प्रेम अन्तरमनको गहिरो अनुभुती हो । अभिव्यक्तिको  अनेक भाव हो। जहाँ प्रेमिल जिवनलाई कलात्मक दृश्यले सिँगारिएको हुन्छ। प्रेम आफैमा निःशब्द अभिव्यक्तिको परिचायक पनि हो । जहाँ जसले र जुन तवरले एउटा अनुभुतीले द्रविभूत मात्र बनाउँदैन, स्पष्ट सन्देश दिन्छ– संसार प्रेमको मन्दिर हो, यहाँ निर्बाध प्रेम गर, निष्फ्रिकी, निर्विघ्न प्रेम साट तर साट्ने पो कहाँ ? यहाँ त प्रेम बर्जित समाज जबकी ‘‘देउताका पाला’ मा समेत प्रेमभावलाई समुच्च स्थान दिइएको शाश्वत र ऐतिहासिक सन्देश दिने त्यही ठाउँ अचेल प्रेम गर्नेहरूका लागि वर्जित स्थलका रूपमा चिनिँदैछ। मन्दिर परिसर पुगेर प्रेम अभिव्यक्त गर्ने प्रेमिल जोडीलाई सामाजिक मान्यता र सम्पदा संरक्षणका नाममा धपाइन्छ, समाइन्छ र प्रहरी हिरासतसम्म पुर्या्एर अनेक दुःख दिइन्छ।

यसको अर्थ हो, समाज नै खुला र उन्मुक्त देख्न चाहँदैन प्रेमलाई, बरु जानी–नजानी मान्यताका जन्जिरले बाँध्न चाहन्छ। राजधानी सहरमा प्रेम बेहद खुल्न चाहिरहेछ, तर जताततै अवरोध नै अवरोध छ। चोभार हुँदै दक्षिणकाली जाने बाटोमा रहेको टौदह पछिल्ला दिन प्रेमिल जोडीको रोजा गन्तव्य बन्दै थियो । सामाजिक संस्कार र कानुनले निगरानी थालिहाल्यो। ठूलाठूला अक्षरले प्रेम गर्न मनाही गरिएका बोर्ड टाँगिए। अचेल त त्यहाँ पुग्नेहरूमाथि कडा निगरानी राखिन्छ। जोडीलाई अपमान गरिन्छ। र, प्रेम अभिव्यक्त गरेबापत जरिवाना नै तिराइन्छ।

सहरमा प्रेम न खुला छ न अलि छेकिएर अभिव्यक्त गर्ने ठाउँ नै। सभ्यताले प्रेमको पूजा गर्न सिकाएको छ तर समाज यसको निन्दा गरिरहेछ। सहरमा मनपरी बोल्दै हिँड्ने र झगडा गर्नेहरूसँग भन्दा माया गर्नेहरूप्रति समाज किन खलनायक बन्दैछ ? यो सुन्दर नगरीमा किन वर्जित हुँदैछ प्रेम ? यहाँ क्रोध सजिलै सार्वजनिक गर्न सकिन्छ तर प्रेम किन लुकाउनुपर्छ ? छोराछोरीका अगाडि बाबुआमा मुक्कामुक्की गर्न धक मान्दैनन्, माया गर्न भने ढोकामा चुक्कुल लगाउनु पर्ने ? टेलिभिजनमा केटा र केटीले चुम्बन गरेका दृश्य आए टिभी बन्द गर्ने पर्ने किन ?

समाज र परिवारको आँखा छल्दै  ‘प्रेम गर्न’ चारभञ्ज्याङ काट्यो, पुलिसले ढोका ढकढक्याउँछ, उस्तै परे हतकडी नै लगाउँछ। अनि ‘प्रेम गरेकै’ कारण इज्जत माटोमा मिल्न बेर लाग्दैन। यो समाज ढोंगी र परम्परावादी नै रहिरहनुको परिणाम हो। प्रेम गर्नुहुन्न भनिन्छ र लुकिलुकी गरिन्छ। तर, कसैले अस्वीकार र निन्दा गरेकै कारण प्रेमको मूल पलाउन बन्द हुँदैन। यो शाश्वत सत्य हो।

