नेपालगन्ज, २२ मङ्सिर - ट्रकले बिद्यार्थीलाई ठक्कर दिएपछि बाँकेको कोहलपुर अहिले तनावग्रस्त बनेको छ ।

आइतबार बिहान साढे १० बजेतिर कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।

 विद्यार्थीले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो र  स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनौं हवाई फायर गरेको तथा ट्रक चालकलाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिईसकेको छ ।

घाईते चन्दको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुबै खुट्टामा चोट लागेको उनको अवस्था गम्भिर रहेको बताइएको छ ।