काठमाडौँ, २५ असार – नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सरकारसँग अनुमति नै नलिएर विदेश जान खोजेको खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो ।

कोइरालालाई असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो । विश्वविद्यालय स्रोतका अनुसार उनी त्यस कार्यक्रममा जान पटकपटक क्यानडाबाट निम्ता माग गरेका थिए । कम्तिमा उनले चारपटक सम्म पत्राचार गरेपछि मात्र उताबाट निम्ता आएको थियो तर पनि निकै ढिलो ।

एक हप्ता अघि मात्र उनलाई निमन्त्रणा प्राप्त भएको थियो जबकि, उनीसँगै जाने अन्यको एक महिना अघि नै निम्ता आईसकेर प्रक्रिया पुरा गरिएको थियो । पत्र आएपछि कोइरालाले हतारहतारमा मन्त्रालयमा दर्ता त गराए तर मन्त्रालयले स्वीकृति नदिदै उनी क्यानडा जाने प्रक्रिया अघि बढाएका थिए

उपकुलपतिमा नियुक्त भएपछि विश्वविद्यालयमा उनले भन्ने गरेका थिए–‘मलाइ सुशील दाईले चार वर्ष मोज गर भनी यहाँ पठाएका हुन् । विश्वविद्यालयसँग मलाइ कुनै मतलब छैन् । यहाँका एमालेहरुलाई सिध्याउने हो’–एक जना प्राध्यापकले बताए ।