नेपालका प्रधानमन्त्री केपी ओली !
हार्दिक शुभकामना !

आज मेरो जन्म जयन्ती ! नेपाल र नेपालीहरूले मनाउँदै आएको राष्ट्रिय एकता दिवस ! नेपालमा विभिन्न कार्यक्रम गरी मलाई सम्झिइँदै छ ! आज बदलिँदो परिस्थिति अनुरूप मैले आर्ज्याको भनिए पनि नेपाली वीर योद्धाहरूको बलिदानबाट एकीकृत नेपालको प्रधानमन्त्री तपाईँ हुनुहुन्छ ! तपाईमा इतिहास चेत छ ! त्यसैले तपाईलाई थाहै होला कि मेरो नेतृत्वमा नेपालको एकीकरण हुँदा मैले विश्वलाई निलिरहेको फिरङ्गी हरूबाट नेपाललाई बचाउन के कति सकस परेको थियो !  र मलाई पनि के थाहा छ भने त्यतिबेला फिरङ्गीले डसेको ‍त्यतिबेलाको छिमेकीले बेलाबेला त्यता फर्केर लम्पसार पर्ने दासहरू परिचालन गरी डस्न खोज्दा तपाईले निर्भीकतापूर्वक लिनुभएको अडानबाट मेरा तत्कालीन वीरहरूको सहयोगमा मैले आर्ज्याको मुलुकलाई जोगाइरहनु भएको छ !     

आज आफूलाई दक्षिण एसियाको दादा ठान्ने तपाईँको छिमेकी देश कसरी फिरङ्गीको फेरोमा बेरिएको थियो ! त्यसका विषाक्त पाइला यो धर्तीमा पर्न नदिन र त्यसका क्रूर पञ्जा र विषालु नङग्रा नेपाल आमालाई चिथोर्न कसरी लालायित थिए ! खैर, ती इतिहासका कुरा अहिले नकोट्याऊँ ! मैले थालेको नेपाल एकीकरणको महाभियानको रथलाई म पछिका बीर योद्धाहरूले पश्चिम किल्ला काङ्गडा र पूर्वमा टिस्टा पुर्याएको त तपाईलाई थाहै छ ! यो देशमा त्यसपछि कति उतार चढाव आए, त्यसका बारेमा म अहिले धेरै केही भन्न चाहन्न तर मुटुमा  ढुङ्गा राखेर गर्नु परेको सुगौली सन्धिमा नेपालै भनिएको नेपालको पश्चिम कालीनदीको सीमानामा किचलो झिकेर छिमेकीले हाम्रो देशको भूभागमा आफूले भोग चलन गर्दै आफ्नै नक्सामा राख्ने जुन दुस्साहस गर्यो र त्यसका विरुद्ध सिङ्गो नेपाल र नेपालीलाई एक ढिक्का बनाई उक्त भूमि नेपाली भूभागमै राख्ने जुन हिम्मत तपाईले गर्नु भो ! तपाईँ प्रति म कृतकृत्य छु ! मुलुकको स्वार्थका लागि नझुक्ने तपाईको जिद्दी भनू या अठोट म त्यसलाई हृदयदेखि नै सम्मान गर्दछु !

केपी जी ! नेपालमा जन्मेका धेरै नेताहरू मध्ये तपाई औँलामा गनेने केही नेताहरूमा पर्नुहुन्छ ! यो देशको भूमि र राष्ट्रियताको सवालमा म तपाईबाट निकै आशावादी छु ! म पछि यो देशलाई माया गर्ने र यो देशको भौतिक र आत्मिक निर्माणमा योगदान दिने मुख्यमुख्य नेताहरूमध्ये म तपाईमा जङ्गबहादुर, महेन्द्र, बीपी र मनमोहनका केही गुणहरूको फ्युजन देखिरहेछु ! जङ्गबहादुरका जस्तो आँट र चनाखोपन, महेन्द्रको जस्तो विकास र उन्नतिको आकाङ्क्षा एवम् बीपीको जस्तो लोकतान्त्रिक चेतको सम्मिश्रण तपाईको व्यक्तित्वमा म देखिरहेको छु ! मैले मेरा पालामा गरेजस्तो सैन्यकार्य गरेर त अहिले चल्ने कुरो होइन, किनकि वर्तमान युग भुँइमान्छेका मनमा राज नगरी मुलुकमा राज गर्न नपाइने युग हो ! तपाईले नेपाली जनमनमा जुन आसन बनाउनु भएको छ र त्यसको प्रतिविम्ब जनताले चुनावमार्फत् जेजसरी देखाइ रहेका छन्  म तपाईको त्यो चमत्कारिक व्यक्तित्व देखेर अभिभूत भएको छु !

