कार्यकारी निर्माता : लोक नाटक लिलामे माइलो

 

नेपाली नाट्य क्षेत्रमा अहिले नयाँ नेपाली मौलिकता बोकेको नाटक मञ्चन भैरहेको छ । संचारकर्मी राजाराम गौतमले पछिल्लो समय नाटक निर्माणमा व्यस्थ छन् । प्रदर्शनमा रहेको ‘लिलामे माइलो’ यीनै संचारकर्मी गौतमले निर्माण गरेको लोक नाटक हो ।   उनै राजाराम गौतमसँग लोक नाटक लिलामे माइलोका बारेमा गरिएको कुराकानीको अंश :

लिलामे माइलो नै किन ? लिलामे साइलो, लिलामे ठाइलो किन नबनाउनु भएको ? माईलो कसरी लिलाम भयो ? 


अब माइलो सन्तान समाजबाट लोप हुँदै छ । माइलो हुनको लागी कम्तिमा ३ वटा सन्तान जन्माउनु पर्दछ । अब ३ वटा छोरा छोरी पाउने फुर्सद कहाँ छ र मान्छेलाई ? पढाउनु, हुर्काउनु प¥यो ? खर्च, समय मिलाउन सक्दैन्न । त्यसैले अब नयाँ माइलाहरु जन्मदैनन् । हाम्रो सामाजिक परिवेश कस्तो छ भनेः–जेठो सन्तान बाबुको प्यारो, कान्छो सन्तान आमाको प्यारो हुन्छ । तर माइलो सन्तान बीचको अलि अप्ठेरोमा पर्छ । यो समयमा माइलो सन्तानले भोगेका सुःख, दुःख नै लिलामे माइलोको कथा हो । कुनै पनि माइलो सन्तान बढि मेहनती, चलाख, तिखो बुद्धिको भएको हामीले पायौं । त्यसैले लिलामे माइलो बनायौं । 

ठूला लगानीका चलचित्र फल्प भइरहेको बेलामा नाटकबाट पैसा कमाई हुन्छ र ? 


यही चुनौतिलाई स्विकार गरेर नाटकमा लगानी गरेको हो । १ करोड खर्च गरेर फिलिम बनाएर पैसो चिलिम भएर बस्नु भन्दा १० लाख लगानी गरेर २० लाख कमाउनुमै आनन्द छ । फेरि नाटक क्षेत्रमा मैले नगरेपनि अरु कसैले लगानी गर्नै पर्थ्यो सुरुवात हुनै थियो मैले सुरु गरे । हिजोको दिनमा रिलबाट फिलिम खिच्ने चलन थियो । डिजिटल प्रविधि भित्रदा विरोध गर्नेहरु पनि भए । अहिले रिल क्यामेरा म्युजिएममा राख्ने बेला आएको छ । हो त्यस्तै अब नेपाली नाट्य क्षेत्रमा हाम्रो मौलिकपना हराउँदै गएको छ । हामि ब्युताउदै छौं । अब नेपाली नाट्य क्षेत्रलाई उद्योगमा रुपमा स्थापित गर्नु पर्दछ । नाटकका कलाकारले पनि नाटक खेलेरै मनग्य आम्दानी गर्न सक्छन भन्ने देखाउनु छ ।  नेपाली नाट्य क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउन नयाँ लगानी कर्तालाई नाटकमा भित्र्याउने बाटो अब लिलामो माइलोले खोल्ने छ । अब नाटकको मौलिकपनालाई ब्युताउदै पैसा पनि कमाउन सकिन्छ भन्ने कुरो साबित गरेर देखाउनेछौं । 

लोक नाटक र अरु नाटकमा फरक के छ र ? 


लोक नाटक भनेको हाम्रो गाउँ ठाउँको कथालाई मञ्चमा प्रस्तुत गर्नु हो ।  अन्य नाटक भनेको विदेशमा रहेको लेखकहरुले लखेका नाटकलाई रिमेक गर्ने मात्रै हो । लिलामे माइलो एउटा अनुसन्धान (रिर्सच) गरेर तयार पारिएको नेपाली मौलिकता बोकेको लोक नाटक हो । 

नाटकमा पनि (अनुसन्धान) रिर्सच ? 


हो हामीले यो नाटक बनाउन ६ महिना भन्दा बढि लगाएका छौं । कलाकारलाई चरित्रमा उर्तान नाटकको टिमनै रिर्सच गर्न मोरङ जिल्लाको लेटाङ राजारानी आसपासको मगर समुदायमा गएर रिर्सच गरेको थियो । काठमाडौं बसेर ल अब तपाई फलानो ठाउँको परिवेश सम्झनुस् भनेर निर्देशकले भन्ने अनि कलाकारले सोही अनुसारले गर्ने प्रवृति र रिमेक ड्रामा बनिरहेको बेलामा हामीले आफ्नै गाउँठाउँका कथा खोजेर मञ्चमा प्रस्तुत गर्दैछौं । हामी नेपाली नाट्य क्षेत्रको हराईरहेको मौलिकतालाई ब्युताउने प्रयास गरिरहेका छौं । गाउँका कथालाई अब नाटकमा उतार्ने भनेर हामीले हाम्रै गाउँ ठाउँको कथालाई मञ्चन गर्न लागेका हौं । 

अचानक नाटक निर्माण गर्नुभयो त ?


यो एउटा संयोग भयो । हामी अहिले २ वटा फिल्मको स्क्रिप्टमा पनि काम गरिरहेका छौं । पहिल्यै देखि नाटक निर्माण गर्ने तयारिमै थिएँ । अब समयले पनि साथ दियो फिल्म भन्दा पहिला नाटक आयो ।  

संचाकर्मी, कसरी नाटक बनाउने सोच आयो ? 


