– धु्रवसागर शर्मा 

गलेश्वर, २० कात्तिक – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित गुठी जग्गा अतिक्रमणको चपेटामा परेको छ । 

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर विर्तामा दिएको राज्य) ज्यामरुककोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको बेनपा–२ बगरफाँटको १२ रोपनी छ आना क्षेत्रफल जग्गामध्ये करीब तीन रोपनी जग्गा अतिक्रमण भएको स्थानीयको गुनासो रहेको छ । 

जग्गा अतिक्रमण भएको बारेमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठियारले बताएका छन् । खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको करिव ३३ रोपनी जग्गा मध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी छ आना जग्गा बगरफाँटको कुरुङ्दीमा रहेको खड्ग भवानी कोत पूजा एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । 

“गुठी जग्गा अतिक्रमण भएको भन्ने गुनासो आएको छ, वडाध्यक्षसहित समितिका पदाधिकारी गएर एक पटक निरीक्षण पनि गरेको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “अब छिट्टै नापी लगेर के कति अतिक्रमण भएको छ वा छैन नाप जाँच गर्ने छु ।” 

सापकोटा थरका ब्राह्मणले पुस्तौँदेखि भोगचलन गर्दै आएको सो गुठी जग्गा पछिल्लो समयमा आएर अतिक्रमण, पहिरो र बाटोका कारण आफूहरुलाई मर्का परेको गुठियार तया खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताउनुभयो । खड्गभवानी कोतमा सापकोटा थरका ब्राह्मणनै पुजारी हुनुपर्ने मान्यताअनुसार पुस्तौँदेखि सो कोतमा दशैँका १० दिनसम्म सापकोटा ब्राह्मणबाट पूजाआजा हुने गर्छ । त्यसका अतिरिक्त चैतेदशैँ, नागपञ्चमी, साउने सङ्क्रान्तिलगायतका पर्वमा पनि सापकोटा गुठियारले पूजाआजा गर्दै आएका छन् । 

पुस्तौँदेखि खड्ग भवानी कोतमा पूजाआजा गर्दै आएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीले पनि गुठी जग्गाको भोगचलन गर्दै आएका छन् । गुठियारले गुठी जग्गाको भोगचलन गरेबापत आ–आफ्नो जिम्मेवारीको काम गर्नुका साथै कोत पूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्कसमेत बुझाउनुपर्ने गुठियार कृष्णबहादुर घर्तीले बताउनुभयो । 

चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आए पनि गुठियारलाई जग्गाको कुनै पनि कागजात दिइएको छैन । देव गुठीअन्तर्गत दर्ता रहेको सो जग्गा किनबेच गर्न नमिल्ने भएका कारण समस्या उत्पन्न भएको समितिका अध्यक्ष घिमिरेको भनाइ रहेको छ । 

गुठियारले नै संरक्षण र प्रयोग गर्दै आएको सो जग्गा अतिक्रमण हुने क्रम बढ्दै गएपछि उनीहरुले बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापा र गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरेलाई जानकारी गराउनुभए पनि कुनै सुनुवाइ भएको छैन । वडाअध्यक्ष थापाले गुठी व्यवस्थापन समितिले जग्गाको प्रमाण पुर्जासहित वडा कार्यालयमा निवेदन दिए प्रक्रिया अघि बढाउन सहज हुने बताउनुभयो । 

सो गुठी जग्गाको इतिहास १५ औ शताब्दीसँग जोडिएको छ । १५औँ शताब्दीको प्रारम्भसँगै थापाले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्ग भवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखको यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् । 

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका र १५४५ को भदौ महीनामा थापाको पुख्र्यौली थलो मानिएको ताकम डिम्ब मल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापा राजाले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएका शिलालेखमा उल्लेख छ । 

करीब ३२ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् । 

त्यहाँ रहेका हातहतियारको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरबार, ढाललगायतका औजारमा खिया लागेको छ भने कोट परिसर युवायुवतीको क्रिडास्थल र केही टाँठाबाठाको व्यक्तिगत सम्पत्तिजस्तै बनेको स्थानीयवासी यामबहादुर कार्कीले बताउनुभयो । 

जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटरको दूरीमा रहेको भए पनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक स्थल गुमनाम रहेको अर्जन मावि भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्रीले जानकारी दिनुभयो । 

(रासस)