केपी !!! तपाईसँग म मात्र होइन ! यो देश अखण्ड रहनुपर्छ भन्ने तमाम मान्छे छन् ! नेपाली जनताको मुक्तिका लागि गरिएको भनिएको जनयुद्ध नामको विनासकारी डढेलोले नेपाली जनमन सरकारी भौतिक संरचनालाई खरानी पारेपछि र शान्ति प्रक्रियाका नाममा युद्ध बिसाए पछि पनि मुलुकलाई विकास र समृद्धितिर लानुका सट्टा जातीय र क्षेत्रीय विखण्डनका आराले चिरेर मुलक खण्डखणड पार्नेहरूका योजनालाई तपाईकै जिद्दीले र अठोटले कसरी धुजाधुजा पारिदियो ! त्यो पनि मैले राम्ररी नै देखे । हजारौँ मान्छेको बलिदानका रगत र आसुले आफू, आफ्ना र आफन्तका खेतबाली सिञ्चन गर्ने प्रवृत्तिका धुनधुकारीहरूलाई तपाईँले कसरी ठेँगान लगाउँदै आउनु भएको छ, त्यो पनि मैले देखेकै छु ! तिनलाई आफ्नो हैसियतको धर्तीमा खडा गर्न सक्ने  तपाईको अडान र निर्भीकताको म फ्यान नै भइसकेको छु ! 

केपी जी !!! छिमेकीले प्रकारान्तरले गरेको हप्कीदप्कीसँग नडराई तपाईले लिएको अडानका कारण नै यो संविधान निर्माण संभव भयो ! तपाईको त्यो व्यक्तित्वबाट अभिभूत भएर र मोहित भएर तपाईले जसकालागि मतपेटिकाको झोली थाप्नु भो तिनका झोली भरिदिए ! झन्नै तपाईँले नै झोली भरिदिएका धुन्धुकारीहरूले आधुनिक भीमसेन थापा बनाउने सपना देखेका थिए क्यार ! जनताले दिएको सत्ताको साँचो जनतालाई नै सुम्पने जुन कार्य तपाईले गर्नु भो र उनै विखण्डनकारीका हातमा मुलुकको लगाम जानबाट रोक्ने जुन हिम्मत गर्नु भो त्यसले म र मजस्ता थुप्रै हर्षले गदगद छन् !

केपी जी !!! तपाई बाहेक यो मुलुकको लिम्पियाधुरा कसैले फर्काउन सक्ने छैन !  तपाईँको आँट र हिम्मत देखेर दक्षिण पनि दङ्ग परिरहेछ र उत्तर पनि निरुत्तर भै रहेछ ! नेपाल दुई ढुंङ्गाका बीचको तरुल हो भन्ने मेरो थ्योरीलाई तपाईँले राम्ररी बुझ्नु भो र प्रयोग पनि गर्नु भो ! दक्षिणले दिने नाकाबन्दीको दुखबाट छुटकटारा दिलाउन तपाईले गरेको साहसको मूल्याङ्कन युगले गर्नेछ ! भूपरिवेष्टित मूलुकलाई भूजडित बनाउने तपाईको आँटलाई सलाम छ ! उत्तर र दक्षिणका दुई ढुङ्गामा कुनै घाउ नै नपारी दुवैको चेपबाट तपाईले मुलुकको दीर्घकालीन विकासका तरूलहरू खनिरहनु भएकै छ ! 