म समय मिलाएर नेपाली चलचित्रमा द्धन्द कलाकार भएर काम गर्दै आईरहेको थिएँ । सानैदेखि सडक नाटक, रेडियो नाटकमा काम गर्दै पनि आएको हो । पछिल्लो समयमा धेरै समय संचारकर्मीको रुपमा काम गर्दै आईरहेको थिएँ । केही समयदेखि नयाँ केही काम गरौं भन्ने सोचले नेपाली चलचित्र निर्माण गर्ने तयारीमा थिएँ । अहिले पनि चलचित्रको स्क्रिप्टको काम भैरहेको छ । त्योभन्दा पहिले नाटक बनाउने सोच आयो त्यही अनुसार अगाडि बढ्यौं । 

लिलामे माइलो किन हेर्ने  ? 


पहिलो कुरा मनोरञ्जन लिनको लागि हेर्ने हो । काठमाडौं आसपासमा बसेर बाहिरको संस्कृतिको बारेमा हामीलाई  खासै जानकारी नै छैन । अब हामी नाटक मार्फत विभिन्न भाषा, संस्कृति, रहन सहनको जानकारी लिदैं सामाजिक सदभाव, माया, प्रेमलाई आत्मसाथ गर्ने प्रयासमा छौं । भिजिट नेपाल २०२० आउँदै छ । यो नाटकले मोरङ जिल्ला र लेटाङ राजारानी तालको पर्यटन प्रवद्धनमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । मगर जातिको भाषा, संस्कृति बुझ्न पनि ठुलो मद्धत गर्दछ । लोक नाटक भएकाले यसको मिठास छुट्टै हुनेछ । दोस्रो कुरा लिलामे माइलो रिर्सच गरेर तयार पारिएको लोक नाटक हो । नेपाली नाट्य क्षेत्रमा हराईरहेको मौलिकपना फिर्ता गर्नु हाम्रो उद्धेश्य हो । लाईभ म्युजिकमा नाटक मञ्चन हुने छ । यो आफैंमा आर्कषक र रमाइलो अनि सन्देश मुलक हुने छ । 

माइलालाई नाटक हेर्न पैसा लाग्दैन भन्ने छ के हो कुरा ? माइलो सन्तान भनेर कसरी चिन्ने ? 


हो माइला, माइली भएर जन्मनुभएकालाई नाटक फ्रिमा हेर्न पाईन्छ । माइलो आफुमात्र नभइ साथमा दाजुभाई पनि ल्याउनुपर्ने छ । नाटक सम्पुर्ण माइला, माइली प्रति सर्मपित छ । त्यति मात्र हैन अनाथ, सुकुम्बासी बस्तिका बालबालिका र ७० बर्ष भन्दा माथिका बा आमालाई पनी नाटक निशुल्क छ । नाटक मञ्चनका समयमा माइलोलाई विषेश सम्मान हुने छ । माइलो आउँदा दाजु र भाई पनि सँगै ल्याउनुपर्ने छ । वा नागरिकता ल्याउँदा पनि हुन्छ । विश्वास पनि हो । नाटकै हेर्न कसले झुटो बोल्ला र ? 

काठमाडौं बाहिर मञ्चनको तयारी के छ ? 


नाटक काठमाडौंको सो सकिएपछि काठमाडौं बाहिरका थिएटरमा मञ्चन गर्ने तयारीमा छौं । नेपालमा मात्र नभएर भारतको सिलगुडि, दार्जलिङ, असाम, सिक्किम, थाईल्याड र म्यानमार, बंगलादेशमा पनि मञ्चन गर्ने योजना अनुसार काम गरिरहेका छौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा पनि हामि सहभागि हुने छौं । 

यो ट्रोल भिडियो बनाउनेलाई पुरस्कार भन्या छ , यो के हो ? 
नाटकको ट्रोल भिडियो बनाउने उत्कृष्टलाई हामिले नगद ५ हजार पुरस्कार दिने छौं । यति मात्र हैन उत्कृष्ट २ जनालाई दार्जलिङ टुर प्याकेज पनि छ । र फ्रि टिकेट को पनि व्यवस्था गरेका छौं ।  विभिन्न किसिमको आर्कषक ट्रोल भिडियो आउने क्रम जारी छ । नेपाली नाट्य क्षेत्रमा यो पहिलो पटक हो । तर पनि सहभागिता उत्कृष्ट छ । कलाकार बन्ने रहर भएकाहरुलाई यो अवसरको रुपमा पनि देखिएको छ । 


नियमित नाटक हेर्ने दर्शक निकै कम छन् यो अवस्थामा उनिहरुलाई कसरी नाटक घर सम्म बोलाउनुहुन्छ ?  
त्यहि भएर त हामीले एउटा नाटक बनाउन ६ महिना मिहनत गरेका हौं । अरु नाटक जस्तो सहज छैन लोक नाटक बनाउन ।  एउटा सिङ्गै फिलिम बनाउने खर्च नाटकमा गरेका छौं । नाटकमा मौलिकपना ल्याउन आफैंमा चुनौती छ । त्यो चुनौतिलाई आत्मसाथ गर्दै हामिले नाटक तयार पारेका छौं । युटुव, फेसबुक, ट्विटर लगाएतका सामाजिक संजालमा हेर्नृ भयो भने सजिलै थाहा पाउनुहुने छ । मेहनत कति गरेको छौं भन्ने ।  यस कारणले पनि दर्शक नाटक घर सम्म आउने छन् । एक पटक हेर्नुस अनि मुख खोल्नुस कि लोक नाटक लिलामे माइलो कस्तो बन्यो ? 
                                                                                                                                                                     प्रस्तुतीः दिनेश घिमिरे