बाँके, २४ मंसिर–जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा मंगलबार बिहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको हो ।

ना. २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आइतवार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो। कोहलपुरलाई केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको थियो । 
ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।