तपोवनका स्वामी आनन्द अरुण ठान्छन्, प्रेम अनादिदेखि चलेको र अनन्तसम्म चलिरहने भाव हो। जसले प्रेमको यो मौलिक तथ्य बुझ्छ, उसले प्रेम गर्ने स्वीकृति दिन्छ। स्वीकृति नपाएको ठाउँमा पनि प्रेम चलेकै हुन्छ । ओसोको विचारमा प्रेम दबाउने चिज हुँदै होइन। त्यसो गरिए एकदिन विस्फोट हुन्छ। प्रेम दबाउन खोजेकै कारण नाम चलेका ‘ब्रह्मचारी’ धर्मगुरु ‘सेक्स स्क्यान्डल’ मा मुछिने घटना उनी सम्झन्छन्। प्रेम र सेक्सबाट मुक्त गुरुहरू बिरलै भेटिने उनको अनुभव छ।

स्वामी अरुणका अनुसार प्रेमको भोक नैसर्गिक छ। भोक लागेपछि कसैले स्वीकार गरे पनि खानुपर्छ, नगरे लुकेर पनि पेट भर्नुपर्छ। खुल्न नपाएपछि लुकिछिपी भए पनि प्रेमको भोक मेटाउनु परिस्थितिकै नतिजा हो। मान्छेको द्वैध चरित्रको नमुना हो यो । प्रेमलाई इज्जत र प्रतिष्ठासँग गाँस्नु, प्रेम गरे इज्जत जान्छजस्तो गर्नु अरुणको परिभाषामा ढोंग हो। जो ढोंगी छन्, ती पैसा बोकेर बैंकक वा विदेशका अन्य सहर जान्छन् र कुण्ठा निकाल्छन्। उता जे गरेर आउँछन्, यता त्यो गर्न नहुने विषय जसरी प्रवचन दिन्छन् । यस्तो दोहोरो जीवनको विरोध गर्दै उनी भन्छन्, ‘खाने र देखाउने दाँत छुट्टाछुट्टै भएकाहरू पापी हुन्, पाखण्डी हुन्।’

हाम्रो समाजमा चरित्रलाई प्रेम र सेक्ससँग जोडेर बुझ्ने गरिन्छ। प्रेम गर्नेको ‘चरित्र’ मा दाग लगाइन्छ। चरित्रवान बन्न प्रेम र सेक्सको ‘स्क्यान्डल’ बाट बचे पुग्छ, अरू जे अपराध गरे पनि भयो । कर छल्ने, भ्रष्टाचार गर्ने, गुण्डागर्दी गर्नेजस्ता चरित्रहीन घटना प्रेम र यौनका सामु गौण भए। कुनै व्यक्ति प्रसिद्ध छन् तर उसका प्रेम र कामवासनाका घटना बाहिर आयो भने सबै चौपट बन्छ। यस्तो किन हुन्छ त ? यसका पछाडि गहिरो मनोवैज्ञानिक कारण देखाउँछन् स्वामी अरुण।

‘प्रेमको भोक सबैमा छ तर लुकाएर गर्नुपर्छ। कसैले राम्री केटीसँग प्रेम गर्नु अरूका लागि ईर्ष्याको विषय हो। भोको व्यक्ति अरूले मिष्ठान्न खाएको देख्न नसकेजस्तै राम्री र आकर्षक युवतीसँग माया बसेको नजिकै मान्छेले पनि देख्न सक्दैन। आफूले भोग्न नपाएपछि अरूले पाएको विषयलाई चरित्रसँग जोडेर विरोध गरिन्छ। नैतिकता होइन, ईर्ष्याले प्रेमको विरोध गरिएको हो,’ उनी भन्छन्।

प्रदर्शन कि गोप्य ?
प्रेमलाई परेवा वा ढुकुरले जसरी प्रदर्शन गर्ने कि कागले जस्तो गोप्य राख्ने ? यसमा फरकफरक तर्क छन्। प्रेम गर्ने चिज हो, प्रदर्शन गर्ने चिज होइन भन्नेमा स्पष्ट छन्, आध्यात्मिक चिन्तक एवं प्राध्यापक शिवगोपाल रिसाल।

प्रेमलाई भाले–पोथीको सम्बन्धका रूपमा मात्र बुझेकोमा, भौतिक र शारीरिक प्रेमले मात्र चर्चा पाएकोमा उनी असन्तुष्ट छन्। उनको मूल्यांकनमा पछिल्लो समय प्रेम उत्ताउलो हुन थाल्यो, उच्छृंखल हुन थाल्यो। एकदिने र एकहप्ते प्रेमले विकृति निम्त्यायो। क्षणिक जैविक आवश्यकता पूरा गर्नुलाई नै प्रेम ठानियो। उनी प्रेममा निहीत शाश्वत र सनातन पक्ष ओझेल परेकोमा झन् दुःखी छन्।