केपी जी तपाईको ज्ञान को पनि म फ्यान नै छु ! तपाईँले अब केही कार्य गर्नै पर्ने छ ! पहिलो कुरा, भुइँमान्छेलाई मीठा सपना बाँडेर कोदाली र कलम लिएका हातमा बन्दुक थमाएर आफू ऐश्वर्य र समृद्धिको आकाशमा उडान भर्दै गरेकाहरू अहिले तपाईका विरुद्ध लाग्दैछन् ! त्यतिबेला बन्दुक बोक्नेहरू, द्वन्द्मा दुवैतर्फबाट मारिनेहरू, अङ्गभङ्ग हुनेहरू, विधवा हुनेहरू र टुहुरा हुनेहरू तथा सुन्दर सपना निमोठिएका कारण बहुलाउनेहरूको लगत खोज्नुहोला र मन जित्नुहोला ! दोस्रो कुरो, मुलुकको विकास निर्माणका लागि ठेक्का पट्टा लिएर काम नगर्नेहरूलाई कार्यवाही गर्न २०७४ सालमा तपाईले प्रधानमन्त्री हुँदा जुन कडा निर्देशन पचहत्तर जिल्लाका प्रजिअहरूलाई दिनु भएको थियो र त्यसबेला ती ठगहरू  भटाभट काम गर्दै थिए ! पछि त्यो विकासको गति गएर  घरबेटीको स्पीडब्रेकरमा गएर ठोक्किएर पो रोकिएको हो कि ? त्यो सेलायो ! अब तपाईले त्यस्ता ठेकेदार र ती ठेकेदारसँग नेपथ्यमा रहेर काममा अवरोध पुर्याउनेहरूलाई पाता कस्न ढिलो गर्नु हुँदैन ! तेस्रो कुरो, अहिले सङ्क्रमण कालमा झैँ महँगी बढाउने विचौलियाहरूको बिगबिगी हुन सक्छ त्यसमा शून्य सहनशीलता कायम गर्नु होला !    

अँ तपाईका विरोधीहरू तपाईको अवसानको जति जपना गर्दै गरून् यहाँ हामी तमाम राष्ट्रप्रेमीहरू त्यति तपाईँका साथमा छौँ ! अँ तपाईँ अपरेसन थिएटरमा रहनुहुँदा तपाईँकै छेउछाउमा बस्नेहरूले तपाईको केकस्तो कामना गरेका थिए त्यो दुनियाले बुझेकै छ ! हामीले पनि त्यो बुझ्यौँ र यहाँ स्वर्गको सम्बन्धित निकायमा नेपाल आमाको चाहना बमोजिम त्यहाँ पुगेर धर्ना बस्यौँ ! त्यसैले हामीले समेत यहाँ धर्ना बसेर जोगाएको  तपाईँको जीवन तपाईका लागि होइन, मुलुकका लागि हो ! हिम्मत नहारी, गल्ती नगरी र गल्ती गर्ने आफ्नै सेरोफेरोका जोसुकै भए पनि कठोर बनी काम गर्नुस् ! विकास र समृद्धिको खसी डोर्याउँदै हिड्दा चार जना चोरले बाटो ढुकेर यसले त कुकुर डोर्याईरहेको छ भनेर कराई रहलान् र केही समय त्यो सुन्नेहरूले डोर्याएको कुकुरै पो हो कि भनी कोकोहोलो गर्लान् तर जब नजिकै गएर हेर्ने छन् त्यतिबेला बुझ्ने छन् !

अँ केपी जी !!! तपाईलाई धेरैले बा भन्दा रहेछन् ! बा भन्नु राम्रो कुरा हो ! बा भन्ने छोराछोरीमध्ये कोहीकोहीले तपाईको भ्रष्टाचार विरोधी ओछ्यानमा सुसु गर्लान् र त्यसको जवाफ दिँदै हैरान होला ! बेलाबेला डसना चेक गर्दै गर्नु ! र कसले सु गर्या हो पत्ता लगाउनू ! बा भन्दै सु गर्ने छोराछोरीसँग अलि सतर्क रहनु !

र अन्त्यमा नबिराउनू नडराउनू ! मेरो शुभकामना छ ! मुलुकलाई जुनसुकै आवरणमा विघटन गर्ने खोज्नेहरूलाई परास्त गर्नू ! मेरो सालिकमा फूलमाला चढाउनु पर्दैन ! वीर योद्धाहरूको साथमा मैले आर्ज्याको मुलुकलाई विखण्डनकारीहरूका हातमा पर्न नदिए म खुसी हुने छु !

उही स्वर्गवासी
पृथ्वीनारायण शाह