नेपालमा भएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तनसँगै परम्परागत आन्दोलनको संस्कृतिमा पनि परिवर्तन हुनुपर्दछ । समयसँगै आवश्यकता, अपेक्षा बदलिएका छन्, जसको मेरुदण्डको रुपमा व्यवस्था पनि परिवर्तन भएको छ । नेपालको जनसंख्यामा सर्वेक्षण गर्ने हो भने २००७ सालको आन्दोलनदेखि २०६२÷०६३ को जनआन्दोलनको अनुभव सुन्न पाइन्छ । तर अवको पुस्ताको आवश्यकता परम्पराको निरन्तरता होइन र हुनुहुँदैन । विज्ञानले विश्वलाई साँघुरो बनाइसक्यो । मानिस कोठामा बसेर विश्वको कुन कुनामा के भइरहेको भन्ने जानकारी लिइरहेको छ । त्यसैले अबको परिवर्तन सन्देशमा मात्रै होइन, आवश्यकता बमोजिमकोे परिणाममा चाहिएको छ । हो, हिजो सूचनाको र चेतनाको आवश्यकतामा भएका आन्दोलनका स्वरुपप्रति आजको यो पुस्ता ऋणी छ । हिजो नभए आज सम्भव थिएन । तर आज बाँच्न सक्नु र भोली हाँक्न तयार हुनुपर्ने समयको चुनौति हामीलाई छ ।

नेपालको संविधानले नै हामीलाई उत्पादनसँग जोडिन र रचनात्मक कामका लागि प्रेरणा दिन्छ किनकी अब हामीसँग कुनैपनि अधिकारको कमी छैन ।  कतै कमजोरी छ भने जननिर्वाचित संसद  र हामीसँग छ । विगतमा निरंकुशता विरोधी धेरै आन्दोलनमा होमिएका प्रतिनिधिपात्र आज गणतन्त्र नेपालको संघिय संसदमा हुनुहुन्छ । कानुन अनुसार नै एक व्यक्तिले १६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र लिन्छ, १८ वर्षमा सरकारी सेवामा प्रवेश गर्छ र २१ वर्षको उमेरमा त सार्वजनिक सेवाको अधिकृतस्तरमा प्रवेशका लगि योग्य ठहरिन्छ भने ज्ञानको दायरा पनि सोही बमोजिम फराकिलो भएको छ ।

केही समययता नेपालमा स्वास्थ्य क्षेत्र आन्दोलनका दृष्टिले बढी चर्चामा छ । जुनसुकै आन्दोलन पनि एजेण्डाको हिसाबले जायज छ कि छैन यो छलफलको विषय हो । तर अब सबै पक्षले आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ । डाक्टरका लागि प्रमुख सरोकारवाला पक्ष भनेको बिरामी हुन भने स्वास्थ्य सेवा ठप्प बनाएर गरिएको आन्दोलनले कति पेशागत धर्म निभाउँछ, यसमा समिक्षा गर्नुपर्दछ । शिक्षक र विद्यार्थीका आन्दोलनले पठनपाठन ठप्प बनाउने हो भने कसका लागि हुन्छ त्यस्तो आन्दोलन ? मजदुरले आफ्नो उद्योग बन्द गर्ने, यातायात व्यवसायीले सवारीसाधन बन्द गर्ने यस प्रकृतीको आन्दोलनले अब हामीलाई गन्तव्यमा पुर्याउँदैन । केही समय अगाडी चितवनका कृषकले दुग्ध विकास संस्थानले दुधको मुल्य घटाएको विरोधमा ५० लिटर दुध बाँडेर विरोध जनाएका थिए । भष्ट्रचार, महंगी र विकृतीका विरुद्ध बुटवलका युवाहरुले सडकमा सांकेतिक चित्र कोरेर विरोध जनाएका थिए भने  दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धीको विरुद्धमा दाउराको आगो बालेर सामुहिक खाना खाएर गरिएको आन्दोलन पनि रचनात्मक थियो । अब विद्यालयदेखि विश्वविद्यालयसम्ममा हुने आन्दोलन शैक्षिक गुणस्तर वृद्धिसँग जोडिने, डाक्टर गर्ने आन्दोलन बिरामीलाई निरन्तर स्वास्थ्य उपचारमा रहने हुनुपर्दछ । अबका आन्दोलन उत्पादनसँग जोडिएको सृजनात्मक चिन्तन र रचनात्मक कामको मोडालिटीभित्र अटाउनुपर्छ । बन्द हड्ताल मात्रै आन्दोलन हो भन्ने मनोविज्ञानलाई बदल्नुपर्छ । अन्याय, अत्याचार, असन्तुष्टिबाट निस्किएको रापको व्यवस्थित रुप आन्दोलन हो, त्यसैले यो फरक प्रकृतिको हुनु स्वाभाविक छ । तर समस्या समाधानकालागि सर्वस्वीकार्य तरिका अबलम्वन गर्नु आजको माग हो । 