कसैले कसैप्रति द्वेष नराख्ने, सँगै तेज बढाउने, सँगै उन्नति गरौं भन्ने भाव बढाउने तत्व हो प्रेम। उनी वैदिक परम्परामा प्रेमको उच्च चेतना भए पनि अहिले खस्किएको देख्छन्। सूर्यले धर्तीलाई, नदीले समुद्रलाई, ग्रह र नक्षत्रले एकअर्कालाई गर्ने प्रेम उनका विचारमा शाश्वत हुन्। प्रकृतिको यो अलौकिक प्रेमबाट मान्छेले पनि सिक्नुपर्ने उनी सुझाउँछन्।

प्रेम पवित्र भाव हो तर स्वार्थ र कामना वा कामवासनाले यसलाई धमिलो बनाएको छ। जीवात्मा र परमात्मालाई जोड्ने पुल हो प्रेम तर आज वासना तृप्त गर्ने सजिलो साधन बनेको छ। शरीर, इन्द्रिय, मन, बुद्धि, धन, पद आदिमा गएर प्रेम टाँसिएको छ,’ आफ्नो पुस्तक ‘प्रेमदेखि परमात्मासम्म’ मा उनले अर्थ्याएका छन्।

ओशोले खुला प्रेमको पक्षमा बोले। धेरैले प्रेम र यौनमाथि उनले दिएको अभिव्यक्तिको विरोध गरे, छाडा धर्मगुरुको ‘ट्याग’ भिराए। उनले प्रेमलाई दबाउने वा लुकाउने चिज कहिल्यै बताएनन्। लुकेर प्रेम गर्नेले उनको खुला विचारको उछित्तो काढे।

प्रेमका बारेमा ओशोको ओजपूर्ण अभिव्यक्तिबारे भने धेरैले चासो दिएनन्, त्यसको चर्चा पनि गरेनन्। ओशोले प्रेमलाई आत्माको भोजनका रूपमा दर्शाएका छन्। प्रेमलाई आत्मामा छिपेको परमात्माको ऊर्जा मानेका छन्। उनले यसलाई आत्मामा निहीत परमात्मामा पुग्ने माध्यम ठहर्यााएका छन्। ‘प्रेमबिना जो बाँच्छ, भोको बाँच्छ। उसको मन र शरीर बाँचे पनि आत्माको अनुभव हुँदैन। प्राणसँग श्वासभन्दा गहिरो गरी जोडिएको हुन्छ प्रेम,’ उनको प्रेम अभिव्यक्ति यस्तो छ।

ओशोको ‘प्रेमसूत्र’ ले भन्छ, जहाँ भय छ त्यहाँ घृणा, ईर्ष्या, हिंसा र क्रोध जन्मिन्छ, जसले दुनियाँलाई नर्क बनाउँछ। जहाँ प्रेम हुन्छ, त्यहाँ आनन्द, शान्ति, करुणा, दया र सौन्दर्य हुन्छ। यी चिजले दुनियाँ स्वर्ग बनाउँछ। भयको अन्तिम परिणाम विक्षिप्तता हो भने प्रेमको अन्तिम परिणाम मोक्ष। उनी भन्छन्, ‘लैलालाई जान्न मजनुको आँखा चाहिएजस्तै प्रेमको पहिचान गर्न प्रेमी हृदय चाहिन्छ, अरू उपाय छैन।’

जीवनमा प्रेमको फूल फुलाउन चाहनेलाई उनको सल्लाह छ, ‘प्रेमको चाहना राख्नेले माग्न छाडेर दिन थाल्नुपर्छ। दिँदा कुनै अपेक्षा राख्नु हुँदैन। जो दिन तयार हुन्छ, उनीभित्र प्रेमको बिउ अंकुरित हुन्छ। जो प्रेम माग्छ, उसको बिउ सुक्छ।’

मानिसको पहिलो आवश्यकता हो खाना। त्यसपछि छाना अनि भावना। भावनाले माया पैदा गर्छ। आवश्यकताको तहसम्म माया खराब हुँदैन, जब यो चाहनाको चरणमा जान्छ, त्यसपछि अतृप्ति र वासनाले जन्म लिन्छ, भन्छन् स्वामी अरुण।

वासनाजन्य प्रेममा उनको पनि समर्थन छैन।

उनी वासनाजन्य प्रेममा सीमा तोक्छन्।

मान्छेलाई बस्न एउटा घर भए पुग्छ। एउटा घर बनाउनु उसको आवश्यकता हो। जब ऊ सहरका हरेक ठाउँमा सयौं घर ठड्याउन खोज्छ, त्यो उसको चाहना हो, अतृप्ति हो, आवश्यकता होइन। प्रेम पनि एक समयमा एकजनासँग गर्नु आवश्यकता हो, भन्छन् उनी। एकैसाथ दुईभन्दा बढीसँग चल्ने ‘अफेयर’ लाई भने उनी प्रेमको बेइमानी बताउँछन्।

प्रेम गर्न छुट हुनुपर्छ। तर, प्रेममा शतप्रतिशत इमानदार हुनुपर्छ,’ उनी प्रेममा इमानको खडेरी देख्छन्।

उनी प्रेमको वर्गीकरण गर्छन्, शारीरिक, मानसिक र आध्यात्मिक प्रेम।

जो शारीरिक प्रेममै तृप्त हुन्छ, उसले मानसिक प्रेम गर्न नसक्ने स्वामी अरुणको ठम्याइ छ। शरीर र मन दुवैबाट तृप्त भइसकेकाले आध्यात्मिक प्रेम गर्न सक्ने उनको तर्क छ। भोको पेटमा जति सुमधुर संगीत बजे पनि मन्त्रमुग्ध भएर सुन्न नसकिएझैं शारीरिक र मानसिक प्रेमको भोकबाट तृप्त नभएकाहरू आध्यात्मिक प्रेममा समेत लीन हुन नसक्ने निश्कर्ष निकालेका छन् अरुणले।

प्रेमपूर्ण स्वभाव, त्यो पनि केवल एक जनाप्रति होइन, एकथरी जाति, धर्म र सम्प्रदायलाई मात्र पनि होइन, जो यो चराचर जगतलाई उत्तिकै प्रेम गर्छ, त्यसलाई आध्यात्मिक प्रेमको सूचीमा राख्छन् उनी। अरुणको व्याख्याले भन्छ– शारीरिक प्रेम गर्न प्रकृतिले उमेरअनुसार दिने योग्यता भए पुग्छ। आफूले केही गरिरहनुपर्दैन।

कसैको विचार, व्यवहार, योग्यताले प्रभावित भएर वा ‘‘बायो इनर्जी’ मिलेर उत्पन्न हुन्छ, मानसिक प्रेम। अघिल्लो प्रेममा शारीरिक आकर्षण भएजस्तो यसमा बौद्धिक आकर्षणले नम्बर पाउँछ। तथापि यो प्रेम पनि ‘गिभ एन्ड टेक’ मै चलिरहेको हुन्छ, जुन दिन कुरा मिल्दैन, छुट्टिन्छ। यस्तो प्रेमलाई अस्थायी प्रकृतिको प्रेम भन्न रुचाउँछन् अरुण। भन्छन्, ‘आध्यात्मिक प्रेम शरीर र मनभन्दा माथिल्लो हो, जसको सम्बन्ध आत्मासँग हुन्छ। आमा–छोराको प्रेम वा गुरु–शिष्यको प्रेम यसको उदाहरण हो। सारा संसारलाई समान ढंगले प्रेम गर्न सक्ने सामर्थ्यका लागि यसको पनि साधना जरुरी हुन्छ।’

सामान्यतयाः गुण हेरेर, गुणबाट प्रभावित भएर मानिसले प्रेम गर्छ। प्राध्यापक रिसाल प्रश्न गर्छन्,‘‘देखिएको गुण पछि नदेखिन सक्छ, हराउन सक्छ, गुणी आफैंले त्यो गुण छाडिदिन सक्छ। त्यस्तो बेला प्रेमलाई पनि गुणसँगै सती पठाइदिने ? दानी मानिस भोलि कन्जुस हुनसक्छ, सुन्दर मानिस भोलि रोगका कारण कुरुप हुन सक्छ, धनी मानिस गरिब हुन सक्छ। विद्या, बुद्धि, दया, धन, शैक्षिक योग्यता आदि देखेर कसैलाई प्रेम गर्नुलाई पनि वास्तविक प्रेम भन्न मिल्दैन। गुण त स्वार्थमा उपयोगी हुन्छ।’

सर्वत्र प्रेम चाहनेले हृदयमा प्रेमको कलश बोकेर हिँड्नुपर्ने उनको सुझाव छ। ‘प्रेम गुणमा होइन, आत्मामा हुन्छ’ भन्न सक्ने अवस्थालाई मात्र उनी वास्तविक प्रेम मान्छन्। जसमा प्रेम गरिन्छ, उसमा गुणको खोजी नगर्नु र जसले प्रेम गर्ने हो, उसले आफूमा कुनै प्रकारको कामना नराख्नुलाई नै उनी प्रेमको आदर्श र मर्यादाका रूपमा व्याख्या गर्छन्।

अबको सत्ता कूटनीति होइन, मनोविज्ञानले चल्नुपर्ने कवि मोमिलाको तर्क छ। ‘सरकारले प्रेम गर्नेको मनोविज्ञान बुझेन,’ उनी भन्छिन्, ‘सरकार र उसको प्रशासनले प्रेमिल मन बुझ्न सकेन। प्रेम मौलाउने थलोको व्यवस्था गर्न सकेन। उल्टै प्रेमिलहरूलाई धरपकड गर्न थाल्यो।’

प्रेम प्रकट गर्ने अवसर नपाएकै कारण समाजमा विकृति फैलिएको उनी ठोकुवा गर्छिन्।

डबली नभए प्रतिभा कहाँ देखाउने ? प्रेम पनि प्रतिभा हो, सिर्जना हो। यसको अभिव्यक्ति कसरी गर्ने ? प्रेमको निकास चाहिँदैन ?,’ उनीसँग प्रश्नैप्रश्न छ। प्रेम प्रकट गर्ने अवसर नपाएपछि मान्छे रोगी बन्छ, उदास बन्छ र समाजप्रति नकारात्मक हुँदै जान्छ।

उनको गुनासो छ– यही समाजमा झगडा गर्नेलाई महत्व दिइन्छ, प्रेम गर्नेलाई भने अपमान। उनको जोडदार माग छ– ‘सीमामा रहेर सत्य र सभ्य प्रेम सबैले गर्न पाउनुपर्छ।’

प्रेमबिनाको संसार उनको आँखामा कुरूप, दुःखी छ र उजाड छ। उनी यो पनि मान्छिन्, सभ्य प्रेम सार्वजनिक गर्दा केही फरक पर्दैन। र, प्रेमको विज्ञापन नगरे पनि जाति नै हुन्छ। आफसेआफ निस्किएको, दायरामा रहेर गरिएको प्रेम सकारात्मक र सिर्जनशील वातावरणका लागि लाभदायक छ।

सरकारले प्रेम गर्नेलाई नियन्त्रण गर्ने नियम बनाउनुभन्दा प्रेम अभिव्यक्त हुने पार्क, हरियाली, ताल र चराको चिर्बिराहट सुनिने ‘रोमान्टिक’ स्थान तोकिदिनु उचित हुने ‘आइडिया’ दिन्छिन् मोमिला। प्रेमलाई नियन्त्रण गर्नुभन्दा उन्मुक्त उडान भर्न खुला आकाशको अवसर दिनुपर्ने उनको माग छ।

समाज संस्कार र परम्पराले जकडिएको छ। यसलाई एकैचोटमा छिनाल्न, चुँडाल्न वा बढार्न सकिँदैन। संस्कार परिवर्तन हुँदै जाँदा यसले आफूलाई सँगसँगै लैजान सकेन भने विकृति अवश्यंभावी छ। अहिलेको सहरी अवस्था ठिक यही समस्याबीच गुज्रिरहेको छ। परिवर्तन र बढ्दो खुलापनले समाजमा प्रेम बिस्तारै खुल्दै जाने क्रममा छ तर त्यसले चलमलाउने ठाउँ पाएको छैन।

मोमिलाकै शब्दमा कानुनले जन्जिर लाउँदैमा प्रेम मर्दैन, बरु यसले विकृति जन्माउँछ। सरकारले सहरमा प्रेमलाई उपयुक्त बगैंचा दिए यो फुल्न पनि पाउनेछ, अनि विकृति पनि बढ्न दिनेछैन।

