नवराज खतिवडा

यो कथा यौटा त्यस्तो सतिसालको

युगौं युग ठिङ्ग उठेको

सगरमाथाको ताजको

अथवा भनौं, कल्पौं कल्प

मानस पत्रमा कुँदिएको

सिंगमरमरको महाशालिक हो

हाम्रो ज्यूँदो स्ट्याचु अफ लिबर्टी

हाम्रो अजस्र सेनानी

हाम्रो स्वतन्त्रता सेनानी !

खै– आज कहाँ छौ, कता छौ !

.......

हाम्रो वाक्य नफुटेका बेलामा

महावाक्य बनेर प्रष्फुटन भयौ

पाइताला काँपिरहेका बेलामा

भरोसा बनेर उभियौ

धर्ती भासिएला कि भइरहेको बेला

धरातल, त्यस्तो धरातल बनेर

मानौं समुद्र मन्थनमा कछुवाको ढाडमा उभिएको मन्दराचल जस्तै

मदानी बनेर उभिएको नीब

जुन बिना न सम्भव थियो समुद्र मन्थन

न सम्भव थियो अमृतपान

राहु र केतु चोर्न नआएका होइनन्

तर, हामीले विजयको त्यो घडा

त्यो अमृत विचारधाराको

चोर्न दिएनौं

जुन तिम्रै हातबाट पिएका थियौं हामीले

र त हामी अमर बन्यौ

तर, अमृत पिलाएर

तिमी खै, कहाँ गयौ ?

.........

अँध्यारो नै अँध्यारोको महासमरमा

निमुखा र निरवता भोगिरहेका

ती आमाहरुको अनन्त सपना बनेर

जब त्यो स्वर्गको फिलुंगो धर्तीमा फुल्यो

प्रसव पीडापछि सन्तान दिएकी

प्रसूतिको मुस्कानपछिको त्यो सुखजस्तो

बाटैबाट बिलाएको मुसाफिरको मुस्कान

चुम्बकीय तर, क्षणभरको

एउटा कुशल कुचीकारको हातबाट

सपना–आकाशको क्यानाभासमा

कुँदिएको सजीव एउटा तस्वीर

सपनाबाट ब्युँझदा

थिएन त्यो मुस्कान, थिएन त्यो तस्वीर

म त्यही निरवताको छटा

त्यही रोशनीको उछाल

खोजिरहेछु

मदन ! खै तिमी कहाँ छौ ?

........

जुन तस्वीर कसैको नासो जसरी

बटुवाले दिएर गएथ्यो

खोपामा हजुरमाले वर्षौंदेखि जतनले राखेको

दुर्गा कवजजस्तो, हजुरबाको तस्वीर

ध्वाँसो र घुर्मौलो कसिंगरले

ढाक्ने धृष्टता गरिरहेको देखेर

कुचो खोजिरहेकी मेरी हजुरमा

र, पर बसेर हेरिरहेको म

हो, त्यही तिम्रो ‘ओरिजिनल’

हजुबा, मेरी हजुरमाको मुटुको टुक्रा

त्यही तस्वीर खोजिरहेको छु

खै, तस्वीर !

तिमी कहाँ छौ ?

..........

कल्पकल्प क्षय भए

मै हुँ भन्दै कति आए

तर, तिमी यस्तो कल्पवृक्ष

जसले आफ्नै काखमा अनन्त सिद्धार्थहरु जन्मायो

अज्ञानताको महासमरमा लडिरहेको

कुनै प्रकाशको ज्वाला जस्तै

सजिलै समर लडिरहेको

यति सजिलै कि, प्रकाशको उपस्थिति नहुँदै

बिलाएर गएको त्यो घना अन्धकार

मानौं हावाको झोक्का नपाउँदै

प्याट्ट फुटेको पानीको थापा

निबर्लियो दुश्मन

जस्तै भयो हाम्रो संघर्षको मैदान

सघन अन्धकारमा जब टुप्लुक्क देखिन्छ

ध्रुवताराको एउटा रोशनी

पाएपछि ढल्नै आँटेको यात्रु

उभिदैन त आशा भरोसाको लौरो टेकेर ?

डुब्नै लागेको टाइटानिकको निब

बनेर जब तिमी देखियौ

र, त बाँच्यो हाम्रो जहाज

लोकतन्त्र !

र, त रह्यौं हामी

नागरिक !

युद्ध र शान्तिको दुई पाटाहरु

एकाकार भएको एउटै सिक्का

तिमीले दिएको रामवाण

‘जबज’

त्यो समरका लागि तिमीले छाडेको

नासो बोकेर बटुवाको प्रतिक्षामा बसेकी

विश्मित युवती जस्तै भएका छौं हामी

र त, भनिरहेका छौं

तिम्रो यादमा

खै तिमी कहाँ छौ ?

.....

महाभारतको वीर योद्धा

अभिमन्यु !

चक्रव्युह भेदनपछि भेदन हुन बाँकी रहेको त्यो बाटोमा

युद्धको नियम मिचेर कायरहरुले

बोलेको निबर्लियो धावा

जुन हाम्रो आकाशको ‘ब्ल्याकहोल’ बनेर

कयौं हाम्रा उन्मुक्तिका सपनाहरु

निहारिकाका कयौं खगोलपिण्डहरु

खाएर पनि नअघाएको

त्यो अगस्ति  ‘ब्ल्याकहोल’

माथि म औँला उठाइरहेको छु

खै त आज तिमी ?

......

इतिहासमा कसैले मेटेर नमेटिने यौटा रेखा

पर्वतको टाकुरामा बलिरहेको यौटा दीपशिखा

आज पनि आँधीहुरीले लपट्न खोजिरेहकै भएर होला

अन्धकारले दपट्न खोजेकै भएर होला

त्यही रेखा, त्यही दीप हामी खोजिरहे छौँ

तिमी तिमी भनेर

एउटा अतृप्त प्यासको खोजमा

भनिरहेका छौं

खै आज ?

खै त्यो तिमी कहाँ छौ ?

र, खै त्यो हामी, कहाँ छौं ?

..........

(लेखक नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ)