कविता अधिकारी

काठमाडौं, १२ चैत–विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले हिजोदेखि १८ गतेसम्म लकडाउन गरेको छ । फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएकी एक किशोरीमा कोरोना संक्रमण देखिएपछि सरकारले हिजोदेखि एकहप्ता लकडाउनको घोषणा गरेको हो । लकडाउनका कारण काठमाडौ लगायत सिङगो देशनै शान्त बनेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षणमा तीनजनालाई संक्रमण भएको पुष्टि भएको छ । नेपालमा संक्रमणको पुष्टि भएसँगै अब नेपाल पनि यो जोखिमबाट मुक्त छ भन्ने अवस्था छैन ।


 
यो लकडाउनमा नागरिकहरुलाई आइसोलेसनमा राख्ने महत्वपुर्ण कार्य हो, जसले गर्दा नागरिकहरु जहाँ छन, त्यही बसुन भन्ने हो । नागरिकहरुको हिँडडुँलमा प्रतिबन्ध लगाइएको छ । मुलुक बन्दा बन्दीको अवस्थामा छ । जहाँ नागरिकहरुको आवतजावत वा भेटघाट हुँदैन त्यहाँ संक्रमणको जोखिम पनि कम हुने भएकोले सरकारले यो लकडाउन मार्फत संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने रणनीतिका रुपमा लिएको छ । 

विकसित भनिएका देशहरुमा कोरोनाको संक्रमणले ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले पनि त्यहाँबाट नेपालले केही सिक्ने र पुर्वतयारीका लागि राम्रो समय पाएको छ । सरकारले अहिले जसरी हुन्छ मानविय क्षति हुनबाट रोक्नका लागि हर किसिमका प्रयासहरु अपनाएको देखिन्छ ।

नेपालमा विभिन्न राजनीतिक पार्टीका नाममा बेला बेला हुने नेपाल बन्द, झड्प, कफ्युको अनुभब लिएका नेपालीहरुका लागि यो लकडाउन पहिलो अनुभब हो । हिजो कुनै दलले अर्को पक्षलाई निस्तेज पार्न वा शक्ति देखाउनका लागि नेपाल बन्द, कफयु जस्ता गतिविधि हुने गरेका थिए । तर यो लकडाउन हिजोको आन्दोलनमा जस्तो कसैलाई दबाउन वा आफनो शक्ति देखाउने होडबाजी होइन । सरकारले गरेको यो लकडाउनलाई व्यक्तिका लागि नयाँ अनुभव भएपनि उनीहरुले यसको पुर्ण पालना गरेको देखिन्छ । सरकारले लकडाउन गरेपछि जनता आफ्नो सुरक्षाका लागि उक्त आदेशको पालना गदै घरभित्रै बसेर सहयोग गरेका छन् । त्यतिमात्र होइन, यो लकडाउनले राजनीतिक दलहरुमा पनि एक खालको चेतना विकास भएको छ । हिजो प्रतिस्पर्धा र शक्तिको होडबाजीमा उत्रिने दलहरु आज यो या त्यो पार्टी नभनी एकजुट भएका छन् । 

नेपालमा कोरोना नफैलियोस र फैलिहाले त्यसको सामना गर्नका लागि सरकारले बनाएको कोरोना राहत विशेष कोषमा सत्तारुढ दल, प्रमुख प्रतिपक्षि दल, निजामति कर्मचारी, उद्योगी , व्यवसायी लगायतले सकेको सहयोग जम्मा गर्न थालेका छन् ।  यसले के देखाएको छ भने अरुबेला राजनीतिक दलहरु आ–आफनो अडानमा रहेपनि बिपदको समयमा भने सवै एकजुट हुनेरहेछन भन्ने सन्देश दिएका छन् । हिजो जुन संकट जसलाई परयो उसले एक्लैले टार्नुपर्ने बाध्यता थियो भने आज हरेक नेपालीहरुमा बिपदको समयमा एक भएका छन् । जसले नेपाली नेपालीबीच भावनात्मक सम्बन्धको विकास भएकोे छ । हिजो समस्यालाई आफु केन्द्रीत गर्ने र यस्ता समस्याबाट आफै मात्रै मुक्ति पाउने सोचलाई कोराना संक्रमण आफैमा सामुहिक समस्या भएकोले यो कोरोनाले मानिसहरुको व्यक्तिगत सोचलाई सामुहिक सोचमा परिवर्तन गरिदिएको छ । हिजो देशमा राजनीतिक हडताल, कफर्यु आदिजस्ता समयमा कालोवजारी, तस्करीमार्फत मुलुकमा कृतिम अभाव देखिन्थ्यो भने यो कोरोनाको संकटमा त्यस्तो अवस्था पनि देखिएको छैन । संघीय सरकार मात्र होइन, प्रादेशिक र स्थानीय सरकारहरु र संघ संस्थाहरु समेत आइसोलेसन वार्डहरुको स्थापना गरिरहेका छन ।

आम मानिसहरु संक्रमित संभावित मानिसहरुको पहिचान गर्ने र उहाँहरुलाई आइसोलेसनमा राख्ने काममा सामाजिक सञ्जालहरुमार्फत खवरदारी गरिरहेका छन । यतिवेला हरेक नागरिकहरु कोराना विरुद्ध सरकारले घोषणा गरेको लडाईमा ऐक्यवद्धता जनाइरहेका छन । कोरानाले नेपालीहरुको सोच्ने, खाने, पिउने जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ ।  नागरिकहरुको यो साथ, व्यवहार र प्रतिवद्धताले नेपाल कोराना विरुद्धको लडाईमा चाँडो नै जीत हासिल गर्न सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।