खुलापन त समयले हुत्याउँदै ल्याउने सामाजिकता हो, जो बिस्तारै बढ्दै जानेछ। र, यससँगै फुक्दै जानेछन् प्रेमलाई बन्दी बनाउने खोज्ने ढोंग र संकीर्णता पनि। अनि फुक्दै जानेछन्, प्रेमलाई बन्दी बनाउने जन्जिरहरू।

ओशोको प्रेमसूत्र
– अन्तरात्मामा प्रेम जगाउन चाहनेले भय हटाउनुपर्छ। सौन्दर्य, संगीत, आनन्द, स्वतन्त्रता र शान्ति प्रेमका परिणाम हुन्। भयको ठाउँमा प्रेम ल्याउनु अँध्यारो ठाउँलाई उज्यालो पार्नुजस्तै हो। अँध्यारो हटाउन सकिंँदैन तर दियो जलाउन त सकिन्छ नि। भय हटाउन नसके पनि प्रेम बढाउँदै लैजान सकिन्छ।

– दुनियाँमा शान्ति ल्याउन सकिने एउटा मात्र बाटो प्रेम हो। सबैभित्र प्रेमको बिउ छ, धेरैको बिउ बिरुवा बन्दै नबनी सकिन्छ। प्रेमको बिउ प्रकट हुन नसकेकै कारण मान्छे चिन्तित रहन्छ। प्रेमको फूल फुल्न नसकेकै कारण उदास रहन्छ।

– ‘मलाई प्रेम गर’ भन्दै भिख माग्नेहरू बढे। पतिपत्नी एकअर्कासँग प्रेमको भिख माग्छन्। दुवैले झोली फैलाएपछि त जीवनमा कलह, द्वन्द्व नभएर के हुन्छ ? प्रेम भिक्षा होइन, दान हो भन्ने कुरा सबैभन्दा पहिला बुझ्नुपर्छ। तर हामीलाई बच्चैदेखि माग्न सिकाइएको छ। प्रेम मागेर पाइँंदैन, नपाएपछि अरू माग बढ्छ।

– प्रेम दिँदा अपेक्षासहितको हुनुहुँदैन। दान कहिल्यै ससर्त हुँदैन, बेसर्त हुनुपर्छ।

– आफूभित्र प्रेमको बिउ उमार्न ध्यानको किरण चाहिन्छ। दानको भ्रूण र ध्यानको किरण चाहिन्छ, प्रेम फक्रिन।

– आफ्नो प्रेम स्विकार्नेप्रति अनुग्रृहीत होऊ। प्रेम दिएबापत धन्यवाद नखोज। प्रेम स्वीकार गर्नेप्रति अनुग्रहको भावले भित्रको प्रेमको बिरुवा लहलहाउँछ। प्रेमको झरना बग्छ। यो बगेको दिन भय, क्रोध हट्छ। प्रेमले भय हटाउँछ। हातमा तरबार उठाउन जरुरत पर्दैन।

कबीर भन्छन् –‘जति हेर्छु संसारको त्यतिकै मलाई चिन्ता लाग्छ, पीडा लाग्छ र म रुन्छु।’ किनभने संवेदनशील मानिस बुद्धिभन्दा माथि करुणामा जिउ”छ। उनीहरू यो संसारमा दन्केको दुःखको आगो कम गर्न हरसम्भव प्रयासरत हुन्छन्। चेतनाको पूर्ण शिखर प्राप्त गरेका महापुरुषहरू सबै प्राणीमात्रको जीवनसँग समस्वरतामा जिउँछन्। उनीहरूको संवेदनशीलता यति उच्च हुन्छ कि अरूको पीडालाई आफ्नै पीडाझंैबोध गर्छन्। प्राणीहरूलाई दुःखबाट मुक्त हुने अनेक उपाय सुझाउँछन् र ‘सर्वे भवन्तु सुखिनः’ को प्रार्थना गर्छन्।