कुनैपनि विषय व्यक्ति विशेषको मात्रै वा कुनै समुह विशेषको मात्रै बनाइनु हँुदैन । बन्द हड्तालको विकल्प पनि नीतिगत रुपमा नै राज्यकै तहबाट दिनुपर्दछ । अब नेपाली जनताको लक्ष्य भनेको समानता र स्वतन्त्रता भएको समृद्ध नेपालको निर्माण हो । जसका लागि हिजोका आन्दोलनका बाहकको रुपमा चिनिने उमेर समुह, जोस जाँगरसहितको उर्जावान व्यक्तिहरुलाई समृद्धिको अभियानमा सामेल गराउनुपर्दछ । राजनीतिक उपलब्धि पश्चातका आन्दोलन प्रतिक्रियात्मक हुन थालेका छन्, जसलाई परिश्रमसँग जोड्दै व्यवसायिक उत्पादनउन्मुख बनाउनुपर्छ । ज्ञान, सिप, क्षमता र तत्परताको आधारमा नेतृत्व प्रदान र नीतिको कार्यान्वयनमा नेतृत्वको मूल्यांकन गर्नु आवश्यक छ । कामप्रतिको दखलता जुनसुकै क्षेत्रको नेतृत्व छनौटको आधार बनाइनुपर्छ ताकी जो सँग योजना छ, उसले सम्बन्धित क्षेत्रलाई आफ्नो कर्ममार्फत् न्याय गर्न सकोस् । 

आन्दोलनका एजेण्डा जायज हुनसक्छन् । आन्दोलन रहर हुँदैन । तर कस्तो आन्दोलन ? यो महत्वपूर्ण हुन्छ । डाक्टरले नै अस्पतालमा ताला लगाएपछि बिरामी कहाँ जाने ? बिद्यार्थीले क्याम्पस बन्द गरेपछि कहाँ पढ्ने, मजदुरले उद्योगमै हड्ताल गरेपछि के काम गर्ने ? अव यसो नगरौं, बिरोधको रचनात्मक शैली निर्माण गरौं । जस्तो : चितवनका कृषकले दुधको मुल्य घटाएको विरोधमा ५० लिटर दुध बाँडेर विरोध जनाएका थिए । 

आवश्यकता बमोजिमको आन्दोलनमा सकारात्मक पहलकदमीसहितको समाधान अबको गन्तव्य हुनुपर्दछ । हामी नेपालमा भएको भ्रष्टचार, गरिबी, अशिक्षा जस्ता विकृति हटाउन एकजुट हुनपर्दछ । हामीले बिरोधको शैलीमा आफ्नो चेतनाको स्तर पनि झल्काउन सक्नुपर्छ । हामी आफैंले राम्रो अभ्यासको थालनी गरेर देखाउन किन नसक्ने ? नेपाली जनताको पहिचान बनेको सामुहिक कामप्रतिको विश्वसनियतालाई अझ मजबुद बनाऔं । देश नै समृद्ध भए कोही व्यक्ति विषेश समस्यामा रहदंैनौ । यसकालागि फरक काम होइन, फरक तरिका अबलम्वन गर्नुपर्दछ । जसको जिम्मेवारी जे हो, जहाँ हो, त्यस कामप्रति जवाफदेही र इमान्दार भए नेपालीसँग भएको सिप, दक्षताको पनि सम्मान हुन्छ साथै नेपालको समृद्धि नेपालीबाटै सम्भव छ भन्ने तथ्य पुष्टी हुन्छ । मुलुकले दिएको अवसरलाई हामीले नजरअन्दाज गरेर आन्दोलनको बाटो रोजे समयले हामीलाई माफी दिने छैन । जसको सजाय आज र भोलिको पुस्तालो समेत भोग्न बाध्य हुनुपर्नेछ ।