामी विभेद रहित शिक्षा दिन्छौं । यहि नै हो हाम्रो स्कूलको विशेषता । यसैले हामीलाई यहाँसम्म ल्याएको छ । 

अर्को पनि कुरा छ । त्यो भनेको एकै ठाउँ खाना खाएपछि शिक्षक र विद्यार्थी धेरै छिटो घुलमिल हुन्छन् । त्यसमा पनि यहाँ ठूलो एरिया छ । यो विशाल एरियामा विद्यार्थी त्यसै पनि खुला भएर प्राकृतिक वातावरणमा पढिरहेको हुन्छ । अधिकांश विषयको प्राक्टिकल पढाई हुन्छ । सँगै हामी बुलिङ हुनै दिन्नौं त भन्दैनौं तर त्यो हुनबाट रोक्छौं । भए पनि मात्रात्मक हिसावले एकदमै कम हुन्छ ।

कस्तो कस्तो प्राक्टिकल कोर्ष हुन्छ ? 
तपाईंलाई भनौं, यहाँ हरेक कुरामा बढि नै ब्यवहारिक शिक्षामा जोड दिन्छौं । मानव धर्म देखि कृषि कर्म, साइन्स, समाज सेवा, नेतृत्व विकास सबै विषय हामी अभ्यास मार्फत नै गर्छौं । गएको साल आठ कक्षाका विद्यार्थीहरुले कृषिको अभ्यास क्रममा हामी स्कूलभरका १२०० जनालाई तीन दिनसम्म खाजा खान पुग्ने मकै उत्पादन गरेका थिए । यो एउटा उदाहरण हो । यसरी हामी धेरै कुरामा प्राक्टिस गराउँछौं । यहाँबाट निस्किएका विद्यार्थी ब्यवहारिक र सबै खालको समाजमा घुलमिल हुनसक्ने हुन्छन् । 

अहिलेका बच्चाहरु इन्टरनेट र नजिकको साथी भन्दा बाहिर जानै चाहंदैनन् । सबै खालको समाजमा घुलमिल हुने भन्नुभो, त्यस्तो कसरी बनाउनुहुन्छ ? 
उनीहरु भित्र रहेको मानवतालाई जगाउने विभिन्न क्रियाकलाप गर्छाैं । हाम्रा विद्यार्थीले बाहिर डोनेशन खोजेर आपदमा रहेका मान्छेलाई उद्धार गर्ने ठाउँमा जान्छन् । पैसा उठाएर एकदमै दुर्गमका स्कूलहरुमा पुस्तकालय खोल्न जान्छन् । यसले उनीहरुमा सानैमा हरेक खालको जीवन नजिकबाट पढ्न पाउँछन् । उनीहरु भित्रको चिडचिडापन विस्तारै हराउँदै जान्छ र उनीहरु सभ्य बन्छन् । यहि हो हाम्रोमा पढ्ने विद्यार्थीहरुको विषेशता । 

बच्चालाई घरपरिवारबाट छुटाउँदा त उनीहरुको पारिवारिक मानवीय गुण हराउने भो नि ? त्यो कसरी परिपूर्ति हुन्छ ? 
त्यो कुरा पनि हो तर, केहि पाउन केहि गुमाउनु पर्छ । परिवारमा रहंदा पनि केही फाइदा, केही बेफाइदा हुन्छ । होस्टलमा रहंदाका पनि केही फाइदा र केही वेफाइदा छन् । तर हामी यहिँ नै पारिवारिक वातावरण दिन्छौं । यति कुरा म निर्धक्क भन्छु– हाम्रोमा पढ्ने विद्यार्थी भद्र, सभ्य र एउटै विषमा पनि बुझाइको लेभल माथि हुन्छ । यहाँबाट निस्किएका विद्यार्थीहरुलाई हेर्दा पनि थाहा हुन्छ । हामीसँग पढेर निस्केका विद्यार्थी मदन भण्डारीका दुई छोरीहरु निशा र उषा पनि हुन् । उनीहरुलाई नै हेर्नुस् न । पहिलेको एसएलसी बोर्डमा यहाँका विद्यार्थी त हुन्थे, ती धेरै वल्र्ड बैंकको केन्द्रीय अफिसमा छन्, कति डाक्टर, इन्जिनियर छन् ।  

घरमा आमाबाबाट या हजुरवा हजुरआमाबाट रामायण महाभारत र अन्य लोक कथा सुन्दै नैतिक शिक्षा लिन्छन् केटाकेटी, तर घरबाट छुटेपछि चाहिँ स्कूलमा नैतिक शिक्षा कसरी दिनुहुन्छ ? नैतिक नभएमा पनिसमेन्ट के हुन्छ ? 
नैतिक शिक्षा नै यहाँको बेस हो । कितावमै पनि हुन्छ । त्यसमा जोड दिन्छौं । खासमा हामी मानव धर्म सिकाउँछौ । आफू को हो बुझ्न सक्ने बनाउँछौं । यस्तो शिक्षा बन्दनाको लागि लाइनमा बसेको बेला हुन्छ । त्यसबेला प्रवचन हुन्छ । कुनै इभेन्ट भयो भने त्यहाँ राखेर पनि दिन्छौं । कुनै घटना घटेमा त्यसलाई पनि राखेर हामी त्यहिँ नैतिक कुरा सिकाउँछौ । पनिसमेट भौतिक हुँदैन । पहिला दुई तीन पटक सम्झाउँछौं ।