मानिसका समस्याहरूलाई समाधान गर्ने समग्र उपाय जबसम्म हामीले अवलम्बन गर्दैनौं तबसम्म समस्याहरूको दुष्चक्रमा हामी फसिरहनेछौं। हाम्रो जीवन अनेक आयामहरूको सम्मिलित एकाइ भएकाले सामान्य बुद्धिले मात्र समस्याहरू सुल्भ्किँदैनन्। हामी शरीरमात्रै होइनौं, बुद्धिमात्रै पनि होइनौं। तर हाम्रा शिक्षा प्रणाली र विश्वविद्यालयहरूले यो सत्यलाई स्विकारेको छैन। उनीहरू खालि बौद्धिक खुराक प्रदान गर्नेमै व्यस्त छन्। योभन्दा माथि उठेर एक समग्र जीवनको लागि खासै प्रयास भइरहेको पाइँदैन। शारीरिक शिक्षामा पनि खासै उल्लेख्य ध्यान गएको छैन। शरीर र बुद्धिभन्दा माथिको हृदय जुन अत्यन्त संवेदनशील छ, त्यसको लागि स्वस्थ खुराक र प्रशिक्षण छैन। हृदयको भोजन प्रेम हो, सौन्दर्य हो, संगीत हो, करुणा हो। यसको विकास गर्ने कला अलि गहन भएकाले यसको लागि साधना चाहिन्छ। मानव जीवनको यस्तो उच्चतम आयामको विकासका लागि संसारले ध्यान दिइरहेको छैन किनभने साधारणतः मानिसहरू यसको आवश्यकता नै ठान्दैनन्। हाम्रो सभ्यता भौतिकवादबाट बौद्धिकतामै गएर टुंगिएको हुनाले समस्याहरूको रास लागेको हो। श्री नरेन्द्र मोदीजीकै भाषामा ऋषिमनले मात्र समस्याहरूको सही पहिचान र उचित समाधान पहिलाउन सकिन्छ। बुद्धिले मात्रै समस्या समाधान गर्न खोजे त्यो समाधान नै अर्को समस्याको कारण बन्न जान्छ।

अहिलेको युगमा ऋषिमन कहाँबाट पैदा गर्ने ? यो एक कठिन सवाल हो। यसको सम्भावना पनि कम देखिन्छ। किनभने यसको विकासको लागि वातावरण छैन, शिक्षण छैन र धेरैलाई चाहना पनि छैन। त्यसैकारण यो जेट युगमा ओशोले देखाएको मार्ग सुपथ्य, सुरुचिपूर्ण र व्यावहारिक देखिन्छ। यसका लागि हामी स–आवधिक सन्यासी, वैरागी या योगी बन्न सक्छौं। सावधिक संन्यासीको मतलब आफ्नो कामधन्दामा पनि बस्ने र साधनालाई पनि समय दिने। २२ घन्टा संसारलाई दिऔं, एक घन्टा बिहान र एक घन्टा बेलुका जोगी–संन्यासीको रूपमा आफ्नो साधनालाई दिऔं। त्यस बेला व्यापार, व्यवसाय र कामलाई पूरै बिर्सिदिऔं। शरीरको लागि योग गरौं, सबल प्राण शरीरको लागि प्राणयाम गरौं, शान्त मनस् शरीरको लागि राम्रो साहित्य पढौं, जीवन रूपान्तरणका प्रवचनहरू सुनौं। विज्ञानमय शरीरको लागि ध्यान गरौं। यी चार आयामलाई मिलाउने हो भने यो सानो प्रयास प्रसाद बन्न सक्छ। उपनिषद्ले के भन्छन् भने अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष र विज्ञानमय कोष यी चारै कोष स्वस्थ र सामञ्जयसमा भए भने आनन्दमय कोषको प्राप्ति हुन्छ। मनुष्य जीवन आनन्दले ओतप्रोत हुन्छ। यो मानव जीवनको उच्चतम उपलब्धि हो। जबसम्म यी चारै शरीरले आफ्नो पोषण पाउँदैनन् जति धन थुपारे पनि, जति शक्ति हातमा आए पनि, जति मस्तुहरूको भोग गरे पनि हामी वास्तवमा दुःखी, चिन्तित र तनावग्रस्तै रहन्छौं र एक दुःखी संसार निर्माण गरिरहेका हुन्छौं। समाजका समस्याहरू जटिल हुँदै जान्छन्, अन्ततः मनुष्य स्वयं दुःखी हुन्छ। अरूको दुःखको कारण बन्दै जान्छ।

(लेखक नोबेल कलेजमा जनस्वास्थ्य संकाय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत छन्)